विद्युत प्राधिकरणका उपप्रवन्धक एक करोड २४ लाखको चेकसहित पक्राउ
प्रकाशित २०७७ साउन २५ आइतबार
687
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट शनिबार पक्राउ गरेको छ ।
उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको आयोगले जनाएको छ । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) हुन् ।
प्रक्रिया नै नपुर्याई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठमाडौँ जाने क्रममा आज गुप्ता पक्राउ परेका हुन् ।
आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।