arrow

यसरी मनाउँदैछन् डा चन्द्र भण्डारीले दशैं, भन्छन् –पैसा भएर हुन्न दिल चाहिन्छ

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा चन्द्र भण्डारीले विगतका ६ वर्षसम्म निरन्तर ६ सय जना बालबालिकासँग रहेर दशैं मनाए । उनको गृहजिल्ला गुल्मीका विभिन्न स्थानका ६ सय बालबालिकाको जिम्मा लिएर उनीहरुलाई चाहिने अत्यावश्यकीय सामग्री प्रदान गर्नुका साथै हरेक वर्षको दशैंको प्रतिक्षा गराउँछन् । 

उनी भन्छन्, ‘कोही त आउँदैछ दशैंमा भन्ने ती गरिब, असहायलाई पार्न सकियो भनेमात्रै पनि दशैंको सार्थकता हुने थियो । आशा जगाउने हो भने उनीहरुले पनि भोलिका दिनमा धेरै गर्न सक्नेछन् ।’

डा. भण्डारी अगाडि थप्छन्, ‘हामी एक जनाले एक जनाको मात्र जिम्मा लिने हो भने पनि कोही भोकै पर्दैनन् र कसैको भविष्य अन्धकार हुँदैन । त्यसैले म भन्छु पैसा भएर हुन्न दिल चाहिन्छ ।’ 

उनले यसअघि लगातार छ वर्षसम्म गुल्मीका सीमान्तकृत तथा अल्पसंख्यक बोटे, माझी र दलित समुदायसँगै दशैंं मनाए । दशैंको टीकाको दिन उनी ती समुदायसँग टीका लगाई रमाइलोमात्र गर्दैनन् आवश्यक पर्ने सामग्रीसहितको उपहार पनि दिने गर्छन् । 

ती समुदायका विद्यार्थी बालबालिकाहरुलाई डा भण्डारीले उपहार स्वरुप शैक्षिक सामग्री तथा छात्रवृत्तिसमेत प्रदान गर्दै आएका छन् । 

दशैंको टीका कार्यक्रम उनीहरुको परिवारमा मात्र सीमित हुन्न सिङ्गो गाउँ नै सहभागी हुन्छ । त्यहाँ कुनै जातभात वा वर्ग समूहमा विभक्त हुँदैन । 

विपन्न परिवारको घरमा दशैंको खुशी थपेर भाइचाराको नयाँ संस्कृति सुरुवात त उनले गरेकै छन् त्यसमा पनि उनी थप्छन्, ‘कम्तीमा एक जनाले एक विपन्न विद्यार्थीको जिम्मा लिने हो भने उसको भविष्य सुनौलो हुन्थ्यो भन्ने सन्देश दिन पनि खोजेको हुँ ।’

डा भण्डारी भन्छन्, ‘दशैं तिहार जस्ता चाडपर्वले परिवारलाई अवश्य पनि खुशी दिन्छ तर त्योसँगै गाउँ समाजलाई पनि जोड्न सक्ने हो र गच्छेअनुसार अरुलाई सघाउने भावना उत्पन्न हुने हो भने दुनियाँ नै खुशी हुन्थ्यो भन्ने मेरो कामना हो ।’

नेताहरुले जनताको अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा जनता दुःखी हुँदै गएको बुझाइ राख्ने भण्डारी आफ्ना जिल्लाका नागरिकसँग सहकार्य गर्दै जिल्लाको विकास गर्ने नेताका रुपमा अब्बल सावित भएको स्थानीय बताउँछन्  । 

उनले थालेको अभियानबाट ६ सय विद्यार्थीहरु लाभान्वित हुँदै आएका छन् । तर यसपटक ५९७ जनामात्र हुनेछन् । उनले दुःख बिसाउँदै भने, ‘तीन विद्यार्थी पहिरोमा परी मरे । दुःखी छु ।’

यसपटक कस्तो हुनेछ डा. भण्डारीको दशैं ?
कोरोना भाइरसको महामारी र उनका बाबु ईश्वरीप्रसाद भण्डारी बितेकाले आफू दशैं मनाउँदै छैनन् । 

कांग्रेस नेता डा चन्द्र भण्डारीलाई पित्रृशोक 

उनी यसपालि गुल्मी जिल्ला पनि जाने छैनन् । भने, ‘म शोकमा छु । म जिल्ला जान्न । काठमाडौंमै हुन्छु । तर मैले दशैं नमनाउँदैमा मेरो अभियान रोकिन्न । ती विद्यार्थीको मुहारको हाँसो रोकिन्न । समिति बनाएको छु । त्यो समितिले काम गर्छ । नमूना दशैं यसपटक पनि नमूना नै हुन्छ ।’

डा.भण्डारीका अनुसार नवमीका दिन पाँच स्थानमा र दशमीका दिन एक स्थानमा गरी छ स्थानमा दशैंको टीका लगाइदिने कार्यक्रम रहेको छ । 

अनन्त पौडेलको अध्यक्षतामा गठित समितिले नै यो कार्य गर्ने डा भण्डारीले बताए । नवमीका दिन वुवाकोट ढेब्दी, रुपाकोट, बालविकास केन्द्र मजुवा, आँटीपाटा बम्घा (जहाँ तीन बच्चाको ज्यान गएको थियो) र बम्घाकै लक्ष्मी निमाविमा टीका लगाउने कार्यक्रम रहेको छ । त्यस्तै दशमीका दिन बलिथुमको विद्यालयमा टीका लगाइदिने कार्यक्रम रहेकोछ । 

सातौं वर्ष यसले निरन्तरता पाउने डा. भण्डारीले बताए । उनले समितिले आवश्यकता अनुसार उपहार दिने र खाना खुवाउने कार्यक्रम रहेको बताए । 

डा. भण्डारीको यो सत्कर्ममा सत्यनारायण केबल, राजकुमार बस्नेत, निरु मल्ल लगायतले सहयोग गरिरहेका छन् । यसपटक पनि उनीहरुले समितिलाई रकम पठाइदिएको डा भण्डारीले ताए । 

अन्त्यमा उनले भने, ‘व्यक्तिले आफूलाई खुशी बनाउन चाडपर्व मनाउँछन् । तर जनताप्रति अभिभावकत्व दिँदैनन् । मैले सुरुआत गरेको हुँ । मैले सबैलाई घर बनाइदिएको छु । बोटे, माझी लगायतका आर्थिक कमजोरी भएकालाई सुरु गरे पनि अन्य जातजाति तथा समुदायलाई पनि सहभागी गराइएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ