एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मिति सर्ने
असार १६भित्र संसदबाट अनुमोदन गर्नुपर्ने थियो मिति
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १६ मंगलबार
805
Shares
काठमाडौं। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको थालनी मिति सर्ने संकेत गरेको छ।
एमसीसी नेपाल कम्प्याक्टको तयारी चरणमा उल्लेख्य प्रगति गरिसकेपनि विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको जनाउँदै नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मिति सर्ने संकेत गरेको हो।
कार्यान्वयन मिति सार्न आग्रह गर्दै नेपालले एमसीसीलाई यसअघी नै पत्राचार गरिसकेको छ। पूर्वनिर्धारित मिति अनुसार २०७७ असार १६ मा कम्प्याक्टको कार्यान्वयन थालनी हुनुपर्ने थियो। तर यो मितिबाट कार्यान्वयन हुन संसदमा एमसीसी प्रस्ताव संसदमा नै पेश भएन। सत्तारुढ नेकपाभित्र एमसीसीका कारण आन्तरिक विवाद व्यापक छ।
एमसिए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको जनाएको छ।
नेपाल कम्प्याक्टका सन्दर्भमा आमसञ्चार माध्यमले राख्दै आएको अभिरुचिप्रति धन्यवाद व्यक्त गर्दै एमसिए–नेपालले यसको कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।