उपत्यकामा तुसारो, तापक्रम १.२ डिग्री, यस्तो छ देशभरको मौसम
प्रकाशित २०७७ पुष १७ शुक्रबार
567
Shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदुर पश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबार बिहान १.२ डिग्री सेल्सियस रहेको छ उपत्यकाका अधिकांश स्थानमा तुसारो परेको छ ।
तापक्रम अझै घट्न सक्ने मौसमविद्हरुले बताएका छन् । बिहीबार यो वर्षकै सबैभन्दा कम ०.८ डिग्री सेल्सियस तापक्रम रहेको थियो ।
दिउँसो प्रदेश १ र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाले तापक्रममा कमी भई चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई –पहाडी भूभागका केही स्थानहरुमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।