arrow

माननीयज्यू एमसीसी बोतल हो कि सिसी ? 

logo
राजीव न्यौपाने, 
प्रकाशित २०७७ असार ८ सोमबार
rajeev-neupane.jpg

एउटा सुन्दर गाउँ थियो । जुन गाउँमा विभिन्न भेषभूषाका, रहनशहन भएका, धर्म संस्कृति मान्ने विभिन्न जातजातिका मानिसहरु मिलेर बस्दथे । गाउँ प्राकृतिक सम्पदाले भरिभराउ थियो । लाग्दथ्यो संसारमा यो भन्दा राम्रो गाउँ र ठाउँ अन्त कतै छैन । गाउँ सानो भएपनि विभिन्न प्रजातिका वनस्पति, चराचुरुङ्गी, जीवजनावरहरु पाइन्थे ।

विश्वका धेरै देशहरुमा पाइने हावापानी यहीँ गाउँमा पाईन्थ्यो । फरक फरक भूगोल, हावापानी, मौसम र प्राकृतिक सम्पदाले गाउँ अत्यन्तै धनी र सुन्दर थियो । गाउँमा रहेका विभिन्न जलाशययुक्त नदीनाला, खोला र तालतलैयाले गाउँलाई थप रमणीय बनाइरहेको थियो । यसरी फरक फरक जातजाति, धर्म संस्कृति, भेषभूषा, प्राकृतिक सम्पदाको खानी भएको यो गाउँ संसारकै एउटा नमूना रानी गाउँ’ जस्तै थियो । जैविक विविधताका हिसाबले संसारका कुनै पनि अन्य गाउँहरु यो गाउँसंग प्रतिस्पर्धा गर्न लायक थिएनन् ।

त्यस गाउँमा बसोबास गर्ने  सबै मानिसहरूले मिलिजुली गाउँलाई बैधानिक रुपमा सञ्चालन गर्नका लागि सबैलाई मान्य हुने  आफ्नै प्रकृतिको विधान बनाई, गाउँलाई विधिपूर्वक सञ्चालन गरिराखेका थिए । गाउँमा सबै मानिसहरुको अभिमत लिएर आवधिक रुपमा समय समयमा प्रतिनिधि चुन्थे । तिनै प्रतिनिधिको अगुवाइमा पूर्ण  भेला बसी एक जनालाई गाउँको मुखिया चुन्दथे । यसरी चुनिएका मुखियाले, सबैको भावनाको प्रतिनिधित्व गरी गाउँलेहरुलाई खुसी पार्ने र गाउँलाई बिधिपूर्वक सञ्चालन गर्ने दायित्व मुखियाको हुन्थ्यो ।

 त्यस गाउँको बीचमा एउटा बिशाल शितल चौतारी थियो । गाउँमा कुनै पनि चाडपर्व, सुख, दुःखका घटनाका बारेमा शुरुआत, छलफल, अन्तरक्रिया र समाधानका उपायहरू त्यसै चौतारीमा बसेर गरिन्थ्यो । यसरी गाउँमा कुनै केही समस्या परेमा आफूले चुनेका प्रतिनिधिहरु माफर्त मुखिया कहाँ जानकारी गराउँथे । 

एमसीसी नेपाल र नेपालीका लागि अमृत हो कि विष हो ? भाग्य हो वा दुर्भाग्य हो ? अवसर कि चुनौती ? यस विषयको समयमै पारदर्शिताका साथ नेपाली जनता बीचमा यसलाई चाँडो भन्दा चाँडो निष्कर्षमा पुर्याउनु पर्दछ ।

यसरी हामी के निष्कर्षमा पुग्न सक्दछौं भने गाउँ सबै प्रकारले सबै परिस्थितिबाट असल, सुन्दर र शान्तिपूर्ण थियो । गाउँमा परि आउने सबै प्रकारका सुख,दुःखमा सबै मिलिजुली खुसी मनाउने, समाधान गर्ने गर्दथे । गाउँ अत्यन्तै लोभलाग्दो । तर एक दिनको कुरा हो अचानक गाउँको बीचमा रहेको शितल चौतारीमा के को हो थुप्रो ल्याएर कसैले छोडिदिएछ । हातले छुँदा सिसा बजेको जस्तो आवाज आउने । के होला सिसी हो कि बोतल । त्यो देखेर गाउँका सबै मान्छेहरु हेर्न आएछन् । सबै जना अचम्मित मान्दै यसो र त्यसो भनी अड्कल लगाउन थाले । 

यो कसैले मगाएको हुनुपर्दछ । गाउँका कुनै जनप्रतिनिधिले मगाएको हुनुपर्दछ । कसैले अडकल लगाए मुखियाले होला । हैन हैन पूर्व मुखियाले होला भनी फरकफरक बिचारहरु राख्दै अगाडि बढ्दै  यस्तैमा गन्थन गर्दै जाँदा अकस्मात गाउँलेहरु फरकफरक धारणा राख्दै फरकफरक समूहमा पो विभाजन हुन पुगे । शुरुवातमा एउटा समुहले आफ्नो धारणा राख्दै भन्यो – ‘त्यो बोतल हो । बोतलमा आनन्द आउने खाने कुरा रहेछ । खाएपछि आनन्दको निन्द्रा लाग्दछ । मिठो हुन्छ । कामै नगरी सित्तैमा  बसिबसि मिठो मिठो खान पाउँदा पनि विवाद गर्ने  ? सबै गाउँलेहरुलाई बराबरी बाँडेर दिउँ यसमा अनेक अडकल गरेर नबसौं ।’

दोस्रो समूहले भन्यो –‘त्यो बोलमा बिष छ खानु हुँदैन । त्यो खाएमा सबै मानिसहरू सखाप भएर मर्छन् । यसलाई त कहिँ कतै लगेर नष्ट गर्नु पर्दछ । यसलाई तुरुन्तै गाउँबाट हटाई हालौं । धेरै गनगनाहट गर्न जरुरी छैन ।’
 
तेस्रो समूहले भन्यो–‘यो बोतल हैन राम्रोसंग हेरम यसलाई ।  यो औषधिको सिसी हो । यसलाई सबैले बोतल हैन औषधिको सिसी भनम । यसलाई महत्त्वपूर्ण भिटामिन भन्दा पनि हुन्छ । यो सबै उमेर समूहका मानिसहरूले खान मिल्छ । यो खाएपछि गाउँमा कोही लुलालङडा, रोगी ब्याधी रहने छैनन् । यसलाई तुरुन्तै सबै गाउँलेहरुको घरघरमा पुर्याईदिउँ । हामीले यसमा धेरै समय लगाएर गनगनाहट गर्न जरुरी छैन । नत्र यो डेट एक्सपायर भएर काम नलाग्ने हुन सक्दछ । खेर जानबाट यसलाई रोकौं ।’
 
शान्त र आनन्दले मिलिजुली अगाडि बढिरहेको गाउँ, एकाएक खैलाबैलामा परिणत हुन पुग्यो । गाउँलेको अभिमत लिएर चुनिएका जनप्रतिनिधिहरु र स्वयं गाउँले मुखियाले समेत परिस्थितिलाई सामन्जस्यता ल्याउन सकेनन् । 

जननिर्वाचित प्रतिनिधिहरुले एकै ठाउँमा बसेर समाधानका उपायहरू पनि निकाल्न सकेनन् । जननिर्वाचित प्रतिनिधिहरुका बीचमा पनि एकआपसमा फरकफरक धारणा आउन थाल्यो । गाउँलेहरुबाट निर्वाचित जनप्रतिनिधिहरु एकै ठाउँमा बसेर के हो भनी निर्णय गर्न नसक्नु र उनीहरुको नालायकीपनका कारण अन्त्यमा त्यो सुन्दर रानीगाउँ पूर्णतया कोलाहलमा परिणत् हुन पुग्यो । अन्ततोगत्वा शान्त र रमणीय गाउँ संसारमै अशान्तिको गाउँ  बन्न पुग्यो ।

त्यस्तैगरी नेपाल पनि विश्वका सबै देशहरूमध्ये सुन्दर, शान्त र जैविक विविधताले भरिपूर्ण देश मानिन्छ । माथि कथामा भनिएको रानी गाउँ जस्तै छ नेपाल । नेपालमा लामो राजनीतिक अस्थिरताको समय सकिएपछि यसले मुख्यरुपमा राजनीतिक स्थिरता, त्यसैको जगमा उभिएर यहाँको प्राकृतिक स्रोत र साधनलाई आधार बनाई ठूलाठूला विकासका आयोजनाको निर्माण तथा सञ्चालन गर्ने  राष्ट्रिय हित र स्वाधिनताको रक्षालाई ख्याल राख्दै अगाडि बढ्नुपर्ने परिस्थिति विद्यमान छ । 

अमेरिकी सहयोगमा सञ्चालन भएका विभिन्न विकास तथा सहयोगात्मक कार्यक्रमहरुको नेपालमा बसेर नेतृत्व गर्ने प्राइम पार्टनरको पार्टनर र स्थानीय पार्टनरको रुपमा काम गर्ने स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी  संघ संस्थामा काम गर्ने सबै स्तर, तहका नेपाली जनशक्तिहरु हजारौं हजारको संख्यामा रोजगारी प्राप्त गरेका छन् । 

यसै कुरालाई आधार मानी हाल नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अगाडि सारेको देखिन्छ । नेपाल एक विकासशील राष्ट्र भएको हुँदा दशकौं वर्षदेखि विश्वका विभिन्न विकसित राष्ट्रहरुले नेपाललाई विभिन्न समयमा विभिन्न विकास आयोजनामा सहयोग गर्दै आइरहेका छन् । 

त्यसै सन्दर्भमा नेपाल र अमेरिकाबीच दशकौं पुरानो दौत्य र घनिष्ट सम्बन्ध छ । यसै शिलशिलामा नेपाल सरकार र अमेरिकी सरकारबीच छलफलमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौतामा उच्चस्तरीय सडक, बिद्युत प्रसारण लाइन निर्माणका लागि निम्न कार्यक्रमहरु समावेश हुने गरी एमसीसीको वित्तीय व्यवस्थापनमा नेपालभित्र ४०० किलोभोल्टको लगभग ३०० किलोमिटर प्रसारण लाइन र सडकको निर्माण कार्यमा प्रयोग गर्ने गरी यसमा निम्नानुसारका खण्डहरू पर्ने गरी समावेश भएका कार्यक्रमहरु छन्–
१, काठमाडौंको उत्तरपूर्वमा पर्ने लप्सिफेदीदेखि काठमाडौंको पश्चिममा पर्ने रातामाटेसम्म,
२, रातामाटेदेखि काठमाडौंको दक्षिणमा पर्ने हेटौंडासम्म,
३, रातामाटेदेखि पश्चिममा दमौलीसम्म,
४, दमौलीदेखि दक्षिण पश्चिम बुटवलसम्म र
५, बुटवलदेखि भारतीय सीमासम्मको आयोजना निर्माण गर्ने भनी बाहिर सञ्चार माध्यमबाट आएको छ । सञ्चार माध्यममा आएअनुसार सडक र विद्युत प्रसारण लाइन निर्माणको मुख्य लक्ष्य र उदेश्य नै ुउर्जा व्यापारलाई सहजिकरण गरी नेपालको विद्युत आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युतको उपभोग वृद्धि गर्ने भनी उल्लेख गरिएको छ । जसका कारण नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर बन्दै गरेको र निकट भविष्यमा नै नेपाल अन्तरदेशीय विद्युत व्यापार गर्ने तहमा पुग्नेछ भनी भनिएको छ ।

अमेरिकाले नेपाललाई सहयोग गरेको यो आयोजनामात्रै पहिलो आयोजना चाहिँ होइन। दशकौं वर्षदेखि विभिन्न आयोजनाका माध्यमबाट नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ, जलविद्युत, कृषि, वन, सडक, सुशासन, कानुनी साक्षरता, क्षमता अभिवृद्धि, प्रशासन सुधारका कार्यक्रमहरुमा सहयोग गर्दै आएको छ । 

आज नेपालीहरु अध्ययन, भ्रमण, व्यवसाय, रोजगारी जस्ता आदिका लागि आफ्नो मातृभूमि छोडेर संसारको विभिन्न देश र स्थानमा पुग्ने गरेका छन् । यसरी बाहिर जाने र आफ्नो सुन्दर भविष्यको कल्पना गर्नेहरुको लागि अमेरिका सबैको पहिलो रोजाईमा पर्ने गर्दछ। 

अमेरिकी सहयोगमा सञ्चालन भएका विभिन्न विकास तथा सहयोगात्मक कार्यक्रमहरुको नेपालमा बसेर नेतृत्व गर्ने प्राइम पार्टनरको पार्टनर र स्थानीय पार्टनरको रुपमा काम गर्ने स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी  संघ संस्थामा काम गर्ने सबै स्तर, तहका नेपाली जनशक्तिहरु हजारौं हजारको संख्यामा रोजगारी प्राप्त गरेका छन् । 

त्यति मात्रै कहाँ हो र आज नेपालीहरु अध्ययन, भ्रमण, व्यवसाय, रोजगारी जस्ता आदिका लागि आफ्नो मातृभूमि छोडेर संसारको विभिन्न देश र स्थानमा पुग्ने गरेका छन् । यसरी बाहिर जाने र आफ्नो सुन्दर भविष्यको कल्पना गर्नेहरुको लागि अमेरिका सबैको पहिलो रोजाईमा पर्ने गर्दछ। 

त्यसो त अमेरिकामा अध्ययन गर्न जाने विद्यार्थीहरु विगतमा नेपालबाट राम्रै संख्यामा जाने गरेको र अमेरिकी सरकारले पनि नेपालमा डाईभर्सिटी भिषा डिभीबाट अमेरिका जान पाउने सुविधा र अन्य देशहरुमध्ये नेपालीहरुले पाउने पर्यटक एवं व्यापार भिषाले गर्दा पनि अमेरिका जानेहरुको संख्यामा बढोत्तरी नै भएको पाइन्छ । 

यसरी अमेरिकामा नेपाली परिवारहरुको संख्यामा आइरहेको वृद्धि र नेपालीहरुले अमेरिकामा गर्ने विभिन्न तहका रोजगारी एवं स(साना तथा मझौला खालका ब्यवसायहरुमा काम गर्दै आईरहेका छन् । थोरै संख्यामा भए पनि सामाजिक एवं राजनैतिक क्षेत्रमा पनि सरिक रहँदै आइरहेका देखिन्छन् । यसरी केलाउँदै जाँदा नेपालीहरु अमेरिकामा पनि हजारौं हजारको संख्यामा छन् ।

अमेरिका नेपालसंग सिमा जोडिएको देश पनि होइन, हजारौं हजार माइल टाढा समुद्र पारीको देश हो अमेरिका । छिमेकी देश भारत र चीनसंग जस्तो सीमा लगायत छिमेकी हुँदा भोग्नुपर्ने समस्याहरु पनि अमेरिकासँग छैन । यी सबै परिस्थितिलाई आदर मान्दा हामी नेपालीहरुले अमेरिकाप्रति नकारात्मक धारणा राख्नु पर्ने कुनै कारण  यहाँनेर देखिन्न । 

अमेरिका हामीसंग कुनै बिषयमा प्रतिस्पर्धी देश पनि होइन ।  हामीले उसंग दुश्मनी लिनु पर्ने कारण पनि यहाँ छैन । नेपालले अरुहरु देशका कारणले अमेरिकासंग दुश्मनी राख्ने र नकारात्मक घारणा बनाएर अगाडि बढ्न जरुरी छैन । हामी सबै मित्र राष्ट्र देशहरुसंग पञ्चशिलको सिद्धान्तका आधारमा अगाडि बढ्दै  जानु वर्तमानको आवश्यकता हो । हाम्रो सदियौं देखिको नीति पनि यही हो । 

हामी कसैसंग अत्यन्तै नजिक र टाढाको ब्यवहार नेपाल र नेपालीको लागि हितकर नहुन सक्दछ । तर एमसीसीका बिषयमा अमेरिकी सरकारको रक्षा विभागद्वारा प्रस्तुत ‘हिन्द प्रशान्त रणनीति’ प्रतिवेदनमा नै  ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ को विषयमा उल्लेख गरिएको छ र त्यसको अभिन्न अंग हो भन्ने जो कसैले बुझ्न सक्दछ । 

अमेरिकाको विदेश मामिला उपमन्त्रीले नेपालमा आई केही समय पहिला एमसीसी हिन्द प्रशान्त रणनीतिको अभिन्न अंग हो भन्ने कुरा प्रष्ट पारेका थिए । नेपाल स्थित अमेरिकी  दूतावासका कुटनीतिक अधिकारीहरुले पनि यसै कुरालाई पुष्टि  गरेका छन् भनी जसरी  बाहिर सञ्चार माध्यमबाट आइरहेको छ । 

यदि यो कुरा सत्य हो भने यो त मौरीको महमा विष राखेर दिए जस्तै हुने छ नेपाल र नेपालीका लागि । हामी कुनै लोभमा कसैको जालजेलमा फस्न र अल्झिनु हुँदैन । 
 
एमसीसी नेपाल र नेपालीका लागि अमृत हो कि विष हो ? भाग्य हो वा दुर्भाग्य हो ? अवसर कि चुनौती ? यस विषयको समयमै पारदर्शिताका साथ नेपाली जनता बीचमा यसलाई चाँडो भन्दा चाँडो निष्कर्षमा पुर्याउनु पर्दछ ।

तर यसलाई बहाना बनाई एमसीसीको विरोध गर्ने तर सारमा प्रतिगमनलाई सहयोग पुग्ने गरी लोकतान्त्रिक विधि र प्रक्रियामाथि नै धावा बोल्ने जुन षड्यन्त्र भइराखेको छ त्यो खतराजन्य अबस्था बाट अगाडि बढरहेको छ । 

‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ नाराहरु सडकमा लगाउनुले कतै लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रयत्न त भइरहेको छैन ? यसप्रति तमाम लोकतन्त्रवादीहरु सचेत भइ अगाडि बढ्नु पर्दछ ।

यस्तो दुबिधाजन्य परिस्थितिको समाधान कस्ले, कहाँबाट गर्ने भन्ने बिषय यसको छलफल, अन्तरक्रिया, बहस गर्नुपर्ने कुरा होइन । किनकि हामीसंग जनताको तर्फबाट निर्वाचित जनउत्तरदायी संसद छ । त्यसले यसको छिनोफानो निकाल्नु पर्दछ । 

संसदलाई निकम्मा बनाउन पाइँदैन । सांसदहरू गैरजिम्मेवार बन्न पाइँदैन । आज सर्वसाधारण नेपाली जनताले सम्पूर्ण सांसदहर ज्यूहरुसंग प्रश्न गरिरहेका छन् ।

एमसिसि नेपाल र नेपाली जनताका लागि अमृत हो कि बीस हो ? अबसर हो कि चुनौती ? भाग्य हो कि दुर्भाग्य ? माथिको कथामा सुन्दर रानी गाउँलाई गाउँबाट निर्वाचित प्रतिनिधिहरुदले अन्योलमा पारे जसरी, नेपाल र नेपाली जनतालाई तपाई सांसदज्युहरुले अन्योलमा पार्न पाउनु हुन्न। यसको जवाफ तुरुन्तै चाहिन्छ। सांसद ज्यु एमसिसि बोतल हो कि, सिसि ? जवाफ पाऊ सांसद ज्यु।

(लेखक :- न्यौंपाने,  नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव हुन् ) email:rajeevneupane99@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ