arrow

राजावादीहरुको जुलुसमा को को छन् ?

logo
प्रकाशित २०७७ मंसिर १८ बिहिबार
rajabadi.JPG

काठमाडौं । वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकिरहेका अवस्थामा पूर्वराजावादीहरुले पछिल्लो समय राजसंस्था पुनस्र्थापनाको माग गर्दै सडक तताउन थालेका छन् । उनीहरुले विगत एक महिनादेखि ‘राजा आउ देश बचाउ’ भन्दै देशका विभिन्न सहरमा जुलुस र र्याली निकालिरहेका हुन् । काठमाडौंमा गत मंसिर १५ गते जुलुस निकालेका उनीहरुले पुनः मंसिर २० गते पनि जुलुस निकाल्ने बताएका छन् । 

एकाएक पछिल्लो समय राजसंस्थाको नारा घन्किन थालेपछि केपी शर्मा ओली नेतृत्वको सरकार पनि अताल्लिन थालेको छ । काठमाडौंमा कोरोना भाइरसको महामारी हुँदाहुँदै पनि सबैजसो क्षेत्र खुल्ला गरेको जिल्ला प्रशासनले नारा जुलुस गर्दा कोरोना महामारी बढ्ने भन्दै जमघट लगायतका गतिविधिमा बुधबार मंसिर १७ गतेदेखि नै प्रतिवन्ध लगाएको छ । 

गत कार्तिक १७ गते रुपन्देहीको बुटबलबाट सुरु भएको उक्त राजावादीको जुलुस बिस्तारै देशका मुख्य शहरहरुमा पस्ने क्रममा धनगढी, सुर्खेत, डडेलधुरा, नेपालगञ्ज, पोखरा, हेटौडा, विराटनगर, जनकपुर हुँदै काठमाडौंसम्म आइपुगेको छ । राजावादीहरुको जुलुसलाई कट्टर राजावादीमात्र नभएर हालैमात्र राजसंस्था फर्काउने एजेन्डा मिसाएको राप्रपाका नेता तथा कार्यकर्ता पनि रहेका छन् । राजतन्त्र र हिन्दू राष्ट्रकोलागि गरिएका हरेक कार्यक्रममा सहभागी हुन पार्टीले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको राप्रपाका नेता भुवन पाठकले बताए ।

त्यतिमात्र हैन राजावादीहरुले आफूहरुको जुलुसमा सत्तारुढ दल नेकपा समर्थक र प्रतिपक्षी दल नेपाली कांग्रेसका समर्थक समेत रहेको दावी गरेको छ । 

को को सहभागी भएका छन् त जुलुसमा ?
जुलुसमा शाही कालका मन्त्री, शाहीककालका अञ्चलाधीश तथा राजाको प्रत्यक्ष शासनमा विभिन्न ठाउँमा राजनीतिक नियुक्त पाएका र फाइदा लिएकाहरुको बाहुल्यता हुने गरेको छ।  
नेपाली कांग्रेसका पुराना नेता विपिन कोइराला, नेपाल कम्युनिस्ट पार्टीका पुराना तथा बयोवृद्ध नेता मोहन चन्द्र अधिकारी, पत्रकार आदित्यमान श्रेष्ठ, पूर्व अञ्चलाधीश मेहम्मुब साह लगायतका व्यक्तिहरु पनि राजावादीहरुको कार्यक्रममा जाने गरेका छन्। 

राजावादीहरुले विभिन्न ठाउँमा विभिन्न नामबाट कार्यक्रम गर्ने गरेका छन् । राष्ट्रिय शक्ति नेपाल, शिव सेना नेपाल, नेपालको लागि नेपाली, गोरक्ष राष्ट्रिय जागरण, वीर गोरखाली जस्ता नामबाट कार्यक्रम गर्ने गरिएका छन् । जुन नामबाट कार्यक्रम गरिए पनि कार्यक्रममा सहभागी हुनेहरु एउटै प्रकृतिका हुन्छन् ।

मंसिर १५ गते काठमाडौमा गरिएको कार्यक्रम राष्ट्रिय शक्ति नेपालको नामबाट गरिएको थियो । जुन संस्थाको अध्यक्ष केशरबहादुर विष्ट हुन् । विष्ट यसअघि शाही कालमा मन्त्री भएका थिए। यसैगरी शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत तथा गोरक्ष राष्ट्रिय जानगरणका अध्यक्ष किशोर गुरुङ हुन् ।  

राजावादीहरुले गरेका कार्यक्रममा राप्रपाका केन्द्रीय तहका नेताहरुसमेत उपस्थिति हुने गरेका छन् । एउटा कार्यक्रममा सहभागी भएकाहहरु अर्को कार्यक्रममा पनि पुग्ने गरेका छन् । त्यसैले एउटा कार्यक्रम र अर्को कार्यक्रम एक दुई दिनको फरक पारेर गर्ने गरिएका छन् । एउटा कार्यक्रम सिद्धिने बित्तिकै ‘सक्रिय राजावादीहरु’ विभिन्न माध्यममबाट अर्को कार्यक्रममा सहभागी हुने गरेका छन् ।

शुक्रबार हेटौँडामा राप्रपा आफैले कार्यक्रम गर्ने भएको छ । यसैगरी मंसिर २० गते झापामा पनि राप्रपाले कार्यक्रम गर्न लागेको राप्रपाका नेताहरुले जनाएका छन् । कार्यक्रममा राजावादीहरुले हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा चर्को नारा लगाउने गरेका छन् । उनीहरुले राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर जस्ता नारा लगाउने गरेका छन् ।

अहिले देश कोरोनाको महामारीबाट आक्रान्त भएको बेला राजावादीहरुले जुलुस निकाल्ने गरेका छन् । उनीहरुले जुलुस यस्तो बेला निकालेका छन् जुन बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी गम्भीर विवादमा परेको छ । 

सरकारको कार्यशैलीप्रति जनता धेरै निराश छन् । संकटको बेला सरकारले काम गर्न सकेको छैन । यस्तो बेला जनतामा व्यवस्थाप्रति नै  निराश जगाउने उद्देश्यबाट राजावादीहरुले निरन्तर देशभर कार्यक्रम गरिरहेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ