arrow

काठमाडौं महानगरको  ‘डिस्कोलाइट’, ट्राफिक प्रहरीले राख्न थाल्यो सडक बत्ति

पहिलो चरणमा कोटेश्वर देखि कलंकीसम्म सडक बत्ति राखिने

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
street-light.jpg

काठमाडौं। काठमाडौं उपत्यकाको सडकमा सडक बत्ति राख्ने काम कसको? कि त विद्युत प्राधिकरणको कि त महानगरहरु वा नगरपालिकाहरुको नै हो । तर काठमाडौका सडकमा यि दुवै निकायले नभइ ट्राफिक प्रहरीले सडक बत्ति राख्न थालेको छ ।

काठमाडौं महानगरले माइतिघर मण्डला र दरवारमार्ग सडकमा करोडौं लगानी गरेर राती चम्कने झिलिमिली बत्ति राख्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सडकमा अध्यारो भएका कारण दुर्घटना बढेको भन्दै आफैं सडक बत्ति राख्न अभियान सुरु गरेको हो ।

महानगरले राखेको झिलीमिली बत्तीले सौन्दर्य बढाउने आंकलन गरिए पनि भद्दा देखिएको धेरै नगरबासीको गुनासो रहेको छ। ठूलो धनराशी खर्च गरेर राम्रो बानउने अभिप्राय रहे पनि राम्रो हुन नसकेको गुनासोहरु सुनिन थालेको छ। महानगरमा रहेका सोलार सडक बत्तीहरु पनि धेरै ठाउँहरुमा बल्न छाडेको र कति स्थानमा मधुरो बल्ने गरेकाले सडक अँध्यारो हुने गरेको छ। 

सवारी दुर्घटनाको मुख्य कारण अध्याँरो सडक रहेको निश्कर्ष सहित ट्राफिक प्रहरीले सडकमा बत्ति राख्ने अभियान सुरु गरेको महाशाखाका एसएसपी जनक भट्टराईले जानकारी दिए । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहिबारबाट बिभिन्न संघ संस्थाको समन्वयमा सडक बत्ती राख्ने अभियान सुरु गरेको र पहिलो चरणमा कोटेश्वर देखि कलंकीसम्म सडक बत्ति राखिने उनले भनेका छन् । 

अध्यारो सडकको कारण नै सवारी दुर्घटना बढेकाले सडकलाई उज्यालो बनाएर दुर्घटना न्युनिकरण गर्ने लक्ष्यसहित सडक बत्ति राख्ने अभियान सुरु गरिएको भट्टराईको भनाइ छ ।

‘सवारी दुर्घटना न्यूनीकरण गर्ने लक्ष्य लिएर सडकमा बत्ति राख्ने अभियान सुरु गरेका हौं, राती हुने दुर्घटना मध्ये एउटा प्रमुख कारण अध्यारो सडक पनि हो,’ उनले भने ।

कोटेश्वर कलंकी सडक खण्डमा सवारी दुर्घटनाको संख्या बढेसँगै ट्राफिक महाशाखाले त्यसको कारण खोजी गरेको थियो । सो क्रममा सवारी दुर्घटनाको कारणहरु मध्ये तिब्र गति र अध्याँरो सडकको कारण बढि दुर्घटना भएको निश्कर्ष आएको थियो । 

यसैगरी तिब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि जोखिम हुने स्थानहरु पहिचान गरेर स्पिड ब्रेकर समेत समेत राख्न थालिएको छ । सडकमा राखिएका स्पिड ब्रेकरहरु रातको समयमा टल्किने किसिमका छन ।

रातको समयमा दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न सडक बत्ती र टल्किने ट्राफिक कोण राख्न शुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।  

उनका अनुसार बिहिबार कोटेश्वर कलंकी सडक खण्डको बिएण्डबि अस्पताल अगाडी, स्टार अस्पताल अगाडी, सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सिता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप, कलंकी लगायतका स्थानहरुमा सडक बत्ती जडान गरिएको छ ।

सो सडक खण्डको बिभिन्न १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणहरु समेत राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ