- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौंं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई तर्साउन भित्रभित्रै रणनीति बनाउन लागेका छन्। संसद विघठनसँगै पार्टी विभाजन हुनु र संसद विघठनको विरुद्धमा प्रमुख दलले आन्दोलन गरेपछि प्रधानमन्त्री ओलीले विरोधिलाई तर्साउन विभिन्न रणनीति बनाउन लागेका हुन्।ओली संवैधानिक निकायको काममाथि प्रभावपार्ने गरी निरन्तर अभिव्यक्ति दिइरहेका छन्। निर्वाचन आयोग र सर्वोच्च अदालतलाई समेत प्रभाव पार्ने गरी उनको अभिव्यक्ति निरन्तर आउनुले ओली संवैधानिक संकट निम्त्याउनेतर्फ अघी बढिरहेको पाइएको हो।
ओली निर्धक्क साथ संसद पुर्नस्थापना हुदैन भनिरहेका छन्। उनले मात्र होइन सरकारमा रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा वादलले पनि निर्वाचन आयोगबाट आफ्नो समूहले नै मुलधारको आधिकारिकता पाउने, सूर्य चिन्ह पनि पाउने दावी गरिरहेका छन्। यी दावीसँगै कार्यकारीको हात लामो हुन्छ भन्ने भनाई ओली र ओली सरकारका मन्त्रीहरुले गरिरहेका छन्।
उच्च राजनीतिक स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओली प्लान ए असफल भएमा प्लान बी को कसरतमा रहेका छन्। प्लान ए अन्तर्गत संविधानमा नभएको व्यवस्थामा टेकेर संसद विघठन गर्नु थियो। त्यसपछि आउने निर्वाचनमा आफ्नो बहुमत सिट सुनिश्चित गर्न उनले सबै संवैधानिक अंग र निकायलाई प्रभावित पार्ने प्रयास गरेका छन्। कसैले रोक्न नसक्ने गरि अघी बढेका उनलाई अदालतले रोकेको अवस्थामा वैकल्पिक योजना अन्तर्गत प्लान बी अघी सार्ने योजनामा ओली रहेका छन्। स्रोत भन्छ,‘उहाँ अहिले सर्वोच्च अदालतमा रहेको संसद पुर्नस्थपना सम्बन्धी मुद्धालाई पछि धकेल्ने कोसिसमा हुनुहुन्छ, संसद पुर्नस्थापनाको मुद्धा किनारा लागे उहाँलाई समस्या पर्ने देखिन्छ त्यसकारण उहाँको प्लान बी अन्तर्गतको पहिलो चरणमा मुद्धालाई पछि धकेलेर लैजानु हो’, ती नेताले भने।
उनका अनुसार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेमा संसदबाट आफू फालिने् डर ओलीलाई छ। आफ्नो पक्षमा बहुमत नभएको अवस्थामा बहुमतबाट फालिने संसदलाई चल्नै नदिने प्लान ओलीले सारेका छन्। यसैका लागि उनले संसद पुनर्स्थापना भएको अवस्थामा पनि संसदलाई सस्पेण्ड गर्ने वा चुनाव हुन सक्ने अवस्था नरहेको भन्दै संकटकाल लगाउन सक्ने उनी निकट स्रोत बताउँछ।
संकटकाल लगाउन उपयुक्त कारण चाहिने अवस्था छ। त्यसका लागि स्वास्थ्य संकटकाल अब वहाना नहुने अवस्था छ। त्यसैले केहि न केहि वितण्डा मच्चिने वातावरण तयार भएपछि त्यसैलाई देखाएर संकटकाल लगाउने अवस्थामा ओली पुग्न सक्ने स्रोतको दावी छ। अहिलेसम्मको उदाहरणलाई हेर्दा राष्ट्रपतिले उनले प्रस्ताव गरेको संकटकाललाई अनुमोदन गर्न सक्ने देखिएको छ।
पार्टी विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग यो कुर्सीमा मलाई बस्न दिइएन भने कसैलाई पनि बस्न नदिई भाचिदिन्छु समेत भन्न भ्याएका थिए। ओलीले सो बेलामा आवेगमा भने पनि अब भने उनका व्यवहार त्यसैतर्फ लक्षित हुने देखिदै गएको छ। ओलीले भने जस्तै अदालतले चुनावको लागि बाटो खोलिदिए पनि सडकमा सो निर्णयको विरुद्ध हुने प्रदर्शनलाई देखाएर संकटकाल लगाई निर्वाचन सार्नेतर्फ नै उनी उद्यत हुने देखिन्छ। अहिले वादललाई फकाउने ओलीले राजनीतिक प्रतिवेदन लेख्नका लागि जिम्मेवारी समेत दिएका छन्।
वादललाई राजनीतिक प्रतिवेदन समेत लेख्न लगाएर पार्टीभित्र खुशी बनाउदै मुलुकमा संकटकालका लागि तयारी गर्न सुरक्षा निकायका प्रमुखहरुसँग समेत छलपल गर्न वादललाई समेत सहभागी गराएको स्रोतको दावी छ। ‘प्रधानमन्त्री ओलीले यसबीच प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानीरिक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानीरिक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग अलग अलग भेटघाट गरेका छन्’, स्रोतले भन्यो। सुरक्षा निकायका प्रमुखहरुको नियमित भेटघाट भने पनि अहिले भने देशभरको सुरक्षा अवस्थाको बारेमा प्रधानमन्त्रीले जानकारी लिइरहेको स्रोतको दावी छ।