arrow

नेपालमा उत्तर र दक्षिणको खुला परेड शुरु भयो: पूर्वराष्ट्रपति डा.यादव

‘लोकतन्त्रको गाडी जंगलतिर गइरहेको छ, चाँडै सडकमा ल्याउनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष १६ बिहिबार
Ramwaran-yadav.jpg

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थापछि दुई छिमेकी मुलुकले नेपालमा खुल्ला परेड खेलिरहेको बताएका छन ।

बिहिबार मेलमिलाप दिवसको अवसर पारेर काठमाडौंको शान्तिबाटिकामा तेज-तीर्थ ट्रष्टले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति यादवले संसद विघटनको घटनापछि मुलुक दुई देशको परेड मैदान बन्नु दुःखद् भएको बताएका हुन ।

'काठमाडौंको पठित वर्ग र चिन्तित वर्गको बिचमा मैले भन्न डराउनु पर्दैन, ‘राष्ट्रमा अहिले खतरा छ, असंवैधानिक तरिकाबाट संसद विघटन भयो, विदेशीको पनि ध्यान तानिएको छ, दुई ठूला देशका बीचमा हामी छौं, तानातान छ,  यहाँ उत्तर र दक्षिणको खुला परेड सुरु भइरहेको छ, यो सुखद् होइन,’ पूर्व राष्ट्रपति यादवले सम्बोधनका क्रममा भने ।

उनले भने, 'भूराजनीति र सामरिक अवस्थाको चिन्तन गरेर एउटा स्वस्थ्य विदेश निती ल्याउन नसक्दा दुई ठूला देश बीचको चेपुवामा मुलुक परिरहेकाले यस्तोबेला राष्ट्रको जगेर्ना गर्न अफ्ठयारो परिरहेको छ ।’ डा. यादवले अहिले मुलुक संविधान, संविधानवाद र लोकतन्त्रमाथीको आक्रमणबाट अनिश्चितताको बाटोबाट अघि बढिरहेको पनि बताए ।

उनले लोकतन्त्रको पिल्लर नै राजनीतिक दल भएकाले दलहरुले नै अहिलेको अवस्थामा आआफ्नो कर्तव्य पूरा गरेर राष्ट्रलाई भलो गरेर मेलमिलापकै नीतिबाट अघि बढ्नु पर्ने बताए । यादवले जंगलमा पुगेको लोकतन्त्रको गाडीलाई राष्ट्रिय फोर्स मिलेर नै फेरी जंगलबाट राजमार्गमा ल्याउने विश्वास व्यक्त गरे ।

मुलुकमा संकट परेको वर्तमान अवस्थामा संविधानले नै तोकेको चार अंग मध्येको एक अंग न्यायालयमा समेत जनताको र आफ्नो विश्वास र भरोसा रहेकाले न्यायलयले देशलाई अनिश्चितताको बाटोमा जानबाट रोक्ने समेत विश्वास व्यक्त गरे ।

डा. यादबले देशको कार्यकारी ब्यक्तिले असंवैधानिक तवरले कदम चालेपछि त्यसलाई संवैधानिक बनाउन आम समूदायको दायित्व रहेको बताउँदै उनले भने, 'यतिबेला राष्ट्रियता, संविधान, संविधानवाद र लोकतन्त्रलाई दुरगामी प्रभाव पार्नेगरी मुलुकलाई संकटमा पार्ने काम भएकाले यस्तोबेला आम समूदाय एकजुट हुनुपर्छ ।’

कार्यक्रमा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले यतिबेला संविधानलाई ध्वस्त पार्नेगरी चालिएको असंवैधानिक कदमले मुलुक संकटमा परेको भन्दै यस्तो अवस्थामा मेलमिलापको नीति अत्तिनै सान्दर्भिक हुने औंल्याए । संसद विघटन गरी चुनावको मिति तोकिएपनि चुनाव हुनै नसक्ने ठोकुवा गर्दै उनले भने,‘धरापमा परेको संविधानलाई मुलबाटोमा हिंडाउन हाम्रो दायित्व हो ।’

तेज–तीर्थ ट्रष्टका संस्थापक अध्यक्ष तीर्थराम ढंगोलले देशका नायक नै नालायक भएपछि अवस्था विग्रिएको बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारी कम्युनिष्ट पार्टीको लमी मात्र बनेको आरोप लगाए ।

सम्मानित पाँच जना व्यक्तिहरुका तर्फबाट बोल्दै हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले आफूहरु सँधै लोकतन्त्र, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता रक्षा साथै शुसासन कायम गराउने कार्यमा कटिबद्ध हुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ