टरेको छैन चीनका ताल फुट्ने सम्भावना, सतर्क रहन आग्रह
प्रकाशित २०७७ साउन १५ बिहिबार
413
Shares
सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल शुरु गरेको छ ।
मित्रराष्ट्र चीनको न्यालम हिमताल रहेको क्षेत्रमा लगातार वर्षा भइरहेकाले न्यालम क्षेत्रका विभिन्न ताल फुट्नसक्ने जानकारी प्राप्त हुनासाथ बुधबार जिल्ला विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टको बैठक बसेको हो ।
चीनसँग कूटनीतिक पहल गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने कुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
चीनको न्यालमस्थित उच्च हिमाली ठाउँका विभिन्न तालमा पानीको सतह केही घट्दै गएको भनी चिनियाँ अधिकारीबाट अनौपचारिक सूचना प्राप्त भए पनि निरन्तर वर्षा भइरहेकोले ताल फुट्न सक्ने खतरा अझै टरिनसकेको भन्दै भोटेकोशी नदी तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन प्रजिअ ढकालले आग्रह गरेका छन् ।
केहिदिन अघिको वर्षाका कारण क्षति हुन पुगेको चौतारा अस्पतालको लागि माग भएको १० थान त्रिपाल रेडक्रस सोसाइटीमार्फत उपलव्ध गराउने निर्णय गरिएको ढकालले जानकारी दिए ।