arrow

देशभर आन्दोलन सशक्त पार्न जिल्ला समितिहरुलाई जितजङ्ग बस्नेतको निर्देशन

logo
प्रकाशित २०७७ पुष २० सोमबार
jitjung-basnet-tarun.jpg

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले नेपाल कम्युनिष्ट पार्टीको केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदमको विरुद्धमा उत्रन नेपाल तरुण दलका जिल्ला समितिहरुलाई निर्देशन दिएका छन् । सोमबार बिहान सबै जिल्ला समितिका अध्यक्षहरुलाई परिपत्र जारी गरेर अध्यक्ष बस्नेतले सशक्त भएर उत्रन निर्देशन दिएका हुन् । 

परिपत्रमा उनले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा माउपार्टी नेपाली काँग्रेस पार्टीले सार्वजनिक गरेका विरोध कार्यक्रमलाई सशक्त पार्न निर्देशन दिएका हुन् । 

उनको परिपत्रमा भनिएको छ, ‘तपशिल बमोजिमका विरोध प्रदर्शनका कार्यक्रमहरु गर्ने भएकोले उक्त विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको त्यस जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन नेपाल तरुण दल केन्द्रीय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ ।’

कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले तीन चरणमा आन्दोलन गर्ने स्पष्ट पारेको छ । सो अनुसार पुस २५ गते शनिबार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने भएको छ । 

दोस्रो चरणमा माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने भएको छ भने तेस्रो चरणमा माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकाका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

यी तीनै चरणका विरोध कार्यक्रममा सक्रिय सहभागीता जनाएर ओली विरुद्धको कदमको विरोध गर्न पनि अध्यक्ष बस्नेतले निर्देशन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ