arrow

चिनियाँ सक्रियता फेरि बढ्यो, राष्ट्रपतिपछि प्रचण्डलाई भेट्न पुगिन् यान्छी

दुई पार्टीलाई एक गराउन र पटकपटकका आन्तरिक आँधीवेहरीलाई रोकेको चीन यसपटक कडाखाले आँधी रोक्न असफल

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
vidya-prachanda-yanchi.jpg

काठमाडौं । आफैले जुटाइदिएको तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकताबाट बनेको नेकपा टुक्रिइरहेको अवस्थाबारे चिन्तित बनेको चीनको सक्रियता फेरि बढेको छ । दुई पार्टीलाई एक गराउन र पटक पटक यसअघि पार्टीमा आएका आँधीवेहरीलाई समेत रोक्न सफल भएको चिनियाँ शक्ति यसपटक कडाखाले आँधी रोक्न असफल भएको छ । 

एकाएक अप्रत्याशित शैलीमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल–झलनाथ खनाल पक्षबीच बढेको मतैक्यपछि ओलीले चालेको असंवैधानिक कदमपछि चीन पनि निराश भएको छ । नेकपा एकता र अबको अवस्थाबारे चासो राख्न भने छाडेको छैन । 

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले फेरि एकपटक सक्रियता देखाएकी हुन् । मंगलबार नेकपाका छुट्टाछुट्टै केन्द्रीय कमिटीका बैठक बसेपछि यान्छीले सक्रियता देखाएकी हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार साँझ भेटेकी छिन् । राष्ट्रपति भवन शितल निवासमै पुगेर उनले भेट गरेकी हुन् । 

राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले भेटघाट कोरोना भाइरसको महामारी नियन्त्रणसँग सम्वन्धित रहेको दाबी गरे पनि भेट नेकपाको विभाजनलाई नै केन्द्रीत रहेर गरिएको बताइएको छ । कोरोनाको महामारीबारे बुझ्ने यो समय पनि हैन । 

यान्छीले नेकपाको फुटलाई रोक्न अब राष्ट्रपतिले मात्र सक्ने भन्दै उनलाई नै आग्रह गर्न पुगेको शितलनिवास स्रोतले बताएको छ । 

यद्यपि कोरोना खोपका बारेमा कुराकानी गर्न यान्छीले भण्डारीसँग भेटका लागि एक हप्तादेखि समय मागेको दावी गरिएको छ । कोरोनाको खोप चीनबाटै ल्याउने गोप्य सहमति सरकारले गरेको सूचना बाहिरिएको थियो । 

चीनले राष्ट्रपतिमार्फत नभइ नेपाल सरकारलाई सहयोग प्रदान गर्दा सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्रीमार्फत प्रक्रिया अगाडि बढाउँदै आएको छ । राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन त गरिन् नै उनका सल्लाहकारहरुसमेत झुठो बोलेको यो प्रमाण हो । 

यान्छीले नेकपाका सम्बन्धमा राष्ट्रपतिबाट ठोस निचोड आउन नसकेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन् । मंगलबार राति नै उनले विद्यालाई भेटेपछि खुमलटार पुगेर प्रचण्डलाई भेटेकी हुन् । 

उनले प्रचण्डसँग कसरी अगाडि बढ्ने सोच बनाएको हो ? पार्टी एक हुने सम्भावना छ कि छैन ? किन पार्टी फुटाउन खोजेको लगायतका प्रश्न गरेको स्रोतले बताएको छ । प्रचण्डले पनि आफूलाई यो अवस्थामा ओलीले ल्याएको स्पष्ट पारेको बताएको पनि स्रोतको दावी छ । 

प्रचण्डले हरेक पटक आफू नै झुक्दै आएको र यसपटक ओलीले राजनीतिक मर्यादाको सीमा नै नाघेको गुनासो गरेको पनि यान्छीलाई बताएको स्रोतले बताएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ