arrow

ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई सातौं नियुक्ति, राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
ishwor-upendra.jpg

काठमाडौं । सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय बाणिज्य बैकको अध्यक्षमा नियुक्त गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई शुक्रबार बाणिज्य बैंकको सदस्यमा नियुक्त गरेका थिए । शुक्रबार सदस्यमा नियुक्त कोइरालालाई बैंकले बुधबार संचालक समितिको बैठक राखी अध्यक्ष चयन गर्दैछ । 

बाणिज्य बैंकका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्यमा नियुक्ति गरी कोइरालालाई बैंकको अध्यक्ष चयन गर्न लागिएको बैंक स्रोतले जनाएको छ । कोइराला सातौं पटक सरकारी नियुक्ति पाउने भाग्यमानी नेपाली हुन् । उनी २०५१ सालको तत्कालीन एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक भएका थिए ।

खाद्य संस्थानको महाप्रबन्धक भएपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि बिराटनगरकै स्नातकोत्तर क्याम्पसको प्रमुख भए ।  २०५८ मा ईश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको समयमा उनी आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए । आयल निगमको कार्यकारीबाट कार्यकाल सकिएपछि बीचमा केही समय खाली बसे । त्यसपछि पुनः उनी उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्षमा नियुक्त भए । उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट केही समय लक्ष्मी बैंकको अध्यक्ष भए ।

पुनः कोइरालालाई पोखरेलले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति दिलाए । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिनामात्र भएपछि उनलाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाइन लागिएको हो ।

कोइरालाले एकपछि अर्को गर्दै सातौं नियुक्ती खाइरहँदा साबिक एमालेमा राजनीतिक योगदान गरेका नेता कार्यकर्ता र पेशाकर्मी भने रुष्ट देखिएका छन् । सत्तामा आएपछि पार्टीमा क्रियाशिल नेता कार्यकर्ताले भन्दा पनि नियुक्ति भने नेताका आफन्तले मात्र पाउँछन् भन्ने उदाहरणका रुपमा कोइराला उदायपछि धेरै कार्यकर्ताहरुले आक्रोशित देखिएका छन् ।  

नेकपाकौ नेता कार्यकर्ताले कोइरालाको नियुक्तिको बिरोधमा सामाजिक संजालमा लेख्न थालेका छन् । युवासंघका स्थायी कमिटी सदस्य देवराज पोखरेलले लेखेका छन्–उपप्रधानमन्त्रीको सम्धी पर्नु भएछ । त्यसैले कुनै उल्लेखनीय काम नगर्दा नगर्दै पनी ०५१–५२ देखी निरन्तर नियुक्ति पाउनु भएको छ । लाखौं नेता कार्यकर्ताको रगत र पसिना बगाएको, सम्धी पोस्न हुँदै होइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ