arrow

काठमाडौं उपत्यकामा हावाको गुणस्तर विषाक्त भएपछि चिकित्सक के भन्छन् ?

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
doctor.jpeg

काठमाडौं। पुस २० गते सोमबार काठमाडौं उपत्यकामा हावाको गुणस्तर विश्वकै सबैभन्दा विषाक्त भएको पाइएपछि उपत्यकाबासी स्वास्थ्यबारे सचेतसँगै चिन्तित देखिएका छन् ।

सोमबार दिउँसो पैदल वा मोटरसाइकल यात्रामा निस्किएमा काठमाडौंबासीमा आँखा पोल्ने र सास फेर्न असहज भएको अनुभूती गरेपछि स्वास्थ्यबारे चिन्ता बढेको पाइएको हो ।

एक्कासी त्यस्तो समस्या देखिएपछि मंगलबार पनि त्यसको प्रभाव देखिएको छ । मौसम धुम्मिएको र चिसो बढेकाले वायू प्रदुषण बढेको तथ्य सार्वजनिक भएको छ । मौसमविदहरु काठमाडौं उपत्यका खाल्डोमा भएकाले हावा कम चल्ने अवस्थामा वायू प्रदूषण बढेपछि मौसम धुम्म भएको बताउँछन् ।

संसारका मुख्य शहरहरुको रियल टाइम हावाको प्रदूषणबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएयर डटकमले काठमाडौंमा वायूको गुणस्तर सबैभन्दा प्रदूषितको शीर्ष स्थानमा रहेको जनाएको छ । 

डा.समिरमणी दिक्षित यस्तो अवस्थामा मानिसहरु आफैं सजक र सचेत हुने सल्लाह दिन्छन् । चिसो हावा बढेको, मौसम धुम्म रहेकाले धुवाँका कण र अन्य रसायनिक वा अप्राकृतिक बस्तुहरु मानिसको शरीरमा छिर्ने भएकाले धेरै सावधानी अपनाउन उनको सुझाव छ ।

डा.दिक्षित भन्छन,‘विहान मर्निङ वाकमा ननिस्किने, निस्कनै परे मास्क अनिवार्य लगाउने गर्नुपर्छ । वायू विषाक्त भएकाले दुई दिनलाई मर्निङ वाक बन्द गरौं,’ उनले, ‘यस पटक प्रकृतिले बढी नै खेल गर्‍यो त्यसैले कोभिडका विरामी मात्र नभइ सबै दीर्घ रोगी, बालबालिका, बृद्धबृद्धाले बाहिर हिडडुल बन्द गर्नुपर्छ ।’

अन्य चिकित्सकहरुले पनि यस्तो अवस्थामा अनिवार्य मास्क लगाउन, बाहिरबाट आउने खराब हावा प्रवेश गर्न नदिन आफ्नो घर कोठाको झ्याल ढोका बन्द गर्ने, घर बाहिरको शारीरिक अभ्यास नगर्ने जस्तो सल्लाह दिइएको छ ।

यता, वायू प्रदूषण कोरोना संक्रमितहरुका लागि हानीकारक हुने अध्ययन देखाएकाले प्रदूषित क्षेत्रका संक्रमितलाई तुलनात्मक रुपमा बढी हानी पुग्नसक्ने अनुमान गरिएको छ । 

त्यस्तै, वातावरणविदहरुले फोहोर व्यवस्थापन र वातावरण सफा राख्न सुझाव दिंदै आइरहेका छन् । उनीहरुले काठमाडौं उपत्यकाका लागि वायू गुणस्तर व्यवस्थापन कार्ययोजनालाई यस्तोबेला कार्यान्वयन आवश्यक रहेको सुझाव दिन्छन् ।

नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले पनि सामाजिक संजालमार्फत वायू प्रदूषण बढेको महसुश भएको उल्लेख गर्दै कोभिडका लागि मात्र नभइ वायू प्रदुषणबाट बच्न मास्क अनिवार्य गर्न सुझाव दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ