arrow

निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम थाल्दै

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । निर्वाचन आयोगले पहिले तोकिएको मतदान स्थल तथा मतदान केन्द्रको पुनरावलोकन थाल्न प्रक्रिया अघि बढाएको छ । आयोगले मंगलबार मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ ।  सो कार्यविधि र कार्यक्रम स्वीकृत गरेसँगै आयोगलाई मतदान स्थन निर्धारण गर्न र थप गर्न बाटो खुलेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगको बैठकले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको जानकारी दिए ।

स्थानीय तहहरुमा मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुँदै छ, यही समयमा सँगसँगै केन्द्र निर्धारण गर्ने र को मान्छे कुन मतदान केन्द्रमा मतदान गर्न जाने भन्ने बारे तय गर्न यो कार्यविधिले काम गर्छ, थप गर्नु पर्ने भए सोही अनुसार पुनरावलोकनको पनि निणर्य हुन्छ ।’ आयोगका प्रवक्ता श्रेष्ठले हाम्राकुरासँग भने ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहने र सोही समितिले यसबारे काम गर्नै प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार २३ पुसबाट जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य सुरु हुनेछ भने १७ माघमा सम्पन्न गरिसक्नु पर्ने छ ।

आयोगले सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूणर् सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ ।

सरकारले आगामी १७ र २७ बैशाखमा गरी दुई चरणमा सम्पन्न गर्ने गरेर प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ