भ्याली कोल्डस्टोरका संचालक रावलका अपहरणकारी बुढाथोकी १२ बर्षपछि दार्जिलिङबाट पक्राउ
प्रकाशित २०७७ पुष १५ बुधबार
610
Shares
काठमाडौं। भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरि डेढ करोड रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न कुमार बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । खुँखार अपराधी उदय सेठ्ठी समूहमा आवद्ध बुढाथोकीलाई व्यूरोले भारतको दार्जिलिङबाट पक्राउ गरेको हो ।
छद्म नाम राखेर भारतको दार्जिलिङमा लुक्दै आएका बुढाथोकीलाई सोही स्थानबाट पक्राउ गरी काठमाडौं ल्याइएको व्यूरो स्रोतले जनाएको छ । सर्लाही स्थायी घर भएका बुढाथोकी अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका व्यक्ति रहेको सीआईबी प्रमुख डिआईजी सहकुल थापाले बताए । चोरी र डकैतीमा संलग्न बुढाथोकी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासत तोडेर भागेका अभियुक्त हुन् ।
सेठ्ठीको समूहले २०६५ पुस १ गते व्यापारी रावललाई अपहरण गरी डेढ करोड रुपैयाँ फिरौती असूली गरी छाडेको थियो । रावल अपहरण तथा फिरौती प्रकरणमा यसअघि महानगरीय अपराध महाशाखाको टोलीले २०६६ पुसमा सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकासबहादुर कार्की र मानवदेव गुरुङलाई पक्राउ गरी मुद्दा चलाएको थियो । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले १२ वर्ष कैद र जरिवाना समेत हुनेगरी गरेको फैसलालाई सर्वोच्च अदालतले २०७७ असार २१ गते सदर गरिसकेको छ ।