arrow

पोस्टपेड प्रयोगकर्ताको चिन्ता हटाउँदै टेलिकमले दियो सूचना

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
nepal-telecom-building.jpg

काठमाडौं। नेपाल टेलिकमले उपलब्ध गराइरहेको जीएसएम पोस्टपेड मोबाइलका प्रयोगकर्ताले मासिक रेन्टल चार्जको रकम समेत प्रयोग गर्न सक्ने भएका छन्। टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेण्टल शुल्क तिर्दै आएकामा उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा यो रकम फरक हुनसक्ने जनाएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको र यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइने जानकारी दिएको छ।

पछिल्लो समयमा उपलब्ध गराइरहेका विभिन्न प्याकका प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको भन्दै टेलिकमले ग्राहकले प्याक प्रयोग गर्दा यो रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिने पनि जनाएको छ। सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको पनि देखिएको छ।

टेलिकमले नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिने र यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिने जनाएको छ।

कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिने र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइएको भन्दै टेलिकमले कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने भएता पनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको पाइएको निष्कर्ष निकालेको छ।

टेलिकमले उदाहरण पेश गर्दै भनेको छ, ‘कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु. २०० को प्याक प्रयोग गरेको छ भने प्याक वापतको रु. २०० र रेन्टल चार्ज वापतको रु. ३८३.०७ गरी रु. ५८३.०७ तिर्नुपर्छ। मानौ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु. ४०० थियो भने सो रकम समेत काटिएर थप रु. १८३.०७ समेत तिर्नुपर्ने हुन्छ।’

पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको भन्दै टेकिकमले भनेको छ, ‘पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना हुँदैन। सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ। पोस्टपेड प्याक लिनका लागि आफ्नो पोस्टपेड मोबाइलबाटै ८ज्ञद्धज्ञछ८द्द३ डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ।’

यसैगरी पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि ८द्धण्ण्३ डायल गर्न सकिन्छ। सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ । अभाइलेबल क्रेडिट चाहिं अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो। साथै सोही बिल कम्पनीको वेबसाइटमार्फत https://gsmbl.ntc.net.np/ बाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ। कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड युसेज हिस्ट्री मार्फत हेर्न सकिन्छ।

‘नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जिएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा गरिएको छ’, टेलिकमका प्रवक्ता राजेश जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ