केपी शर्मा ओली सरकार चीनको नाकाबाट मालसामान सहज बनाउन असफल, वातावरण मिलाउन आग्रह
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
602
Shares
काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले नाकामा रोकिएका सामान सहजरूपमा ल्याउने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालयका मन्त्री तथा विभिन्न पार्टीका शीर्षस्थ नेतालाई भेटेर ध्यानाकर्षण गराए पनि सामान ढुवानीमा सहज नभएको बताए। “महासङ्घको ध्यानाकर्षणपछि केरुङ, तातोपानीलगायतका नाका खुला भए पनि मालवस्तु सहजरूपमा नेपाल भित्रिन सकेका छैनन्”, उनले भने ।
चीनले अहिले दिनमा एक–दुईवटा मात्र कन्टेनर नेपाल भित्रिन दिएर अवरोध गरिरहेको भन्दै कूटनीतिक वार्तामार्फत सहजरूपमा कन्टेनर नेपाल ल्याउने वातावरण मिलाउन महासङ्घले आग्रह गरेको छ ।
महासङ्घले अहिले पनि नाकामा धेरै कन्टेनर रोकिएको भन्दै नाकामा रोकिएका कन्टेनर सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण नगरे नाकामै धर्ना बस्ने बताएको छ ।