arrow

ओलीको निर्वाचन घोषणाः ‘आफ्नै घरलाई लात हानेर झुपडी बनाउँछु भने जस्तै हो’ –देवेन्द्र पौडेल 

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
devendra-poudel.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले मलाई काम गर्न दिएनन् भनेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु बेतुकको कुरा भएको बताएका छन् । उनले संविधानमै नभएको अधिकारको प्रयोग गरेर प्रधानमन्त्रीले संविधानकै खिल्ली उडाएकोसमेत बताए ।  

संविधान लेख्ने क्रममै निरन्तरको निर्वाचन र संसद विघटन गर्दा मुलुक समृद्ध हुन सकेन भनेर राजनीतिक स्थायित्वका लागि निर्वाचित प्रधानमन्त्रीलाई दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भनी संविधानमा स्पष्ट लेखिएको उल्लेख गर्दै नेता पौडेलले चार वटा कुरालाई समेत आधार नमानी एकैपटक संसद विघटन गर्नु गलत भएको बताए । 

नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा नेता पौडेलले दलका नेताले काम गर्न दिएनन् भनेर संसद विघटन गर्नु नालायकी भएको बताए । ‘आफ्नै दलका साथीहरुले काम गर्न दिएनन् भनेर कपोलल्पित कुरा, आफ्नै दलका साथीहरुले सम्माननीय राष्ट्रपतिलाई महाअभियोग ल्याउन तयार गर्दैै थिए भनेर कपोलकल्पित कुरा गराएर संसद भंग गर्नुभयो त्यो चाहिँ मेल खाँदैन । त्यसकारणले राजनीतिक हिसाबले पनि, संवैधानिक हिसाबले पनि र पार्टीभित्रको आन्तरिक समीकरणको हिसाबले पनि उहाँले गरेको निर्णय देश, पार्टीको कहीं कतै पनि शोभनीय भएको देख्दिन ।’, नेता पौडेलले भने । 

उनले आक्रोश हुँदै भने, ‘आफ्नै घरलाई लात हानेर झुपडी बनाउँछु (पहाडी भाषामा सानो कटेरो बनाएर बस्छु) भने जस्तै हो । उहाँले जुन कुरा गरिरहनु भएको छ । चुनावको हामीले विरोध गर्या हैन । उहाँले चुनाव गर्न गर्या हैन नि यो त । संविधानको व्यवस्था अनुरुप संसद भंग गर्नको निम्ति चुनावको घोषणा अनिवार्य गर्नुपर्छ । उहाँले वास्तवमा कुनै पुष्टि पनि छैन । कहाँ हात बाँधेका थियौं हामीले ? कहाँ राम्रो काम गर्दाखेरी हामीले छेकेका थियौं । म पनि प्रतिनिधिसभाको निर्वाचित सांसद हो । कहाँ छेक्यौं हामीले । कहाँ विरोध गर्यौं । अन्तिम सम्म पनि प्रधानमन्त्रीलाई हामीले सहयोग गर्छौं भनेर धेरै पटक भनेको हैन ?’

उनले आफ्नै पार्टीका एक दुई जना नेतालाई म्यानेज गर्न नजानेर प्रक्रिया र व्यवस्थापनको हिसाबले ओलीको क्रियाकलाप गलत भएको बताए । ‘६५ प्रतिशत मत संसदमा भएको प्रधानमन्त्रीले त्यसलाई म्यानेज गर्ने हो कि त्यसलाई लात हानेर संसद भंग गर्ने हो ?’, पौडेलले भने । 

उनले आफू रहेको प्रचण्ड–नेपाल नेतृत्वकै नेकपालाई निर्वाचन आयोगले चुनाव चिन्ह दिने उल्लेख गर्दैै भने, ‘बहुमतलाई मान्यता दिने निर्वाचन आयोगको प्रचलन छ । कानूनी, वैधानिक हिसाबले पनि हामी छौं । निर्वाचन आयोगले हामीलाई नै आधिकारिकता दिन्छ । ९९.९ प्रतिशत म विश्वस्त छु ।’ 

उनले यो सरकारलाई कानूनले कार्वाही गर्ने पनि उल्लेख गरेका छन् । भन्छन्, ‘मानव हत्या गर्न नहुने भए पनि मान्छेले हत्या गर्छ र पछि कानुनले उसलाई कार्वाही गर्छ । अहिले सरकार त्यस्तै भएको छ । कानुनले कार्वाही गर्छ ।’ 

प्रदेश विघटन गर्न कुनै पनि हालतमा नमिल्ने भन्दै नेता पौडेलले ‘कानूनको उल्लंघन गर्दै जाने हो भने जनताले कार्वाही गर्छन्’ भने । 

उनले ओलीलाई सम्झाए, ‘लोकतन्त्र भनेको मैले भनेको मान्ने भए मान् नमाने म मेरो शैलीले अगाडि बढ्छु भन्न पाइँदैन ।’

स्थायी कमिटी सदस्य पौडेललाई प्रचण्ड–नेपाल समूहले सोमबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई हटाएर प्रदेश इन्चार्ज बनाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ