‘कोभिड-१९ अनुगमन समिति’मा ३५ सदस्य मनोनयन, को को छन् ?
प्रकाशित २०७७ असार १९ शुक्रबार
972
Shares
काठमाडौं । नेपाली कांग्रेसले गत जेठ २६ गते कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका तर्फबाट गठित ‘कोभिड—१९ अनुगमन समिति’लाई शुक्रबार पूर्णता दिएको छ ।
कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा पार्टीका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञसहित ३५ सदस्य मनोनयन गरिएको समितिका सदस्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए।
समिति सदस्यहरुमा एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी, रमा कोइराला पौडेल, धु्रव वाग्ले, दिव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, डा पोषराज पाण्डे, डा प्रभु बुढाथोकी रहेका छन् ।
समितिको शुक्रबारै बसेको पहिलो बैठकमा संयोजक डा महतले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रीहरुसँग भएको छलफल, क्वारेन्टिन अनुगमन गर्दाको अवस्थालगायत हालसम्म भएका विविध विषयमा बैठकलाई जानकारी गराएका थिए।
बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गरेको सदस्य सचिव डा पराजुलीले बताउनुभयो । साथै बैठकले स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्यलगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनीकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ ।