arrow

संसद विघटनविरुद्ध जसपा आन्दोलनमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ८ बुधबार
jasapa.JPG

काठमाडौं। संसद् विघटनविरुद्ध जनता समाजवादी पार्टी बुधबारदेखि आन्दोलन सुरु गरेको छ। बुधबार जसपाले देशभर प्रदर्शन गरेको छ। जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले संसद विघटनविरुद्ध आन्दोलनमा उत्रने निर्णय गरेको थियो। जस अनुसार पार्टीले आन्दोलनको कार्यक्रमसमेत घोषाणा गरेको छ। 

जसपाले पुस १० गते ७७ जिल्लाका जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने, ११ गते जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने तथा पुस १२ गते काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ। घोषित कार्यक्रम अनुसार बुधबार देशभर प्रदर्शन गरिएको पार्टीका नेताहरुले जनाएका छन्। 

जसपाका नेताहरु सभामुखले संविधानको धारा १०३को (२) बमोजिम विशेष अधिवेशन बोलाउनु अहिलेको विशेष परिस्थितिमा सबैभन्दा उपयुक्त बाटो भएको सल्लाह दिएका छन्। मंगलबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकमा बोल्ने नेताहरुमध्ये धेरैजसो नेताले यस्तो धारणा राखेका थिए। 

‘अहिले सबैभन्दा राम्रो बाटो भनेको संविधानको धारा १०३ अनुसार सभामुखले विशेष अधिवशेन बोलाउनु पर्छ र यसको जानकारी राष्ट्रपतिलाई गराउनु पर्छ’ जसपाका नेता मनिष सुमनले भने। यसैगरी अर्का नेता केशव झाले अहिले सभामुखले विशेष अधिवेशन बोलाउन सक्ने भन्दै संविधानले सभामुखलाई त्यस्तो अधिकार दिएको बताए। ‘अब हामी सर्वोच्च र सडक संघर्षको बिकल्पमा पनि जान्छौ’ झाले भने,‘सभामुखले विशेष अधिवेशन बोलाउने र त्यसलाई सर्वोच्चले मान्यता दियो भने अहिलेको समस्याको निकास हुन्छ।’

श्रीलकांमा हालै भएको घटनालाई नेपालले पनि अबलम्बन गर्नुपर्ने उनको भनाइ छ। जसपाका नेताहरूले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा प्रधानमन्त्री केपी ओली लागेको बताएका छन्। ‘प्रधानमन्त्रीले बैशाखमा चुनाव गराउदैनन। यो भनेको गणतन्त्र र संघीयता समाप्त पार्ने खेलमा प्रधानमन्त्री लागेका छन’सुमनले भने,‘प्रधानमन्त्रीको भित्री मनले अहिले पनि गणतन्त्र र संघीयतालाई स्विकार गरेको छैन।’

प्रधानमन्त्रीले संसद विघटन गरे लगत्तै जसपाका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकाली संसद विघटनको सिफारिश निरंकुशता र अधिनायकबादको पराकाष्ठ भएको जनाएका थिए। साथै संसद् विघटनको सिफारिशविरुद्ध प्रतिबादमा उत्रन उनीहरुले पार्टीका कार्यकर्ता पंक्तिलाई आब्हान गरेका थिए। जसपाका नेता रामसहाय यादवले संसद् विघटनको कदमबाट मुलुकमा संघीयता र गणतन्त्र समाप्त पार्ने खेल भएको बताउदै संघीयता र गणतन्त्रको रक्षाकोलागि जसपा आन्दोलनमा उत्रेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ