arrow

राष्ट्रियसभा जाने बामदेवको रहरले ओली धर्मसंकटमा, अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा यात्रा अनिश्चित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १५ सोमबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरेर अर्थमन्त्रीका रुपमा निरन्तरता दिने भएपछि उनलाई रोक्न वामदेव गौतम अघि सरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभाका सांसद बन्न तयार रहेको निकटस्थहरूलाई बताएसँगै खतिवडाका लागि गौतम बाधक बनेका हुन् ।

पार्टी सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेर सांसद बनाउने निर्णय गरेको भएपनि अहिलेसमम कार्यान्वयन भएको छैन । प्रधानमन्त्री ओलीले केही दिन अघि गौतमले राष्ट्रिय सभामा नजाने बताएपछि उहाँको ‘च्याप्टर क्लोज’ भएको बताएका थिए । त्यसपछि ओलीले राष्ट्रिय सभामा खतिवडालाई मनोनयन गर्नेगरी प्रकृया थालेका थिए । तर गौतमले आफू राष्ट्रिय सभामा जान चाहेको बताएपछि भने ओली–गौतमबीच फेरी फाटो आउने संकेत देखा परेको छ ।

स्थायी कमिटीको बैठकमा ओलीलाई बचाउन ६ बुँदे सुत्र प्रस्तुत गरेका गौतमले आफूलाई फेरी पनि ओलीले धोका दिएको महशुस गरिरहेका छन् । गौतमको सो भनाईसँगै अर्थमन्त्री खतिवडाको राष्ट्रिय सभा यात्रा र मन्त्रिपद दुवै अनिश्चित बन्दै गएको छ । 

आइतबारको मन्त्रिपरिषदको बैठकमा खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गर्ने कुरा नउठाएपनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सो विषयमा कुरा गरेपछि गौतमले एकाएक आफू राष्ट्रिय सभामा जाने बताएर ओलीको सो सोच र तयारीमा बाधक बनेका हुन् । ‘उहाँले म राष्ट्रिय सभाका लागि तयार छु भन्नुभएको छ । राष्ट्रिय सभामा लाने हो भने पार्टीको निर्णयलाई सम्मान गर्न तयार छु समेत भन्नुभएको छ,' गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने ‘दलीय व्यवस्थामा प्रधानमन्त्रीको विशेष अधिकार भन्ने हुँदैन । प्रधानमन्त्री र मन्त्रीहरू दलको अधिनस्थ हुने हो। प्रधानमन्त्री दलकै नेता हुन्छ । पार्टी निर्णय कार्यान्वयन हुनपर्छ म त्यसको लागि तयार छु भनेर उहाँले भन्नुभएको छ ।’

गौतमका यी भनाई सार्वजनिकसँगै ओलीलाई धर्मसंकट परेको छ । आन्तरिक विवाद सुल्झाउन बनेको कार्यसमितिले पनि विवाद समाधान गर्न मन्त्रिपरिषद पुर्नगठनसहितको सुझाव दिएको छ । कार्यदलको प्रतिवेदनमामाथि सचिवालय बैठकमा छलफल समेत हुन नपाई ओलीले खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गर्न खोज्दा गौतमले आफ्ना रहर यसरी छताछुल्ल पारिदिएकी जसबाट ओली गौतमलाई चिढ्याउने कि खतिवडालाई साथ लिने भन्ने बारेमा धर्मसंकटमा परेका छन् । 

गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो । तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गरेका छैनन । उनले अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न चाहेका छन् । दुई वर्षे कार्यकाल सकिएपछि खतिवडा अहिले बिना सांसद मन्त्री छन् ।

नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ । खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिदैछ । वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यको उमेदवार बनाउने अर्को निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले वैशाख २० गतेको निर्णयले फागुन ६ गतेको निर्णयलाई खारेज गरेको अर्थमा लिएका थिए ।

अर्थमन्त्रीमा खतिवडाको उदयलाई नेकपाभित्रको विवादको एउटा जडका रुपमा लिइदै आइएको छ । पार्टीभित्र अर्थमन्त्रालय चलाउन सक्ने शक्तिशाली नेताहरु हुँदाहुँदै खतिवडालाई ओलीले काँखी च्यापेपछि पार्टीभित्र विवाद उत्पन्न भएको थियो । नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा पठाउने बेला पनि गौतमलाई राष्ट्रिय सभामा पठाउने भनिएको थियो तर गौतम पटक पटक झै त्यसपटक पनि भकुण्डो जस्तो भएका थिए । अहिले पनि पार्टीको निर्णय कार्यान्वयन गर्नुभन्दा खतिवडालाई नै निरन्तर दिने तयारी थालेपछि गौतमले आफू उपनिर्वाचन नलड्ने बरु राष्ट्रिय सभामा जान चाहेको बताउन थालेका छन् ।

गौतमकी पत्नी तुलसा थापा पनि समानुपातिक सांसद रहेकी छिन् । यतिबेला गौतमका दुवै जनालाई सांसद पद चाहिएको जस्तो देखिएको छ । यसअघि गौतमले राष्ट्रिय सभामा पठाउने भए संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ