ललितपुरमा शुक्रबार कर्फ्यु, प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १८ बिहिबार
527
Shares
काठमाडौं । रातो मछिन्द्रनाथको रथ यात्राका विषयमा झडप भएपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार ललितपुरमा कर्फ्यु लगाउने भएको छ ।
शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको चक्रपथ क्षेत्रमा कर्फ्यु लगाउने निर्णय जिल्ला प्रशासन कार्यालय ललितपुरले गरेको हो ।
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।
तर, निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्रा तान्न थालेपछि बिहीबार दिउँसो प्रहरी र स्थानियबीच झडप भएको थियो ।
उक्त विषयमा शुक्रबार समेत झडप हुन सक्ने स्थितिको आँकलन गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
यसैबीच बिहीबारको झडपमा प्रहरीमाथि कुटपिट गर्ने ९ जना पक्राउ परेका छन् । जावलाखेल प्रहरीका अनुसार ललितपुरका ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथबिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य रहेका छन् ।
त्यस्तै भक्तपुरका श्याम श्रेष्ठ र काठमाडौंका ४० वर्षीय यादवलाल कायस्थ पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।