arrow

ओली तर्साएरै दुई पद खाने दाउमा, यान्छी सक्रिय हुँदा गले प्रचण्ड–नेपाल

झलनाथ र वामदेव स्थायी कमिटीबाटै टुंगो लगाउनु पर्ने अडानमा, स्थायी कमिटी तत्काल नहुने, साउन २ सम्म स्थगित 

logo
बाबु नेपाली,
प्रकाशित २०७७ असार २६ शुक्रबार
ncp-sthi-committee.jpg

काठमाडौं । अन्ततः केपी शर्मा ओलीले तर्साएरै भए पनि प्रधानमन्त्री र नेकपा अध्यक्षको कुर्ची बचाइराखेका छन् । आफूले सोचेको जसरी पूरा गर्ने हठी स्वभावका ओलीलाई नेकपाको स्थायी कमिटी बैठकबाट सरकार र पार्टीको नेतृत्वबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरुसहित झण्डै दुई तिहाई स्थायी कमिटी सदस्यहरु लागे पनि ओलीले तर्साएरै भए पनि दुवै पद तत्कालका लागि सुरक्षित गरेका छन् । 

ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने सम्मको रणनीति ल्याएपछि नेकपाका हितैषी एवं पार्टी फुटेपछि जनता सामू जान पनि लाज लाग्ने स्थिति देखेका नेताहरु आत्तिएर ओलीलाई त्यसो नगरी मिलेर अगाडि बढ्न आग्रह गरेपछि ओलीलाई तर्साएर पद जोगाएको अनुभूति भएको छ । 

उनले पार्टी फुटाएर पुरानै नेकपा एमाले ब्यूँताउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत पनि दिएर निर्वाचन आयोगमा दर्ता गर्न लगाएका थिए । 

त्यतिमात्र हैन आफूले सरकार र पार्टीमा केही काम नगरी आलोचित भइरहेका बेलामा भारतले आफूलाई हटाउने भूमिका खेल्यो भनेर बाँकी रहेका नेकपाका शीर्ष नेताहरुलाई भारतीय दलालको पगरी गुथाइदिएपछि उनी थप चर्चामा आए । 

तर पनि ओलीलाई जसरी भए पनि हटाउने ध्यानमा नेताहरु लागेपछि संसदको अधिवेशन नै अन्त्य गराए । राष्ट्रपति विद्यादेवी भण्डारी उनका लागि दाहिना बनिन् । 

चिनियाँ राजदूत यान्छीले खेलिन् भूमिका 
नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले यसपटक निकै सक्रिय भूमिका खेलिन् । उनले मर्यादा नाघेरै नेताहरुको घरघरमा गएर भेटेर पार्टी फुटबाट बचाउन राम्रो भूमिका खेलिन् । 

उनले नेकपालाई फुट्न नदिन भूमिका खेल्ने क्रममा भने पदीय मर्यादा उल्लंघन गरेकी छिन् । र पनि नेकपा अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई उनीहरुकै घरमा पुगेर भेटेपछि नेताहरुलाई समेट्न सकेकी हुन् । 

यसमा ओलीको चतुर्याईँ स्पष्ट भएको नेकपाका एक स्थायी कमिटी सदस्यले बताएका छन् । उनको भनाइलाई मान्ने हो भने भारतको विरोध गरेको देखिएपछि चीनले हस्तक्षेप गर्ने छ र चीनको अगाडि नेकपाका मैहुँ भन्ने नेताहरुको केही लाग्ने छैन । 

कुनै समयका ‘प्रो–इन्डियन’ ओलीले सही समयमा सही ठाउँमा निशाना लगाएकाले उनको दुवै पद बचेको पनि उनले दावी गरेका छन् । उनले नाम नलेख्ने सर्तमा भने, ‘कामरेड ओलीले सही ठाउँमा तीर हान्नु भो त्यो लाग्यो ।’

गले प्रचण्ड–माधव, छैनन् गलेका झलनाथ र वामदेव
चिनियाँ राजदूतसंगको भेटपछि प्रचण्ड र माधव नेपाल गलिसकेका छन् । उनीहरुले अब अगाडि बढ्ने लक्षण नल्याएको पनि स्रोतको दावी छ । 

माधव नेपाललाई सुरुआतमै भेटेकी थिइन् चिनियाँ राजदूतले । त्यसपछि नेपाल सुस्ताए । नेपाललाई राजदूतले भेटेपछि प्रचण्डले नेपाललाई भेट्नै खोजेनन् । 

जबकि नेपालको बलले प्रचण्डले दुवै पदबाट राजीनामा मागेका थिए । प्रचण्ड स्वार्थी भए कि भन्ने पनि नेपाललाई लाग्यो । तर उनको ब्रेक राजदूतले लगाइसकेकी थिइन् । 

ओली बाठा छन् । उनले प्रचण्डसंग एक्लै भेट्ने तर अन्य नेतालाई ल्याउन नपाइने बताए । ओलीले बुझेका थिए –प्रचण्डलाई फकाउन सजिलो छ माधव नेपाललाई हैन । 

फेरि सबै नेताहरुले ओलीबाट धोका मात्र पाएका थिए । र पाउँदै आएका छन् । 

यसैले पनि माधव नेपालपछि झलनाथ खनाललाई चिनियाँ राजदूतले भेटे पनि उनले खासै पर्वाह गरेका छैनन् । 

झलनाथलाई थाहा छ कि आफू दुई अध्यक्षपछिमात्र गनिन्छु भन्ने । त्यसैले पनि उनले ओलीको चुरीफुरी स्थायी कमिटीले नै झार्नुपर्ने पक्षमा छन् । 

त्यसैगरी पटक पटक धोका खाएका वामदेव गौतम पनि स्थायी कमिटी बैठकबाटै ओलीलाई फाल्नुपर्ने पक्षमा छन् । 

जुन नेताले जेसुकै भने पनि अहिलेको तत्कालको समस्याको समाधान चिनियाँ राजदूतले गरेकी छिन् । उनका अगाडि मै हुँ भन्ने कम्युनिष्ट नेताहरु झुक्ने गरेको तथ्य अहिलेको गतिविधि हेर्दा काफी हुन्छ । 

स्थायी कमिटी फेरि सर्यो
नेकपाका स्थायी कमिटि बैठक साउन २ गतेसम्मका लागि सरेको छ । शुक्रबार बिहान ११ बजे बस्ने तय भएको बैठक समय सुरु हुनु एक घण्टा अगाडि स्थगित गरिएको जानकारी दिइएको हो । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटरमार्फत बैठक साउन २ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् । 

यसअघि गत शनिबारदेखि बैठक दुई अध्यक्षलाई समस्या समाधानका लागि वार्ता गर्न दिन भन्दै स्थगित हुँदै आएको थियो । अहिले एक हप्ताका लागि बैठक स्थगित भएको जानकारी पाएपछि स्थायी कमिटीका केही सदस्यहरु भने आक्रोशित भएका छन् । 

एक सदस्यले भने, ‘कतिसम्म चीनको इच्छामा हाम्रो पार्टी टिक्न सक्छ, हामी पनि आन्तरिक रुपले बलियो हुने सन्देश दिनु जरुरी छ ।’

ओलीको सत्ता आयु बढाउन मनसुन सहयोगी 
सरकारले मनसुनमा थुप्रैको ज्यान जाँदा र थुप्रै बेपत्ता हुँदा पनि विपद् व्यवस्थापनलाई तन्दूरुष्ट राख्न सकेको छैन । त्यसको कारण हो उसले जनतालाई प्राथमिकतामा राख्न सकेको छैन । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहुँच स्थानीय तहसम्म नहुँदा विपद् न्यूनीकरण प्रभावकारी छैन । अर्थात् यसमा पनि ओलीको संघीय र केन्द्रीय सोच हावी भएको छ । 

यही विपद्लाई चुस्त बनाउन नसक्ने सत्तारुढ नेकपाको सरकार भने यही बाढी पहिरोको दोष देखाउँदै यस्तो बेलामा स्थायी कमिटी बैठक डाक्नु उपयुक्त नहुने भन्दै एक हप्ताका लागि बैठक सार्न सफल भएको छ । 

यसरी सत्ताको आयु बढाउन ओलीलाई मनसुन पनि सहयोगी भएको छ । 

कोरोना भाइरसले देश आक्रान्त भएका बेलामा झगडा गर्नलाई नरोक्ने, स्थायी कमिटी बैठक बस्न नरोकिने, त्यही बेलामा आन्तरिक किचलोमा भिडन्त गर्न लाज नलाग्ने नेताहरुलाई अहिले आएर देशको बाढी पहिरोको दोष देखाएर स्थायी कमिटी बैठक सार्नु किमार्थ पत्याउने खालको तर्क हैन । 

चीनले कतिसम्म बोक्छ र नेकपालाई सुपरग्लु लगाइदिइरहन्छ भन्ने अहम् प्रश्न खडा भएको छ । त्यो भन्दा पनि गम्भीर विषय नेपाली सत्ता र राजनीतिमा चिनियाँ हस्तक्षेप कहिलेसम्म स्वीकार्य हुन्छ भन्ने पनि हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ