arrow

सरकारी कार्यालयमै शेयरको कारोबार गर्ने सरकारी कर्मचारीलाई अकुंश  

सिंहदरवारको गेटमै सतकर्ता केन्द्रको अनुगमन टोली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १ बुधबार
SinghDurbar.JPG

काठमाडौ । संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयले कार्यालयभित्रै कार्यालय समयमै शेयरको कारोबार गर्ने कर्मचारीलाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । यसकोलागि मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रलाई अनुगमन गर्न चिठी लेखेको छ । 

केही सरकारी कर्मचारीहरु कार्यालयमा आइसके पछि खटाइएको कामभन्दा पनि शेयरको कारोबारमा सक्रिय हुन थालेको गुनासो आए पछि मन्त्रालयले यस्तो कदम चालेको हो । केही सरकारी कर्मचारीहरु भने कार्यालय समयमै लोकसेवा आयोगको तयारी कक्षामा व्यस्त हुने गरेको पाइएको छ । कार्यालय समयमै लोकसेवा आयोगका तयारी कक्षामा व्यस्त हुने कर्मचारीलाई पनि सरकारले अनुगमन गर्ने भएको छ। सहसचिवभन्दा माथिल्लो तहका कर्मचारीले मन्त्रिपरिषद्बाट तथा सहसचिवभन्दा मुनिका कर्मचारीहरुले संघीय मन्त्रालयबाट स्विकृति लिएर मात्र लोकसेवा आयोगको तयारी कक्षामा अध्यापन गर्न मन्त्रालयले यसअघि नै सर्कुलर जारी गरेको छ । 

निजामती सेवा ऐन २०४९ले तोकिएको निकायबाट स्विकृति लिएर कल्सल्टयाण्ट या तयारी कक्षामा अध्यापन गर्न पाउने व्यवस्था गरेको छ । यसको दुरुपयोग गर्दै माथिल्लो तहका करिब एक चौथाइ सरकारी कर्मचारीहरु कार्यालय समयमै लोकसेवा आयोगको तयारी कक्षामा व्यस्त हुने गरेका छन् । मन्त्रालयले सतर्कतालाई लेखेको चिठीमा सरकारको स्विकृति नलिएर तयारी कक्षमा जाने कर्मचारीहरुको अनुगमन गर्न आग्रह गरिएको छ । सरकारी कर्मचारीहरुलाई  सजिलो होस भनेर अधिकांश तयारी कक्षा सिंहदरवार वरिपरि राखिएका छन्। यस्ता तयारी कक्षा पढाउने इस्टिच्युटहरुले विद्यार्थीहरुको आकर्षण बढाउन सचिव, सहसचिवको फोटो राखेरै विज्ञापन गर्ने गरेका छन् ।

कार्यालय समयमै लोकसेवा आयोगका तयारी कक्षामा जाने सचिव सहसचिवहरुलाई अब कारबाहीको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । तर मन्त्रालयकै केही माथिल्लो तहक कर्मचारीहरु तयारी कक्षमा जाने गरेको पाइएपछि यो पनि देखाउने दाँतमा मात्र सिमित हुने आशंका धेरैको छ । मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले कार्यालय समयमा र कार्यालयभित्रै शेयरको कारोबार गर्ने, अनुमति नलिएर लोकसेवा आयोगका तयारी कक्षामा पढाउन जाने, तोकिएको पोशाक नलाएर कार्यालयमा आउने जस्ता अनुशासन उल्लंघन गर्ने कर्मचारीकोबारेमा अनुगमन गर्न मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रलाई चिठी लेखेको जनाए । ‘निजामती कर्मचारीहरुमा अनुशासनहिनता देखियो । यसलाई अनुगमन गर्न मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रलाई चिठी लखेको हो’अधिकारीले भने । 

यसैवीच, सतर्कताले बुधबार विहानदेखि सिंहदरवार गेटमै बसेर तोकिएको पोशाक नलगाएर कार्यालय आउने कर्मचारीहरुको अनुगमन र निगरानी गर्न शुरु गरेको छ । केन्द्रका कर्मचारीहरु बुधबार विहान कार्यालय समयमा सिंहदरवारको गेटमा बसी पोशाक नलाएका कर्मचारीहरुलाई स्पष्टिकरण सोधेका थिए । स्पष्टीकरण सोधे पछि पनि पोशाक नलगाउने कर्मचारीको हकमा कारबाही गरिने विभागले जनाएको छ । ‘पहिलो दिन स्पष्टिकरण मात्र सोध्यौ । अब पनि अटेर गर्ने हो भने कारबाही गर्छौ’ केन्द्रका एक कर्मचारीले भने । 

निजामती,करार तथा ज्यालादारी कर्मचारीले हरेक वर्ष पोशाकवापत १० हजार भत्ता पाउने गर्छन तर ती मध्ये आधाजसो कर्मचारीले मात्र पोशाक लगाउने गरेको पाइएको छ । पोशाक लगाए पछि कार्यालय समममा कार्यालय बाहिर गइ होटल, रेष्टुरेष्ट, तयारी कक्ष तथा अन्य व्यक्तिगत प्रयोजनमा निस्कन नैतिक रुपमा अप्ठयारो पर्ने भएकाले सरकारी कर्मचारीहरुले पोशाक लगाउन अप्ठयारो मान्ने मन्त्रालय स्रोतको भनाइ छ । मन्त्रालयले कार्यालय समयमा अधिकाश समय कार्यालयभन्दा क्यान्टिनमा समय विताउने कर्मचारीहरुको विषयमा पनि अनुगमन गर्ने जनाएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ