arrow

गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो डिभाइस लिन मिश्र जापानमा

मिडियामार्फत मसानघाटबाट कात्रो छुट्याएर मुर्दा जिवित पार्न खोजिएको गम्भिर आरोप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १७ बुधबार
bijaya-mishra-gokul-baskota.jpg

काठमाडौं । तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटाको सत्तरी करोड कमिसन काण्डसँग जोडिएका विजयप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउनु पर्ने अडियो डिभाइस लिन जापान आएको बताएका छन् ।
 
बुधवार एक विज्ञप्ती निकाल्दै मिश्रले अख्तियारलाई बुझाउनुपर्ने अडियो डीभाइस लिन जापान आएको स्पष्ट पारेका हुन् । सुरक्षाको कारण जापानमा राखेको अडियो डिभाइस लिन आफू जापानमा रहेको र जापानबाट नेपाल हवाई सेवा खुल्ने वित्तिकै डिभाइस सहित नेपाल आउने मिश्रले बताएका हुन् ।    

मिश्रले अख्तियारी प्राप्त अनुसन्धान अधिकृत र आफ्नो बीचमा बेलाबेलामा कुराकानी भएको र आफूले दर्ता गरेको निवेदनबाट यो कुरा स्पष्ट भएको उनले उल्लेख गरेका छन् । 

मिश्रले प्रेस विज्ञप्ति जारी गर्दै ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चलानी नं. ८२२९ को आवश्यक सहयोगको लागि भनी अनुरोध गरिएको पत्र मेरो हात परेको कुरामा दुईमत छैन । त्यसै पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनु पर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ । मेरो नेपाल फर्कने फ्लाइट निश्चित भैसकेको अवस्थामा भागेर जापान गयो भन्ने केही पत्रकार साथीहरुले अतिरञ्जित गरी समाचार सम्प्रेषण गर्नु भनेको आफूले गरेको पत्रकारितामाथि विश्वास नगर्नु हो’ भनेका छन् । 

उनले ‘कुनै पनि व्यक्ति राज्यभन्दा ठूलो हुन नसक्ने र राजनीतिको खोल ओढेर भ्रष्टाचार गरी जघन्य अपराधमा संलग्न जो कोही व्यक्ति पनि राज्यका निर्देशित सिद्धान्त र विद्यमान कानूनबाट सजायँको भागिदार हुनुपर्ने कुरा प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित मानवीय सत्य हो ।’ भनेका छन् । 

मिश्रले कोरोनाको महामारीले विश्वव्यापी रुपमा असर गरेको र नेपालमा पनि त्यसको प्रभाव परेको कुरा सबैलाई जानकारी भएकै हो भन्दै हाल यस प्रकरण हेर्ने अधिकृत सरुवा भई नयाँ अनुसन्धान अधिकृतको पदस्थापना भएको अवस्थामा नयाँ अनुसन्धान अधिकृतबाट आफूले सहयोग पाउने आशा राखेको बताएका छन् । राजनीतिक खोल ओढेको सेक्युरिटी प्रेस खरिद प्रकरणको छानबिनलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको समेत मिश्रले बताएका छन् । 

मिश्रले ‘कुनै पनि राजनीतिक व्यक्ति होस् वा सर्वसाधारण भ्रष्टाचारजस्तो राज्य विरुद्धको जघन्य अपराधबाट उम्कन सक्दैन । र प्रतिपक्षबाट जति पनि सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पवित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्री चरित्र नै हो’ भनेका छन् । 

उनले ‘आफूले गरेको सबै ठीक, अर्काले गरेको सबै बेठिक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृत्तिबाट चोखो रहन नसकेको अवस्था छ । त्यस्ता प्रवृत्तिका घटनाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्मानित अदालतलाई समेत अनुसन्धानको दायरामा रहेको घटनालाई बिचलित गर्न पत्रकारिताभित्रको चाटुकारिता जुर्मुराएको मात्र हो ।’

मिश्रले ‘शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्त्यमा सत्यको नै जित हुने कुरामा विश्वस्त छु । यो त केबल न्यायलाई विचलित पार्न र अनुसन्धानलाई फितलो पार्न तथा न्यायप्रेमी, राष्ट्रप्रेमी जनताको ध्यान अर्कैतिर मोड्न गरिएको प्रोपोगन्डा हो ।’ भनेका छन् । 

मिडियामार्फत मसानघाटबाट कात्रो छुट्याएर मुर्दा जिवित पार्न खोज्ने काम भएकोमा भत्सर्ना गर्दै मिश्रले कसैको पक्षमा बोल्नुभन्दा पनि सामाजिक संजालमा राज्यको पक्षमा बोल्न पनि आग्रह गरेका छन् । उनले यसमा राज्यको जित र जनताको हित हुनुपर्ने बताएका छन् । 

मिश्रले कसैको गुणगान गाएर र १० जना फेसबुकमा साथी बनाएर म्यासेज गर्दैमा कोही चोखिन नसक्ने पनि बताएका छन् । 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा मुछिएका छन् । उनले खरिदका लागि ७० करोड घुस मागेको समेत मिश्रसंगको वार्ताबाट खुलेको थियो । 

उक्त काण्डको अडियो टेप हाम्राकुराले पहिलोपटक सार्वजनिक भएको थियो । यो काण्ड बाहिरिएपछि दवावमा परेर बाँस्कोटाले पदबाट राजीनामा दिनु परेको थियो । 

सरकारले भने यो विषयमा कुनै छानबिन गरेको छैन । अख्तियारले पनि बाँस्कोटलाई चोख्याउने गरि अघी बढेको पाइएको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई आफूले नचिन्ने र शून्य सहनशिलता अपनाउने भनेपनि अहिलेसम्म बाँस्कोटा भने ओलीकै घरमा बस्दै आएका छन् । 

राज्यशक्तिकै आडमा बाँस्कोटाले सामाजिक संजालमा सक्रिय हुनेदेखि मिडियामा अन्तर्वार्ता दिएर चुनौती दिँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ