arrow

प्रधानमन्त्रीको झुठले दिक्क

‘विडम्बना हामीले कम्युनिष्ट पार्टीमा यस्तो नेता जन्मायौ’ – डा. भीम रावल

‘उहाँले जनताको अगाडि मुख देखाउन लाज मान्नुपर्ने हो’

logo
प्रकाशित २०७७ पुष २० सोमबार
Bhim-Rawal.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसँग माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले जनता र राष्ट्रसँग झुठो बोलेर गद्दारी गरेको भन्दै माफी माग्नुपर्ने बताएका हुन् । 

उनले ओलीको स्वेच्छाचारी कामले गर्दा मुलुकमा जनताले विद्रोह गर्ने स्थिति आउनसक्ने समेत औंल्याएका छन् । डा. रावलले आफैंले बनाएको नेपालको संविधानमाथि प्रहार गरेर यो राजनीतिक कुरा हो भन्दै सर्वोच्च अदालतमा जवाफ पठाउनु नौलो कुरा नभएको भन्दै संविधानकै उल्लंघन गर्नेलाई जनताले नछाड्ने समेत बताएका छन् । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा उनले संविधानको कुनै पनि धाराले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको पनि उल्लेख गरे । उनले संविधानको धारा ७६ ले संसद विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारे । 

ओलीबारे उनले भने, ‘संविधानसभाको पहिलो कार्यकाल झापाबाट हार्नुभयो । दोस्रो कार्यकाल आउनु भयो । त्यतिबेला अहिले केपीजी निस्किएजस्तै कोही प्रधानमन्त्री निस्किन सक्छ भनेर संसद विघटन गर्न नपाउने गरी संविधानमा लेखिएको थियो । तर त्यसलाई नमानेपछि त के भन्ने ।’
 
ओलीको नक्कली राष्ट्रवादप्रति स्पष्ट पार्दै उनले भने, ‘संसदमा कुन कानुन असफल भयो ? एमएमसीमा नेपालको कानुनभन्दा माथि हुने र अमेरिकाको हस्तक्षेप हुने कुरा हामीले अस्वीकार गर्यौं, नेपालको नक्सा जारी गर्न पटक पटक दवाव दिँदा मात्र गरिएको तर पाठ्यक्रममा रोकेपछि नै उहाँको राष्ट्रियता झल्किएको स्पष्टै छ ।’
 
उनले आफूबाहेक अरु कोही पनि छैनन् भन्ने तानाशाह प्रवृत्ति ओलीमा जन्मिएकोबारेमा भन्छन्, ‘आफू प्रधानमन्त्रीबाट हट्ने अवस्था आउनासाथ संसद विघटन गर्न मिल्छ ? उहाँका गुटका बाहेक कसैले पनि प्रधानमन्त्रीले राम्रो गरेको छ भनेका छैनन् । हामी शक्ति पृथकीकरणका कुरा गर्छौ भने यो कदम गलत छ । कुकृत्य गर्ने हो भने जनताले विद्रोह गर्नुपर्ने स्थिति आउँछ ।’

ओलीले पार्टीमा फर्किए प्रचण्ड–नेपाललाई क्षमा दिने भनेको सन्दर्भबारे गरिएको प्रश्नमा डा. रावलले भने, ‘प्रचण्ड–माधव नेपाललाई क्षमा दिने होइन उहाँले राष्ट्रसँग माफी माग्नुपर्छ । माफी मागे हामीले पनि माफी दिन सक्छौं । रुपान्तरित भएका खण्डमा केन्द्रीय सदस्यबाट हटाएका छैनौं हामीले स्वागत गर्न सक्छौं ।’

उनले प्रचण्ड–नेपालको नेकपा नै आधिकारिक भएको स्पष्ट पार्दै भनेका छन्, ‘३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षरले गरेको निर्णय नै आधिकारिक हो । बहुमत नभए पनि मै पार्टी हुँ भन्ने नै निरंकुश चरित्र हो । विडम्बना हामीले कम्युनिष्ट पार्टीमा यस्तो नेता जन्मायौं ।’ 

आफूहरुले निर्वाचन आयोगबाट सूर्य चुनाव चिन्ह नै दावी गर्र्दै रावल भन्छन्, ‘यदि देशमा भएका संवैधानिक निकायमा कानून रहेन भन्ने भयो भने त सूर्य चिन्ह नपाइएला होइन भने नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदा पनि हाम्रो पार्टीलाई आधिकारिकता दिइएन भने अब अर्को संघर्ष गर्नुको विकल्प हुँदैन ।’ 

ओली सरकारको बेथितिप्रति उनले भने, ‘नेपालमा कोरोना संक्रमणको यत्रो आपत्ति भएका बेलामा ३०–३२ अर्बको थप बोझमा देशलाई धेकेलेर एकदम गैरजिम्मेवार काम गर्ने, जनताको संवेदनशीलता र अवस्थालाई पनि ध्यान नदिने, अब हामी त्यही बाटोमा जान खोजेको हो भने त इतिहासले जनताले त्यसलाई दण्डित गर्छ ।’

ओली झुठो र ढोङ्गी भएको पुष्टि गर्न खोज्दै रावलले भने, ‘देशको प्रधानमन्त्री यति झुठ बोल्ने दुनियाँले के भन्ला ? उहाँले कतिसम्म भन्न भ्याउनु भयो भने मलाई लक्षित गरेर यहाँभन्दा अगाडि उहाँका मतियारहरुले प्रायोजित रुपमा मैले प्रधानमन्त्री केपी जीको किड्नी महिलाको भाको हुनाले महिलाको बुद्धि हुँदैन उहाँको बुद्धि फेर्नु भनेँ भनेर उहाँका आफै अहिले कस्तो गर्या छन् भनेदेखि उहाँका साइबर सेना भन्छन् नि उनीहरु सेना, एकदम पिट्ने, मान्छेलाई अपहरण गर्ने, गाली गर्ने यस्तो अभियान छ त्यहाँ अहिले । त्यो अभियान अन्तर्गत मैले भन्दै नभनेका कुरा आफै प्रचार गरे । आफै झाँक्री आफै बोक्सी भन्छन् नि । अनि त्यसपछि प्रधानमन्त्री जस्तो व्यक्तिले हिजो (आइतबार) त्यो कुरातर्फ लक्षित गर्दै घरमा गएर श्रीमतीलाई कसरी भेट्यो होला । कसरी बहिनी भेट्यो होला । प्रधानमन्त्रीको यो तह भएपछि देशमा राजनीतिक संकट नआएर के आउँछ । देशको प्रधानमन्त्री एउटा पार्टीको अध्यक्ष भएको व्यक्तिले यति झुठा कुरा गरेर आफ्नै कथित साइबर सेनामार्फत त्यो प्रायोजित प्रचार गर्ने, कुप्रचार गर्ने अनि प्रधानमन्त्री जस्तो व्यक्तिले मञ्चमा यो भन्ने ? बरु उहाँले जनताको अगाडि मुख देखाउन लाज मान्नुपर्ने हो । यति झुठ, यति कूप्रचार, यति भ्रममा मान्छेहरुलाई पारेर अनि त्यहाँबाट अनेराश्ववियुका विद्यार्थीहरुलाई यस्तो कुरा गरिसकेपछि तलबाट ताली बजाएपछि अनि गजक्क परेर नाटकीय ढङ्गले उहाँले हिजो त्यहाँ प्रस्तुत गर्नुभयो । मैले सुनें । त्यो बडा दुःख लाग्दो कुरा र मेरो देश नेपाल, मेरो स्वाभीमानी नेपालले यस्तो झुठा बोल्ने प्रधानमन्त्री, यति जाली प्रधानमन्त्री पाएर यो जनमत पाँच वर्षका लागि जनताले दिएको जनमतलाई बीचैमा खतम पारेर सात दशक लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा । यत्रो ठूलो बहुमतलाई एउटा गन्तव्यसम्म पुर्याउने सबैलाई समेटेर लैजाने, सबै देशको भावना, आकांक्षालाई भावनालाई सम्मान गर्नुको सट्टा म नै हुँ सबै चिज भनेर उद्धण्डतापूर्वक उहाँले जस्ता अभिव्यक्ति दिइरहनु भएको छ यो नेपाली लोकतन्त्रको लागि नेपालको कम्युनिष्ट आन्दोलनको लागि सारै दुःखद पक्ष हो र इतिहासमा यस्ता भनाइहरु र यो पुस ५ गते भएको विघटन एउटा कलंकको रुपमा सिद्ध भएर जानेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ