arrow

वामदेवलाई ओली निकट बनाइदिएका चिनियाँ कम्पनीका एजेन्ट शुसिल भट्टलाई लगानी बोर्डमा पुरस्कृत

प्रचण्डको कोटाबाट योजना आयोगमा गएका भट्ट ओलीको छनौटमा लगानी बोर्डमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १९ सोमबार
kp-oli-sushil-bhatta-bamdev.jpg

काठमाडौं । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहने लगानी बोर्डमा सरकारले विभिन्न चिनियाँ कम्पनीका एजेन्ट भएर काम गरिरहेका विवादास्पद व्यक्ति शुसिल भट्टलाई सिईओमा चयन गर्ने अन्तिम तयारी गरेको छ ।  

बोर्डका उपाध्यक्ष तथा अर्थमन्त्री डा युवराज खतिवडा संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र अर्थशास्त्री डा गोविन्द नेपाल सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेसँगै भट्ट सिईओ हुने पक्का भएको छ । सिइओ सिफारिस समितिमा सर्टलिस्टमा परेकामध्ये योजना आयोगका सदस्य भट्ट सत्ताको संकट पार लगाउनेमा लागेका कारण उनको नियुक्ती पक्का भएको हो । विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा, प्रदेश १ लगानी प्राधिकरणका सिइओ डा सरोज कोइराला र पूर्वसहसचिव लक्ष्मीविलास कोइरालाले अन्तर्वार्ता दिए त्यो औपचारिकताका मात्र थियो । पूर्वसहसचिव कोइरालालाई कांग्रेस निकट भएका नाममा उनी देखावटीका लागि मात्र सर्टलिष्टमा पारिएका थिए । नेकपाकै चाहनामा  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ बनेका ज्ञवाली भने बनाउनेहरुको इच्छाकै कारण अन्तर्वार्ता दिननै गएनन् । उनले वोर्डमा आफू सिईओ नहुने पक्का भएपछि अन्तर्वार्ता दिन आवश्यक पनि ठानेनन् । 

वोर्डमा सिईओ बन्न लागेका राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका भट्ट र उनका भाइ दिपक भट्ट नेपालमा चिनियाँ कम्पनीका एजेन्टका रुपमा लामोसमयदेखि कार्यरत छन् । नेपालको राजनीतिक उतारचढावमा पनि भट्ट दाजुभाई सक्रिय रहँदै आएका छन् । पछिल्लो समय नेकपाको विवाद पनि मिलाउन भन्दै उनीहरु सक्रिय रहेका थिए ।

राष्ट्रिय योजना आयोगको सदस्य नेकपा अध्यक्ष प्रचण्डको कोटाबाट बनेका भट्ट लगानी बोर्डको सिईओमा भने नेकपा अध्यक्ष तथा प्रधानमन्त्रीकै चाहनामा बन्न लागेका हुन् । प्रचण्ड नेपाल खेमामा रहेका वामदेव गौतमलाई एकाएक ओली खेमामा ल्याउन भट्ट दाजुभाइको भूमिका महत्वपूर्ण रहेको नेकपा स्रोत बताउँछ । भट्ट दाजुभाइ र नेकपा महासचिव बिष्णु पौडेलले संयुक्त रुपमा गौतमलाई मनाएका थिए । भट्ट र पौडेलबीच धेरै बिषयमा लेनदेन रहेको नेकपाकै नेताहरु बताउँछन । भट्टको वामदेव गौतमसँग अझ पुरानो र राम्रो सम्वन्ध छ । दुबै पक्षसँग भएको राम्रो सम्वन्धलाई भट्टले नेकपाको विवाद सुल्झाउन प्रयोग गरेको स्रोतको दावी छ । व्यक्तिगत रुपमा वामदेव गौतमसँग अत्यन्त निकट रहेका भट्ट दाजुभाइले चिनियाँ कम्युनिष्ट पार्टीको सन्देश पनि ओलीलाई सहयोग गर्ने रहेको बताए पछि गौतम एकाएक ओली क्याम्पमा गएका थिए । 

गौतमको ओली क्याम्पमा जाने बिषय राजनीतिलाई तरंगित पार्ने खालको थियो । तर यो काममा उनीहरुले चिनियाँ चासोलाई सम्वोधन गरेको नेकपाकै एक नेताले बताए । गौतमलाई ओली क्याम्पमा ल्याइदिएका भट्टलाई त्यसैको पुरस्कार स्वरुप लगानी वोर्डको सिइओ बनाउन प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी ओली राजी भएका थिए । प्रधानमन्त्रीको इच्छा अनुसार लगानी वोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्रीले भट्टको नाम अध्यक्षलाई दिएका थिए । उनलाई सिईओ बनाउन ओलीलाई गौतम र पौडेलले पनि लविङ गरेका थिए । भट्टका लागि बाटो खाली गर्न पौडेलले पुननिर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई अन्तर्वार्ता नदिन राजी गराएका थिए । ओलीको इच्छामा आवेदन दिएका भनिएका ज्ञवाली उनकै इच्छामा अन्तर्वार्ता दिन रोकिएका थिए ।  

भट्ट दाजुभाइ चिनियाँ कम्पनीको मात्र नभई चीन सरकारको इच्छा अनुसार पनि नेपालमा सक्रिय रहेको नेकपा निकटकै स्रोत बताउँछ । राजनीतिक र आर्थिक रुपमा विवादास्पद भट्ट दाजुभाइ सबै राजनीतिक दलका नेताहरुलाई प्रभावित पार्न सक्ने हैसियत राख्छन् । ठूला ठूला ठेक्कापट्टामा पनि उनीहरुले राजनीतिक नेतृत्वलाई प्रभावित पारि लिदै आएका छन् । 

नेपाली सेना, नेपाल प्रहरी लगायतको ठूलो ठेक्का पनि उनीहरुलाई नै पारिदै आइएको छ । सेना र प्रहरीको रासन, हतियारदेखि, विद्युत् उत्पादन र प्रसारणका ठेक्कामा उनीहरुले हात हालेका छन् । १५ वर्षदेखि प्रहरीका ठूला ठेक्कामा भट्टको कब्जामा छ । प्रहरीको मेगासिटी प्रोजेक्ट अन्तर्गत मोरङ, सुनसरी र धनकुटाका प्रहरी कार्यालयमा डिजिटल सञ्चार सेट जडान गर्न ५५ करोडको ठेक्का उनैले पारे । समयमै काम नसकिएपछि प्रहरीले रद्द गरेको भट्ट दाजुभाइको ठेक्काको म्याद थप्न मन्त्रिपरिषद्बाटै नियमावली परिवर्तन गरियो । यस्ता नीतिगत चलखेलमा पनि यि भट्ट दाजुभाइले राजनीतिक प्रभावको दुरुपयोग गर्दै आएका कर्मचारीतन्त्रलाई प्रभावित पार्दै आएका छन् । 

राष्ट्रिय गौरवका आयोजना लगायतका ठूला बजेटका आयोजना लिएर अलपत्र पार्ने काममा पनि उनीहरु र उनीहरुको कम्पनीहरु वदनाम छ । तर सरकारले यस्तो विवादास्पद कम्पनीका एजेन्टलाई नै वोर्डमा ल्याउने अन्तिम तयारी गरिरहँदा उनले नैतिक रुपमा लगानी वोर्डमा सहभागी हुन पनि नमिल्ने कुरा पनि उठेको छ । तर पनि नैतिकतालाई तिलाञ्जली दिदै केपी सरकार उनलाई ल्याउन लागिपरेको छ ।    

भट्ट दाजुभाइको विवादास्पद यात्रा
चिनियाँ कम्पनी सिजिजिसीका स्थानिय एजेन्ट रहेका भट्ट दाजुभाई १२ सय मेगावाटको राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना अलपत्र पार्नेमा पनि मुख्य जिम्मेवार छन् । उनीहरु आवद्ध कम्पनीकै कारण आयोजना ढिला हुँदा हरेक वर्ष ६५ अर्ब क्षति भइरहेको बताइन्छ । 

६० मेगावाटको त्रिशूली ३ ‘ए’लाई ९० मेगावाट पुर्‍याएर अनिश्चित बनाउने प्रयास पनि उनै भट्ट दाजुभाइले गरेका थिए। खिलराज रेग्मी मन्त्रीपरिषदका अध्यक्ष भएका बेलामा निर्णय उल्टाए पनि सर्वत्र विरोधपछि फिर्ता भएको थियो । सो विवादास्पद निर्णय गराउने चिनियाँ कम्पनीका एजेन्ट पनि उनै भट्ट दाजुभाइ थिए ।

४२.५ मेगावाटको स्याञ्जेनमा धोका दिएको चाइना गेजुवा ग्रुप कम्पनी सिजिजिसीलाई कालोसूचीमा राख्न सिफारिस भएको थियो। भट्ट दाजुभाई नै एजेन्ट रहेको सो कम्पनीको तीन करोड २० लाख पछि जफत भएको थियो । सोलु करिडोर १३२ केभी प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी जागुयारले पाएपछि तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलाई अख्तियार लगाए  उनै एजेन्टद्वय भट्ट दाजुभाइले । 

काबेली करिडोर प्रसारण लाइनमा ढिलाइ गर्ने कम्पनीका एजेन्ट भट्ट दाजुभाइले लिएको भरतपुर बर्दघाट डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का नै तोडियो । ठेक्का तोडेका उनीहरुको जमानत वापतको ३० करोड जफत भयो । ठूला ठूला काम लिने नगर्नेमा वदनाम भट्ट दाजुभाइको मुख्य काम राजनीति मिलाएर कमिशन वाँडफाड हो । यहि कमिशनमा अहिले नेकपाका अधिकांश नेताहरु उनको बिरुद्ध जान सक्दैनन् । 

उनको वदनामी यात्रा यतिमै रोकिदैन । तर पनि उनलाई सत्ताले जहिल्यै अपनाइरहेको पाइन्छ । यसको पछाडीको कारण सबैलाई मिलाएर खुवाउने उनको अद्धितिय क्षमता नै भएको उनलाई नजिकबाट चिन्ने एक जानकार बताउँछन् । हेटौँडा, ढल्केबर र इनरुवामा बनाउन लागिएको २२० केभी सबस्टेसन बनाउन ठेक्का पाएको चाइना पावर ग्रिड (सिसिपिजी)ले अलपत्र पारेपछि ठेक्का रद्द गर्नुपरेको थियो । सो कम्पनीको पनि स्थानिय एजेट रहेका भट्ट दाजुभाइका कारण नेपालका विकास निर्माणका धेरै काम ढीलो हुने समयमै नसकिने र बढी लागत लाग्ने गरेको उनीबाट पिडित भएका सरकारी कर्मचारीहरु बताउँछन् । 

खासगरि नेपालको हाइड्रोका क्षेत्रमा काम गर्न विभिन्न चिनियाँ कम्पनीको एजेन्टको रुपमा क्रियाशिल भट दाजुभाईले प्रोजेक्ट ओगट्ने र अरुले पाएका शक्तिको दुरुपयोग गरि काम खोस्ने गर्दै आएका छन् । भट्ट दाजुभाइ नै एजेन्ट रहेको चिनियाँ कम्पनी सेन्जेन फराद इलेक्ट्रिकले मस्र्याङ्दी करिडोर प्रसारण लाइनको ठेक्का पायो, तर सम्झौता गर्न आएन । यसबाट पनि भट्ट दाजुभाइको नियत बुझ्न सकिने हाइड्रो क्षेत्रका कतिपय लगानीकर्ताहरु बताउँछन् । काम लिने समयमै नगर्ने र राजनीतिक दवाव दिएर फाइदा लिन खोज्ने उनको बानीले धेरै आयोजनाहरु समयमै नसकिएका मात्र होइनन लागत समेत बढेका छन् । ७५ प्रतिशत समय बित्दा पनि तामाकोसी–काठमाडौं प्रसारण लाइन सुरु नगरेका भट्ट दाजुभाइसँग सम्झौता पनि रद्द गरेर करिब २० करोड धरौटी जफत गरिएको थियो । यसरी काम नगर्ने अनि धरौटी जफत गराउँदै हिड्ने कम्पनी बदनाम भएर काम नपाउनु पर्ने हो तर उनीहरुले वदनामी भन्दा पनि राजनीतिक तहमा प्रख्याती कमाइरहेका छन् । आज उनै भट्ट दाजुभाई नेकपा शक्ति सन्तुलन तलमाथि गराउने हैसियतमा पुगेका छन् ।

बाह्रबिसेमा निर्माणाधीन सबस्टेसनको काम पनि सन्तोषजनक नभएपछि भट्ट दाजुभाइले लिएको ठेक्का तोडियो भने मातातीर्थमा बन्दै गरेको सबस्टेसनको काम छोडेर हिँडेपछि ठेक्का रद्द भयो । हेटौँडा–भरतपुर प्रसारण लाइनको निर्माण पनि उनै भट्ट दाजुभाइले  अलपत्र पारे । यि सबै काममा उनीहरु चिनियाँ कम्पनीका स्थानिय एजेन्टकै रुपमा क्रियाशिल थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ