नेकपा सरकारको राज्यआतंकविरुद्ध उत्रिन नेविसंघको आव्हान, ओझालाई तत्काल छाड्न माग
‘सरकारको एक पछि अर्को पञ्चायतकालीन मानसिकता र गतिविधिले संघलाई आक्रोशित बनायो’
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
696
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले आफ्ना नेता दीपक ओझालाई बिना कारण गिरफ्तार गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । गत बुधबार ओझालाई बिनाकारण कैलालीको अत्तरियाबाट गिरफ्तार गरिएको घटनाप्रति खेद व्यक्त गर्दै नेविसंघले बिनाकसुर सत्ता र शक्तिको आडमा प्रहरी प्रशासन मार्फत नेबिसंघका नेताहरुलाई धरपकड, पक्राउ र यातना दिइनु नेकपा सरकारको अत्यन्त अमानवीय र निन्दनीय रबैया भएको आरोपसमेत लगाएको छ ।
नेविसंघले राजनीतिक प्रतिशोधका आधारमा संघका नेताहरुलाई पक्राउ गर्ने, झुटा मुद्दा लगाउने र विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने तथा विभिन्न घटनामा नेपाल विद्यार्थी संघलाई लाञ्छित गर्ने, पार्टी नेताहरूलाई बदनाम गर्ने जस्ता सरकारको एक पछि अर्को पञ्चायतकालीन मानसिकता र गतिविधिले संघलाई आक्रोशित बनाएको अध्यक्ष राजिब ढुङ्गानाले बताए ।
अध्यक्ष ढुङ्गानाले भने, ‘गत असोज १७ गते नै दिनको ३ः३० बजे बुद्ध एयरको फ्लाइट बाट धनगढी गएको र निरन्तर संगठनको गतिविधिमा सहभागी भइरहेको अबस्थामा नेबिसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझालाई कैलालीबाट पक्राउ गरिनु राज्य आतंकको नमुना हो।’
त्यसैगरी संघका महामन्त्री बलदेब तिमल्सिनाले नेता ओझाको तत्काल रिहाइको निम्ति माग गर्दै देशभर राज्यआतंक र प्रहरीको ज्यादतिका विरुद्ध कडा संघर्षमा उत्रन पनि संघका सबै तह र निकायलाई आव्हान गरेका छन् ।