arrow

प्रचण्डलाई फकाउन शंकर पोखरेल खुमलटारमा, कार्यकर्ताको भविष्य हेर्न आग्रह

logo
प्रकाशित २०७७ पुष १ बुधबार
Shankar-Pokharel1.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा उभिएपछि दुई अध्यक्षबीचको संवाद खुलाउन शंकर पोखरेलको दौडधुप बढेको छ । अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठकबाट अनुशासनको कारवाही गर्ने तयारी गरिरहेका बेला पोखरेल खुमलटार पुगेका हुन् । उनले दुई अध्यक्ष मिलेर पार्टी सञ्चालन गर्न आग्रह गरेका थिए । पार्टी विभाजन भए आम नेता कार्यकर्ताहरुको भविष्य डामाडोल हुने उनको भनाई थियो । 

प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्को विरोध भइरहेका बेला ओलीले पुन सहमति र छलफलबिनै अध्यादेश ल्याएपछि विवाद थप बढ्ने निश्चित भएका बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल ओलीको दूतका रुपमा खुमलटार पुगेको स्रोतको दावी छ । बुधबारै बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेका छन् । 

पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका प्रधानमन्त्रीले ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने बाटो रोजेपछि शीर्ष नेताहरुले पार्टी विभाजनको तर्फ उन्मुख रहेको बताउन थालेका हुन् । 

मंगलबार दिउँसो मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश जारी भएपछि नेकपाका नेताहरुले त्यसलाई कडा शब्दमा आपत्ति जनाएका थिए । 

तर उनीहरुले यो विषयमा एक पटक स्थायी कमिटी बैठकमा छलफल गर्नुपर्ने भन्दै बुधबारको बैठकको पर्खाइमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ