arrow

चौरसिया हत्या प्रकरणः एसपी पन्तले दर्ता नगरेको जाहेरी सरकारी वकिल कार्यालयले गर्‍यो

राजकुमार गुप्तासहित ११ विरुद्ध किटानी जाहेरी, शुक्रबार पोष्टमार्टमपछि अन्त्येष्टि गरिने

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
parsa-hatya-ncp.jpg

पर्सा। नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएकै झडपमा परि जीवन गुमाएका गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा आफन्तहरुले दर्ता गर्न खोजेको किटानी जाहेरी प्रहरीले नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयले ८औं दिन दर्ता गरेको छ। पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले किटानी जाहेरी नलिएरै ८ दिन झुलाएकी थिइन । स्वयं सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र विपक्षी नेपाली कांग्रेसले यस बिषयमा बिज्ञप्ती निकालेका थिए भने आफ्नत सहितका नेकपाका कार्यकर्ताहरुले हरेक दिन प्रदर्शन गरेका थिए। तर पनि पन्त टसको सम नभएपछि बिहिवार सरकारी वकिल पदम बहादुर कार्कीले सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गरेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा निकट र इतर पक्षबीच झडप हुँदा मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियालाई न्याय दिलाउन पर्सा जिल्ला प्रशासन अघी हरेक दिन प्रदर्शन हुँदै आएको थियो। नेकपा प्रदेश नम्बर २ का सहसंयोजक नगेन्द्र चौधरी र नेकपा पर्साका इन्चार्ज रामचन्द्र साह प्रदर्शनको नेतृत्व गर्दै आएका थिए । मृतकका आफन्तहरुले पार्टी सचिव चौरसियाको हत्याको योजनाकार नेकपाकै पूर्व सांसद राजकुमार गुप्तालाई कार्वाहीको माग गर्दै किटानी जाहेरी दिन जाँदा प्रहरी प्रमुख पन्तले लिन मानेकी थिएनन् । उनले गुप्ताको नाम हटाएर ल्याए मात्र जाहेरी दर्ता गर्ने अडान लिदा पिडितहरुले मृतकको शब पनि उठाएका थिएनन्। बिहिवार मृतकका आफन्तहरुले मुख्य योजनाकारका रुपमा आरोपित गुप्ता, लक्ष्मण चौरसिया, संजय चौहान, अखिलेश चौरसिया, अनिश मियाँ, महेश कुमार चौरसिया, वकिल मियाँ सहित ११ जना बिरुद्ध चौरसियाको हत्यामा जिम्मेवार भएको भन्दै किटानी जाहेरी दिएका छन् ।  

गत बिहिवार गम्भिर घाइते भइ अस्पताल भर्ना भएका चौरसियाको स्थानिय न्यूरो अस्पतालमा निधन भएको थियो। उनको निधन लगत्तै आफन्तहरुले गत शुक्रवार नै किटानी जाहेरी दिन जाँदा लिइएको थिएन। गुप्ताको योजनामा हत्या भएको किटानी जाहेरी नलिइएपछि स्थानियहरु सडक प्रदर्शनमा उत्रिएका थिए । प्रधानमन्त्री केपी शर्मा निकट गुप्तालाई बचाउन एसपी पन्त लागिपरेको आरोप स्थानिय तथा चौरसियाका आफन्तहरुले लगाएका थिए । प्रहरीले प्रधानमन्त्रीको सचिवालयबाट आएको फोनका कारण जाहेरी नलिएको प्रहरी स्रोतलाई उदृत गर्दै नेकपा पर्साका नेताहरुले बताएका थिए । किटानी जाहेरी नलिएपछि आफन्तले चौरसियाको शब नबुझ्दा नारायणी अस्पतालको शबगृहमा आठ दिनदेखि रहेको छ । चौरसिया हत्या प्रकरणमा प्रहरीलाई राजनीतिक गोटी बनाएर निरिह बनाइएको स्थानिय बुद्धिजिवीहरुले बताएका छन् । 

नेकपा पर्साले विन्दवासनी गाउँपालिकामा बिहीबार आयोजना गरेको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा निकट तथा इतर पक्षबीच पक्षबीच झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका थिए । कार्यक्रमस्थलमा गाउँपालिका अध्यक्ष र सचिवबीच विवाद हुँदा उग्ररुप लिएको थियो । चौरसियाको निधन पछि नेकपा हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको थियो।

जाहेरी दर्तासँगै शुक्रवार विहान ९ वजे मृतक चौरसियाको शबको पोष्टमार्टम गरि ११ वजे दाहसंस्कार गरिने नेकपा पार्साका इन्चार्ज रामचन्द्र साहले जानकारी दिएका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ