arrow

टिप्पणी

ओलीको ‘कमेडी’भाषणको सारः विरोधीलाई उडाउने, खुइल्याउने र मजाक गर्ने  

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
oli-kp1.jpg

काठमाडौं। सोमबार चितवन पुगेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कमेडीयन’को संज्ञा दिंदै भनिन-‘पार्टी प्यालेस र बालुवाटारमा ओलीले कमेडी देखाइरहेका छन् ।’

यसरी ओलीलाई कमेडीयनको संज्ञा दिनुमा झाँक्रीको ब्याख्या फरक छ । उनको बुझाइमा ओलीमा नैतिक रुपमा बोल्ने सामर्थ्य नभएकाले कमेडियनका हिसाबले प्रस्तुत हुनुपरेको छ । कम्युनिस्ट पार्टीमा विधि, विचार, नैतिकता हुँदा मात्रै बोल्ने सामर्थ्य हुने भएकाले यतिखेर दुई दुई घण्टा लामो कमेडी भाषण दिने हैसियतमा ओली पुग्नुमा आफूहरु पनि दोषी भएको झाँक्रीको स्वीकारोक्ति छ । 

हुनपनि ओलीको भद्दा र क्षुद्र भाषणले कमेडियनका रुपमा स्थापित गराएको आम मानिसको बुझाइ छ । सामाजिक संजाल र सार्वजनिक स्थलहरुमा मानिसहरु ओलीको कमेडीको चर्चा गर्छन । चिया पसलदेखि फुटपाथमा ओलीको कमेडी भाषण खुबै चर्चा चल्छ । डिजिटल प्लेटफर्मतिर ओलीको कमेडीवाला भाषण चाख मानेर हेरिन्छ । धित मरुन्जेल हाँसो चल्छ । हाँसोमै उडाइन्छ र घोचपेच गरिन्छ । 

ओलीले कमेडीयन शैलीमा भाषण दिने गरेको राजनीतिको यात्राको सुरुवात देखिनै हो तर नेकपामा आन्तरिक विवाद चर्किएपछि उखान टुक्का भन्दापनि हाँस्यब्यङ्ग्य रसमा उनी रमाएको पाइन्छ । सार्वजनिक कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधन गर्दा उनको ‘बडी ल्याङ्वेज’ र हाँस्य मन्तव्यले उनलाई कमेडीयन नै बनाउन थालेको छ ।

पदीय गरिमा बिर्सेर ओलीले दिएका क्षुद्र मन्तव्यलाई प्रबुद्धवर्ग एवं बुद्धिजीविले ‘मनोरञ्जक’ भएको टिप्पणी गरेका छन् । त्यतिमात्र होइन कार्टुनिष्ट रवीन्द्र मानन्धरले त ‘ओलीको कमेडी कक्षा !’ भनेर कार्टुन नै तयार पारे । केही दिनअघि पुष्पकमल दाहाल प्रचण्डले एक भब्य सभामा ‘ओलीको राजनीतिक भविष्य छैन, कमेडी च्याम्पियनमा भाग लिन गएहुन्छ’ भनेर भाषण नै गरे ।

आइतबार काठमाडौंको भएको आफू निकटको विद्यार्थी संगठन अनेरास्ववियूको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा हास्य-ब्यङ्ग्यसहितको मन्तब्य सुनेर सामाजिक संजालमा सामान्य नागरिकदेखि बौद्धिक र प्राज्ञिक बर्गले ओलीले पदीय गरिमा विर्सेर आफ्ना विरोधीको उछितो काट्ने प्रबृत्तिलाई खासै रुचाएको पाइएन । पूर्वसहकर्मीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहितका नेताहरुको उछित्तो काट्ने, खुइल्याउने र उडाउने ओली प्रबृत्ति पार्टीका लागि मात्र नभइ देशकै लागि घातक हुनसक्ने अनुमान गरिएको छ ।

डा सुधांशु केसीले सामाजिक संजालमा ओलीको भाषण शेयर गर्दै लेखे-‘आजको कपिल शर्मा शो फ्लप हुने भो ।’ पत्रकार राजाराम गौतमले पनि ओलीको भाषण कपिल शर्माको शो जस्तै भनेर लेखेका छन्–‘कामचलाउ प्रधानमन्त्रीज्यू, अदालतले चिनेपनि नचिने पनि जनताले चाहीं नेपाली राजनीतिका ‘चार्ली च्याप्लिन’ भनेर चिनी सके’ मज्जा आयो, भाषण सुनेर ‘कपिल शो’ हेरेजस्तै ।’

पूर्व अर्थ सचिव शान्तराज सुबेदीको टिप्पणी छ, जनतालाई निःशुल्क मनोरञ्जन तर वाक्कै लाग्दो ।’ नेपालको कमेडी च्याम्पियन बनेका हिमेश पन्तले आफ्नो आदर्श व्यक्तित्व प्रधानमन्त्री ओली नै भएको एक टेलिभिजन अन्तरवार्तामा भनेकै छन् । ओलीले जति खुराक अरुले नदिएको हिमेशको भनाइ थियो । नेपालको राजनीतिमा महत्वपूर्ण योगदान दिएका केपी ओलीप्रति आम मानिसले प्रष्ट दृष्टीकोण, गहन र तर्कपूर्ण विचार साथै तारिफयोग्य मन्तब्यको अपेक्षा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ