राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक : काँग्रेस
रासस,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
642
Shares
काठमाडौं।नेपाली काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न सङ्घीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्ताव संसद्बाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक महत्वपूर्ण भएको जनाएको छ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत नयाँ नक्सा पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको उल्लेख गरेका छन्। “राष्ट्रियताको पक्षमा आज प्रस्तुत राष्ट्रिय ऐक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढङ्गले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढङ्गले उपयोग गर्न जरुरी छ र त्यो क्षमता सरकारले प्रस्तुत गर्नुपर्दछ” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
काँग्रेसले उच्चस्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढङ्गले गर्न सरकारलाई आग्रह गरेको छ। जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ काँग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवम् सुस्पस्ट विचारका साथ दृढ ढङ्गले उभिँदै आएको र आगामी दिनमा पनि त्यसरी नै उभिने प्रवक्ता शर्माले उल्लेख गरेका छन्।