साउदीले लगायो सबै अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमनमाथि प्रतिबन्ध
अरशद शेष राई,
प्रकाशित २०७७ पुष ७ मंगलबार
574
Shares
साउदी अरेबिया । साउदी अरेबियाको आन्तरिक मन्त्रालयले सोमबारबाट लागु हुने गरी आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरेबियामा हुने आवागमन स्थगन गरेको छ । साउदी सरकारले राज्यमा बढ्दो कोरोना प्रभावलाई मध्यनजर गर्दै नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको जनाउँदै आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने जनाएको हो ।
साउदी अरेबियाको आन्तरिक मन्त्रालयको एक आधिकारिक सूत्रको अनुसार प्रतिबन्ध जमीन तथा समुद्री बन्दरगाहहरुको माध्यमबाट राज्यमा यात्रीहरुको प्रवेशमाथि पनि लागु हुने गरी साउदी अरेबिया देशमा आवत जावत गर्ने सबै आवाजाहीलाई पूर्ण रुपमा बन्द गरेको जनाएको छ ।
जबकि आन्तरिक मन्त्रालयको एक आधिकारिक सूत्रको भनाई अनुसार तत्काल लिएको निर्णय तिनै फ्लाइटमाथि लागू हुने छैन जुन अहिले वर्तमानको समयमा आइरहेका छन् ।
यसैगरी साउदी सरकारले अर्को सूचना जारी गर्दै कोभिड–१९ संक्रमण नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ । यो आदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५ हजारसम्म जरिवाना हुने जनाएको छ ।
कोरोना भाइरसको प्रसारलाई मध्यनजर गर्दै साउदी अरेबियाले मार्चमा पनि आफ्नो सबै सीमाहरुलाई पूर्ण रूपमा बन्द गरेको थियो । राज्यमा नागरिक तथा निवासीहरुको सार्वजनिक स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप साउदी सरकारले यो कदम चालिएको थियो । जुन धेरै नै कारगार साबित भएको थियो ।
नेपाली राजदूतावास, रियादले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण रूपमा पालना गर्नुहुन सबैमा अनुरोध गरेको छ ।