arrow

नेपाल कम्युनिस्ट पार्टीभित्र इतरलाई गलाउने रणनीति, अभाव आत्मआलोचनाको

मंगलबारको सचिवालय बैठकमा ओली र प्रचण्डका प्रतिवेदनमाथि घनिभूत छलफल

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ मंसिर १५ सोमबार
oli-prachanda-ncp-meet.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा सार्वजनिक भएपछि आपसमा भिडन्तको स्थिति देखिएको छ । दुवै अध्यक्षले एकले अर्कोलाई पोल खोलेर होच्याउने र आफू नै सर्वश्रेष्ठ रहेको दावी पेश गरेका छन् । 

तर एक अध्यक्षले एउटै पार्टीको अर्को अध्यक्षका पोल खोलेपछि आफूहरु दुवै जना नांगिएको पत्तो पाएनन् । दुवै कतिसम्म कुण्ठित रहेछन् भन्नेसमेत यी प्रतिवेदनले स्पष्ट पारेका छन् । को त्यागी र को राष्ट्रवादी भन्नेसमेत छर्लङ्ग भएको छ । 

यी नेताहरुका राजनीतिक प्रतिवेदनउपर नेताहरुका टीकाटिप्पणी जारी रहेका छन् । प्रचण्डले कार्तिक २८ गते र ओलीले प्रतिवेदन तयार गर्न १० दिनको समय मागेर मंसिर १३ गते प्रतिवेदन तयार पारेका हुन् । दुवैका राजनीतिक प्रतिवेदन भने थिएनन् । केबल आरोप–प्रत्यारोप र मैमात्र ठूलो भन्ने भावनाबाट प्रेरित रहेका छन् । 

यसमा स्पष्ट खेमा छुट्टिएको छ । छुट्टाछुट्टै प्रतिवेदनमा एकअर्कालाई विग्रहको आरोप लगाएपछि दुबै खेमामा एकअर्कालाई गलाउने रणनीति सुरु भएको छ । उनीहरुको कार्यशैलीमाथि टिकाटिप्पणी चलिरहँदा खेमा पनि सोही अनुसार अगाडि बढेको पाइएको छ । 

पार्टी विधानअनुसार अध्यक्षद्वयको सहमतिमा प्रस्तावहरु पेश गर्नुपर्ने प्रावधान छ । तर त्यसो हुन नसकेपछि अब अन्ततः पार्टी विग्रहमा पुग्ने चेतावनीसमेत दिइएको छ । 

नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीद्वारा प्रतिवेदन पेश (पूर्णपाठ)

प्रचण्ड पक्षका कुराहरु सुन्दा कतिसम्म हेपिएर र सहेर बस्ने भन्ने आवाज स्पष्ट आउँछ । किनकि ओलीले पार्टीदेखि सरकारसम्म एकलौटी गर्न खोजे ।

प्रचण्डको प्रस्ताव कार्यकर्ताको हातहातमा (पत्रसहित)

त्यसकै विष्फोट प्रचण्डले गराएकामा दुईमत छैन । अनि ओली आफू ठूलो पार्टीको अध्यक्ष भएको र माओवादीलाई आफूले काँध थापेर पार्टी एकता गराएको भन्ने अहम् छ । 

यही अहम् र भ्रमबीच पार्टी विग्रह नजिक पुगेको छ । 

विग्रह जोगाउन प्रयास 
दुई वटा प्रतिवदेन हेर्दा पार्टी एक मिनेट पनि एकवद्ध भएर अगाडि नबढ्ने पक्का छ । तर दोस्रो तहका नेताहरुलाई भने विग्रहको चिन्ता छ । किनकि पार्टी विग्रह हुँदा उनीहरुको अहिलेसम्मको मेहनत खेर जान्छ । 

उनीहरुका पनि पार्टी नेतृत्व गर्ने र ठूलो पार्टी भए देशको प्रधानमन्त्री हुने आकांक्षा हुन्छ । पार्टी फुटे सम्भवतः त्यो अवसर कसैलाई पनि नआउन सक्छ । 

त्यही कारण पनि प्रचण्ड र ओली बाहेकका नेताहरु कसरी एकवद्ध भएर जान सकिन्छ भनी लागिरहेका छन् । उपाध्यक्ष बामदेव गौतमले त दुई अध्यक्षले समस्या ओकलेको भन्दै अब विकल्प केबल समाधानको बाटो पहिल्याउनु भएको बताएका छन् । 

ओली पक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन भनिरहेको छ । तर प्रचण्ड भने ओलीले आरोप मात्र लगाएको र आफूले गरेको गल्तीको एहसास नगरेको बताएका छन् । 

आपसमा आरोप पत्यारोपले समस्या जस्ताको तस्तै रहने भन्दै अब सचिवालय हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीमा गएर विवाद टुंगिने दावी पनि नेताहरुको छ । 

सचिवालय बैठक मंगलबार बस्दैछ । त्यसपछि सचिवालय र केन्द्रीय कमिटी बस्नेछ । 

अब दुवै अध्यक्षले नेतृत्व नसम्हाल्ने सम्भावना
जुन आरोप प्रत्यारोप भएको छ त्यसले दुवै नेताको शाख गिरेको छ । प्रचण्डले आफ्नो मनको कुन्ठा निकाले र ओलीले त्यसलाई खारेज गरिदिए । उनीमाथि लागेका भ्रष्टाचारका आरोप उनले खारेज गर्दैमा खारेज हुने होइन । 

प्रचण्डले गरेका गल्तीका पुलिन्दा ओलीले क्षमा दिँदैमा क्षमा हुने होइन । आरोपलाई माफी दिन सकिएला । तर जब राष्ट्र र जनता जोडिन्छन् त्यसपछि स्वभावतः त्यो मुद्दा व्यक्तिगत हुँदैन । कुनै पार्टीको हुँदैन । प्रचण्ड र ओली त्यही कित्तामा पुगेका छन् । 

ढाँट र छलछाम नगरी बोली र निर्णयको इमान राख्ने हो भने नेकपाको आगामी चैतमा एकता महाधिवेशन हुँदैछ । त्यही महाधिवेशनबाट दुवै अध्यक्षले विश्राम लिनुपर्नेछ । 

ओलीले त आफूले छाड्ने भनिसके । अब त उनको स्वास्थ्यले पनि साथ नदेला । तर प्रचण्डलाई एकल अध्यक्ष बन्ने रहर छ । ओली भने आफूसँगै सति जानुपर्नेमा जोड गरिरहेका छन् । 

पार्टी एकता टिकाइराख्न दोस्रो तहको नेता पार्टी अध्यक्ष बन्नुपर्नेमा जोड आइरहेको छ । पूर्व प्रधानमन्त्री एवं पूर्व एमाले अध्यक्षद्धय माधवकुमार नेपाल र झलनाथ खनालसमेत बाहेक गरी दोस्रो तहबाट अध्यक्षका लागि जोड भइरहेको छ । 

यसो भएका खण्डमा उपाध्यक्ष बामदेव गौतम, सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल लगायतको सम्भावना प्रचूर रहेको छ । त्यही अभ्यासमा बामदेव अगाडि बढेका छन् । 

प्रचण्ड पनि बामदेवको पक्षमा राजी हुन सक्ने सम्भावना छ । एमालेकै पूर्व उपाध्यक्ष समेत रहिसकेका बामदेव नै उपयुक्त हुन सक्ने सम्भावना देखिएको छ । ईश्वर र विष्णुले ओलीको मात्र गुणगान गाइरहँदा बामदेव भने जहिले पनि बीचमा हुने गरेका छन् । 

एमाले र माओवादीबीच पार्टी एकता गराउन सबैभन्दा महत्वपूर्ण भूमिका खेलेका बामदेवमा सहमति जुट्ने सम्भावना देखिन्छ । यद्यपि माधव नेपाल भने त्यसै छाड्ने मनस्थितिमा अझै पनि देखिँदैनन् । उनले प्रचण्डसँग सहकार्य गरेको अध्यक्ष हुनकै लागि भएको पनि बुझिन्छ । 

मंगलबार ओली र प्रचण्डका राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै गर्दा दुवै नेताहरुले कत्तिको आत्मआलोचना गर्छन् त्यसबाटै नेकपाको भविष्य कोरिने समेत विश्लेषण गरिएको छ । 

दुवै नेताले आत्मआलोचना गरेका खण्डमा मात्र पार्टी जोगिने अधिकांशको ठहर छ । 

सचिवालयमा प्रचण्डको बहुमत छ । तर ओली यसलाई नकार्दै आइरहेका छन् । सचिवालय मात्रै सबै हैन भनिरहेका छन् । ओली पक्षकै महासचिवव पौडेलले त मुखै फोडेर सचिवालय आरोप प्रत्यारोप गर्ने थलो बनेको भनी आलोचनासमेत गरिसकेका छन् । 

नौं सदस्यीय सचिवालयमा अध्यक्षद्धय ओली र प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, र्ईश्वर पोखरेल, रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ