सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत : सभामुख
प्रकाशित २०७७ पुष ८ बुधबार
587
Shares
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन भएको तीनदिनपछि बुधबार एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनले मर्माहत बनाएको जनाउँदै सम्बद्ध पक्ष संवैधानिक सर्वोच्चताका लागि गम्भीर बन्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।
सभामुख सापकोटाले भनेका छन्, ‘नेपालको संविधानको धारा ९३ (१) बमोजिम यहीँ २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहंदा अप्रत्यासित रूपमा प्रतिनिधिसभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधिसभा र मलाई मर्माहत बनाएको छ ।’
सभामुख सापकोटाले सबै राजनीतिक दलहरूलाई एक भएर उच्चस्तरीय सहमति गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सात दशकयताका विभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार हो । संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ ।’