पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
रासस,
प्रकाशित २०७७ मंसिर २० शनिबार
428
Shares
काठमाडौं। न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन्।
हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली रही र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली भई ती तीनवटै प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री र अधिकतम तापक्रम २० दशमलव ६ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।