arrow

कोभिड-१९ रोक्न सरकार असफल, नीजि तथा गैरसरकारी क्षेत्रलाई तयारीमा जुट्न सांसद दिव्यमणीको आग्रह

कोरोना बीमा अभियान देशभर संचालन गर्न राजभण्डारीको माग

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
dibyamani-rajbhandari.gif

काठमाडौं। नेपालमा कोभीड-१९ फैलिने क्रम बढ्दा पनि सरकारले कुनै पनि योजना नबनाई भयावह हुने संभावना बढेको भन्दै नेपाली कांग्रेसका नेता एवं संघीय सांसद दिव्यमणी राजभण्डारीले नीजि तथा गैरसरकारी क्षेत्रलाई तयारीमा जुट्न आव्हान गरेका छन्।

नेपाली कांग्रेसका नेता एवं संघीय सांसद दिव्यमणी राजभण्डारीले कोभीड १९ महामारी नेपालमा फैलिन शुरु गरेको सम्बन्धमा नीजि अस्पताल, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका राष्ट्रिय एवं अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई आइसीयू, भेन्टिलेटर लगायत पीसीआर टेष्टका लागि चाहिने आवश्यक सामग्रीहरु यथोचित संख्यामा जुटाउन आव्हान गरेका हुन्।

विश्वमा कोरोना महामारी शुरु भएको ६ महिना बढी भैसकेको अवस्थामा सरकारले कुनै पनि तयारी नगरेको हुनाले आउन सक्ने भयावह स्थितीका लागि तयार हुन सांसद राजभण्डारीले यस्तो आव्हान गरेका हुन्।

कोरोना महामारीको शुरुवाती समयदेखि आरडिटी बन्द गरेर शतप्रतिशत पीसीआर टेष्ट गर्न बारम्बार भनेपनि सरकारले नसुनेको सांसद राजभण्डारी बताए । संसदमा उक्त कुरा बारम्बार उठाए पनि सरकारले वास्ता नगरेको उनले सुनाए।

सर्वोच्च अदालतको शतप्रतिशत पीसीआर टेष्ट गर्ने आदेश बिपरित सरकारले आरडीटीमा जोड दिईरहेको थियो। व्यापक जनदवाव पछि केहि समय अघि मात्र सरकारले शतप्रतिशत पीसीआरमा जाने निर्णय गरेको हो । त्यो निर्णय हुँदा कोरोना द्रुत गतिमा फैलिन शुरु भइसकेको थियो।

सरकारको गैरजिम्मेवारी रवैयाले ठूलो जनधनको क्षती हुनसक्ने संभावनालाई मध्यनजर गर्दै जनताको जीवन रक्षा गर्न नीजि क्षेत्र सक्रिय हुनपर्ने राजभण्डारीले बताए।

नीजि अस्पतालहरुले आइसोलेसन शैयाहरु थप्नेदेखि आफ्ना भेण्टिलेटरहरु थप्ने कार्यमा अग्रसर हुनपर्ने राजभण्डारीले बताए । 'सरकारको नालायकीपनले जनताको जीवन जाने स्थितीमा निजी क्षेत्र अगाडि आउनु पर्छ,' राजभण्डारीले भने। 

देशभर भेन्टीलेटरको संख्या एक हजारको हाराहारीमा मात्र रहेको अवस्थामा तत्काल भेन्टीलेटरको संख्या बढाउन उनले सरकारसँग आग्रह गरे। कोभीड १९को उपचारमा भविष्यमा उल्लेख्य मात्रामा भेन्टिलेटर आवश्यक पर्ने जनाउँदै उनले तत्काल कम्तिमा ५ हजार संख्यामा भेन्टिलेटरहरु मित्रराष्ट्रहरुबाट व्यवस्था गरि ल्याउन सुझाव दिए। 

नेता राजभण्डारीले नेपाली कांग्रेसका नेता तथा साथीहरुको कोरोना बीमा गर्न पनि पार्टीलाई आव्हान गरेका छन् । नेपाली कांग्रेसका भातृ संगठन, शुभेच्छुक संस्थाका साथीहरुको पनि कोरोना बीमा गर्न उनले पार्टीको ध्यानाकर्षण गराएका हुन् । 

कोरोना महामारीको स्थितीमा धेरैले उपचार गराउन आर्थिक अवस्थाका कारण संभव हुन नसक्ने स्थितीमा बीमाले सहयोग गर्ने उनको धारणा  छ। 

सरकारले कोरोना बीमाका लागि ऐन र नियमावली बनाईसक्दा पनि कार्यान्वयन हुन नसकेकोप्रति नेता राजभण्डारीले प्रश्न गरेका हुन् । संघीय संसदमा पनि कसैको पनि बीमा नरहेको उनले बताए। कांग्रेस नेता राजभण्डारीले सबै पार्टीलाई पनि आफ्ना नेता, कार्यकर्ताहरुको कोरोना बीमा गर्न आव्हान गरेका छन्। उनले भविष्यमा उपचारमा आर्थिक भार नपर्ने अवस्थाको लागि आम नागरिकको पनि कोरोना बीमा गराउन सरकारसँग आग्रह गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ