arrow

निर्णायक भनिएको वार्ता उपलब्धीहिन, चिया विस्कुट बाहेक सरकारले कुनै तयारी नगरेको मोर्चाका नेताहरुको भनाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
933401472.jpeg
काठमाडौं । तीन महिना बढी लामो समय देखि जारी मधेस आन्दोलन टुंग्याउने ओली सरकारको प्रयास पेरि पनि विफल भएको छ । बुधबार साँझ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग निर्णायक भनिएको वार्ता निष्कर्षविहिन भयो । 
 
सिंहदरवारस्थित राज्यव्यवस्था समितिको कार्यालयमा कांग्रेस उपस्थित नभएको वार्ता ठोस एजेन्डामा प्रवेश नै नगरि सकिएको बैठकमा सहभागि नेताहरुले बताएका छन् । सरकारको तर्फबाट ठोस प्रस्ताव नआएपछि मुद्दामा प्रवेशै नगरी बैठक सकिएको मधेसी मोर्चाको तर्क छ । 
 
सत्तारुढ दल र मधेशी मोर्चाका शीर्ष नेताहरुबीच प्रदेशको सीमांकनबारे पुनःर्विचार गर्ने लगायतका विषयमा सामान्य छलफल भएपनि निष्कर्ष निस्केन । मोर्चाका नेताहरुले निर्णायक भनिएको वार्तामा समेत सरकार विनातयारी प्रस्तुत भएको आरोप लगाए । वार्तापछि संचारकर्मीलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारी टोली विनातयारी वार्तामा आएको भन्दै अब कांग्रेससहित वार्ता हुने बताए ।
 
वैठकमा कांग्रेस सहभागि नभएका कारण वार्ता ठोस रुपमा अघि बढ्न नसकेको यादवको भनाई  छ । यादवले भने,‘बैठक एजेन्डामा प्रवेश नै गरेन ।’ चिया बिस्कुट खाने काम मात्रै भएको सुनाउँदै यादवले सरकारले ठोसरुपमा कुनै पनि प्रस्ताव नल्याएको बताए । 
 
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै विषयलाई प्याकेजमै समाधान खोजिने बताए । निर्णायक वार्ता भन्दै आएका दाहालले नै किस्ता किस्तामा समाधान खोज्न सकिन्छ कि भन्ने मनसाय राखेकामा त्यसो हुन नसक्ने उल्झन देखाए । उनले भने,–‘अब एक लौटी सबै विषयलाई टुंग्याउनुपर्ने देखियो ।’ 
 
सरकारी वार्ता टोलीका सदस्य रहेका कानुनमन्त्री अग्नि खरेलले सरकारको तर्फबाट सत्तारुढ दलबीच छलफल गरेर फेरि वार्ता हुने सुनाए । मन्त्री खरेलले वार्ता सकारात्मक ढंगले अघि बढेको भन्दै कांग्रेस समेतको सहभागितामा निश्कर्षमा पुग्न चाहेको टोलीको बचाउ गरे । दशैं, तिहार र छठपछि सरकारविरुद्ध कडा संघर्ष गर्ने घोषणा गरेको मधेसी मोर्चासँगको यो वार्ता ‘निर्णायक’ भनि व्यापक प्रचार भएको थियो । 
 
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष दाहालले राखेको प्रादेशिक सिमांकनको नयाँ प्रस्तावमा सत्तारुढ एमाले र विपक्षी कांग्रेस नै एक मत छैनन् । स्वयं एमाओवादीका पूर्व र सुदूरपश्चिमका नेताहरुले पनि दाहालको प्रस्तावप्रति कडा असहमति राखेका छन् ।
 
आजको वार्तामा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सरकारी वार्ता टोलीका संयोजक तथा उपप्रधानमन्त्री कमल थापा र अग्नि खरेलल तथा मधेशी मोर्चाबाट तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ