arrow

दार्चुलाको व्यासमा हिमपात, ह्वात्तै बढ्यो चिसो

logo
नरेन्द्रसिँह कार्की,
प्रकाशित २०७७ मंसिर २ मंगलबार
Darchula-snow.jpg

दार्चुला । दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार  हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँ समेत परेको छ । 

हिउँ पर्न थालेपछि चिसो निकै बढेको व्यास– १ छाङ्रुका योगेश बोहराले जानकारी दिए । उनले भने “पाँच छ इन्च हिउँ गाउँमा जमेको छ । हिमपातका कारण चिसो बढेको छ । हिमपातका कारण यहाँको दृश्य मनोरम भएको छ ।”

चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्रुको कुञ्चा भने यही मङ्सिर १९ गते मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताए ।

जिल्लाका व्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दैछन् ।  उनीहरु नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् ।  गत चैतदेखि नेपाल भारत सीमा नाका बन्द छ । व्यासीहरु आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिए ।

गत जेठमा पनि व्यासीहरु भारतीय भूमि प्रयोग गरेर छाङ्रु तिङ्कर उक्लिएका थिए । सरकारले व्यासीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न बाटो बनाउन नसकेपछि उनीहरुले पुनःविदेशी भूमिको प्रयोग गर्नुपरेको हो । सरकारले व्यासको छाङ्रु तिङ्करका नागरिकलाई आफ्नो भूमि मार्फत आवतजावत गराउन घाँटीबगरको ५५० मिटर घोडेटो बाटो निर्माण गर्‍यो । सो स्थानमा बाटो बनेपनि त्यो भन्दा अप्ठ्यारो ठाउँ रहेको तम्बाकु भीरमा बाटो बन्न सकेको छैन ।  स्थानीयवासीले अहिले पनि भारतीय बाटो प्रयोग गर्नुपरेको सचिव बुढाथोकीले बताए ।  

छाङ्रु र तिङ्कर गाउँमा बसोबास गर्ने व्यासी, सौका समुदाय मङ्सिरको पहिलो साताबाट खलङ्गा झर्ने तयारीमा छन् । सीमा रक्षक भएर बस्दै आएका दुबै गाउँका स्थानीय हिमपात र चिसो बढेसँगै बेँसी (सदरमुकाम खलङ्गा) झर्ने तयारीमा छन् । 

गत जेठ महिनामा व्यास उक्लिएका सौका समुदायका ६० परिवार पशु चौपायासहित यही मङ्सिर ३ गते औल अर्थात खलङ्गा झर्दैैछन् । उनीहरु मङ्सिर ८ गते मात्रै खलङ्गा पुग्नेछन् । यस्तै १०५ परिवार मङ्सिर १९ गते व्यासबाट हिँड्ने तयारी गरेको जनाइएको छ ।  व्यासीहरु अहिले खेतीपाती लगाएर खलङ्गा झर्न थालेका हुन् । नेपालतिरको कल्जुदेखि तम्बाकु भीरसम्म बाटो अप्ठ्यारो छ । यो ठाउँमा पशु चौपायासहित कुञ्चा आउन सक्ने अवस्था नभएपछि भारतीय पक्षसँग समन्वय गरेर भारतीय बाटोको प्रयोग गर्दै खलङ्गा आउन लागेको उनले बताए ।

व्यासीहरु छाङ्रुको गागाबाट सीता पुल पार गरेर खलङ्गा आउने छन् । भारतीय बाटो हुँदै खलङ्गासम्म पुग्दा पनि यात्रा भने त्यति सजिलो हुँदैन् । आफ्नो भूमि भएर बाटो नै बनाउन नसकेपछि स्थानीयवासीले फेरि पनि भारतलाई नै आग्रह गर्नुपरेको व्यासी बताउँछन् । उनीहरु छाङ्रुबाट पहिलो दिन गव्र्याङ, दोस्रो दिन लामारी, तेस्रो दिन निजाङ, चौथो दिन गर्वाधार, पाचांै दिन एलागाड हुँदै छैठाँैं दिनमा सदरमुकाम खलङ्गा पुग्नेछन् । व्यासीको बसाइसराइलाई स्थानीय भाषामा कुञ्चा भनिन्छ । 

विगतमा नेपालतिर घोरटो बाटो राम्रो थियो । कैलाश मानसरोवर तीर्थ यात्रा जाने तथा तिब्बतको व्यापार गर्ने बाटो यही थियो । त्यो बाटो झण्डै २०५९÷६० सालसम्म चल्यो । त्यसयता बनेका सरकारले लगानी लगाए तर बाटो बनाएनन् । 

बाटो निर्माण मर्मतको नाममा वर्षेनी बजेट खर्च भयो तर आउँदा जाँदा भारतकै भूमि प्रयोग गर्नुपर्छ । पछिल्लो समय पनि सङ्घीय, प्रदेश सरकार, महाकाली नदी नियन्त्रण आयोजना र व्यास गाउँपालिकालगायतका कार्यालयबाट बाटोमा खर्च भइरहेको छ । 

समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको सो गाउँमा हिमपात हुने भएका कारण जाडो छल्न आउनुपर्ने स्थानीयवासीको बाध्यता छ । यहाँका स्थानीयवासी कुञ्चा सर्दा सम्पूर्ण परिवारको साथै पशु, खाने रासन, कपडा र भाँडाकुडासहित आउने गर्छन् । 

खेतीपाती लगाएर आएका व्यासी पुनः वैशाख, जेठमा खेतीपाती भित्र्याउन उक्लन्छन् । स्थानीय वर्षको एक पटक उवा, नप्पल, तिते फाँपर, पल्ती र आलु जस्ता बाली लगाउने गर्छन् । यस क्षेत्रमा बसोबास गर्ने स्थानीयको मुख्य पेशा कृषि र व्यापार हो । व्यासको छाङ्रु र तिङ्करमा मात्रै झण्डै हजार बढी मानिसको बसोबास छ । परापूर्वकालदेखि नै व्यासीहरुको दोहोरो बसाइ हुँदैआएको छ । उनीहरुको घर, जग्गा जमीन सदरमुकाम खलङ्गामा समेत छ । उनीहरुले व्यासको छाङ्रु, तिङ्कर जस्तै खलङ्गामा तिङ्कर छाङ्रुको बसाइँ छुट्टाछट्टै बसालेका छन् ।

फोन अवरुद्ध
दुई दिनदेखि परेको हिमपातका कारण व्यासको छाङ्रुमा रहेको नेपाल टेलिकमको स्काइ फोन सेवा अवरुद्ध भएको छ । हिमपातले स्काइको टावर रहेको क्षेत्र ढाकेपछि फोन सेवा अवरुद्ध भएको हो । “दुई दिनदेखि फोन लाग्न सकेको छैन्”, स्थानीय योगेश बोहराले भने, “भायानेटमार्फत खलङ्गामा सञ्चार भइरहेको छ । टावर रहेको ठाउँमा हिउँले पूरै ढाकेको छ ।” सोलारपाता नै ढाकिएपछि स्काइ फोन लाग्न सकेको छैन । यो क्षेत्रमा नमस्तेको टावर जडान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ