कांग्रेसको विभाग गठनप्रति तेस्रो पुस्ताका १२ नेताको आपत्ति, नेतृत्वलाई चेतावनी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २७ मंगलबार
375
Shares
काठमाडौं । नेपाली कांग्रेसका तेस्रो पुस्ताका १२ नेताहरुले पार्टीको बिभाग गठन कार्य तत्काल रोकिनु पर्ने र गठन गरिएका विभागहरु खारेज गरिनुपर्ने माग गरेका छन् ।
पार्टीका सबै तहको अधिवेशनको मिति तोकिसकेपछि भइरहेका यस्ता नियुक्तिले महाधिवेशनको आचारसंहिताको ठाडो उलंघन गरेकाले सवै नियुक्ति खारेज गर्नुपर्ने उनीहरुको तर्क छ ।
मंगलबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले अहिले विभागहरु गठन गरिनुलाई विभाग अनुसार पार्टीको काम गर्नका लागि भन्दा पनि महाधिवेशनलाई प्रभावित पार्ने नियतले भएको अवैधानिक कदमको संज्ञा दिएका छन् ।
पार्टीका केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव र किरण यादवले अवैध तरिकाले गठन गरिएको विभागहरुमा नबस्न पनि सवैलाई आह्वान गरेका छन् ।
तत्कालिन सभापति सुशिल कोईराला नेतृत्वको कार्यकालमा पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा बर्तमान सभापति शेरबहादुर देउवाले नै असहमति जनाएकाले तत्कालिन निर्णय फिर्ता लिइएको तर अहिले भने कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक र उपयुक्त हुनसक्छन् भनेर युवा नेताहरुले प्रश्न गरेका छन् ।
वक्तव्यमा भनिएको छ, “हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र ? हामीले बनाएका बिभागहरुले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टीका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ ।”
सभापति देउवाले विवादास्पद र अवैधानिक कार्यहरु गरिरहेकाले महाधिवेशन निर्धारित समयमा हुनेमा र निष्पक्ष हुनेमा समेत उनीहरुले आशंका व्यक्त गरेका छन् । पार्टी नेतृत्वप्रति धेरै दृष्टीकोणबाट असक्षमताका प्रश्नहरु उठिरहेकाले आफुहरु नेतृत्वलाई चुनौती दिनेगरी उत्रिन तयार रहेको चेतावनी पनि युवा नेताहरुले दिएका छन् ।
“अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफ सहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं,” वक्तव्यमा लेखिएको छ ।
कांग्रेसप्रतिको जनताको भरोसा कमजोर हुदै गएको र पार्टीको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदै गएको भन्दै वक्तव्यमा चिन्ता व्यक्त गरिएको छ । कांग्रेसको नेतृत्वले अहिले लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेको र पार्टीको पहिचान र परम्पराको सट्टा अराजकतातर्फ उन्मुख भएको तितो अनुभव युवा नेताहरुले व्यक्त गरेका छन् ।
पार्टी सभापति विधानको संरक्षक र पालक हुनुका साथै व्यक्ति नभई संस्था भएकाले कांग्रेसको इतिहास, बिरासत, परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा सभापतिलाई नभएको वक्तव्यमा लेखिएको छ ।
अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि सभापतिसँग नभएको उनीहरुले स्मरण गराएका छन् ।
पार्टी सभापति देउवाको व्यवहार र पार्टीको सिद्धान्तका बीचमा पटक्कै तालमेल नदेखिएको र मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार नभएको वक्तव्यमा लेखिएको छ । सभापति देउवाको व्यवहारले गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने आफुहरुको नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको नेताहरुको ठहर छ ।
कांग्रेसका १२ नेताद्धारा जारी संयुक्त वक्तव्य
प्रेस विज्ञप्ति
२०७७ साउन २७
नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको संघारमा छ। विधानतः चार वर्षको कार्यकाल भित्र महाधिवेशन सम्पन्न हुन नसक्ने बिशेष परिस्थिती देखिएमा मात्र उपयोग गर्न पाइने एक बर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ। निर्धारण गरिएको समय २०७७ फागुन भित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नु पर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ।
यस्तो समयमा पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी नेता बिच,नेता कार्यकर्ता बिच र पुरानो पुस्ता एवं नयाँ पुस्ताका बिचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनु पर्ने दायित्व हामी सबैको हो। यद्दपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ। पार्टी भित्र देखिएका बिवाद र आपसी तिक्ततालाई समाप्त गरि साथिहरुका बिचमा भावनात्मक एकता कायम गरि महाधिवेशनलाई हौसला पूर्ण महोत्सवको रुपमा निर्धारित समयतालिका भित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।
इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुदैछ। संसारभरि अस्विकृत अलोकतान्त्रिक बिचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ। नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ। साच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भई बिरक्तिएर बसेको छ र समकालिन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ।यस महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउदै उत्पन्न तनाव,बिरक्ती र घृणा भावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको छ। यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ।
यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथिहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नु पर्दछ। तर दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐतिहासिक बिरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुदै गएका छौं। हामी प्रतिको नेपाली जनताको भरोसा कमजोर हुदै गएको छ। पार्टिको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदैछ। हाम्रा प्रातः स्मरणीय नेताहरुले रचेको गौरव गाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ। हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौं। र हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकता तर्फ उन्मुख भएका छौं। यसको जिम्मेदारी नेतृत्वले लिनु पर्दछ।
अहिले आएर सभापति ज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकर्षित भएको छ। पार्टी सभापति विधानको संरक्षक,पालक र कार्यान्वयनकर्ता पनि हो। कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ।कस्तो कांग्रेस बनाउने,विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो। सभापति व्यक्ति होइन, संस्था हो। उहाँसँग पार्टीलाई गुट उपगुटमा बिभाजित रहनदिएर कांग्रेसको इतिहास,बिरासत , परम्परा र पद्दतिलाई उल्लंघन गर्ने सुविधा छैन। अस्वस्थ भागबण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथिहरुलाई समान अवसर र न्यायबाट बञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन।आफ्ना समकालीन साथिहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिड्ने सहुलियत पनि छैन। यसबाट गैरलोकतान्त्रिक शक्तिहरुसँग लोकतान्त्रिक मुल्य मान्यताको बिषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ।
हामी यतिबेला पार्टीको बाह्रौं महाधिवेशन पश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टिका विभागहरु गठन गर्दा बर्तमान पार्टी सभापति ज्युले राख्नु भएको तर्क रअसहमतिलाई स्मरण गरिरहेका छौं। पदाधिकारी, समिति र बिभाग गठनमा दुई बर्ष मात्र ढिलो हुँदा बर्तमान सभापति ज्यु कै असहमति र बिरोधका कारण तत्कालिन निर्णय फिर्ता लिइयो अर्थात् कार्यान्वयन गरिएन। अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरु कसरी बैधानिक र उपयुक्त हुन सक्छन्र ? तत्कालिन विधानमा महाधिवेशन सम्पन्न भएको दुईमहिनाभित्र गरिनु पर्ने विभाग गठनको काम तत्काल किन भएन रु हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भब्य रुपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनु पर्ने होइन र ? हामीले बनाएका बिभागहरुले आफ्ना विभागीय काम कहिले गर्नेरु महाधिवेशनको औपचारिक प्रक्रिया शुरु भएपछि पार्टिका साथिहरुमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसके पश्चात् बिभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उलंघन गर्नु हो। तसर्थ बिभाग गठनका कार्य तत्काल रोकिनु पर्छ र गठन गरिएका औचित्यहिन विभागहरु खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ। यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। यस बिषयमा स्पष्ट हुनका लागि देशभरका साथिहरुलाई आग्रह समेत गर्दछौं। साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका उपशंकाको निवारण गर्दै हर प्रश्नको जवाफ सहित राष्ट्र, लोकतन्त्र र पार्टीलाई सहि दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिन समेत तयार छौं भन्ने कुरा स्पष्ट पार्न चाहन्छौं।