arrow

सरकारले देखेन काठमाडौंको विषाक्त हावाको गुणस्तर, शनिबार एक्यूआई २४६

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
kathmandu-dust1.jpg

काठमाडौं । एक सातादेखि बिग्रिएको काठमाडौंको हावाको गुणस्तरमा अझै सुधार आएको छैन । एक सातासम्म पनि केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै पनि पहल नगर्दा विश्वकै विषाक्त शहर बनेको काठमाडौंंमा कुनै सुधार आउन सकेको छैन । 

गत सोमबार विश्वकै विषाक्त शहर गनिएको काठमाडौंको हावाको गुणस्तर शनिबार रातिसम्म आइपुग्दा पनि सुधारिएको छैन । शनिबार राति काठमाडौं विश्वकै तेस्रो स्थानमा रहेको छ । गत बुधबार दोस्रो नम्बरमा रहेको थियो । 

आईक्यूएयर डटकमका अनुसार शनिबार राति काठमाडौंको वायु गुणवत्ता मानक (एक्यूआई) २४६ रहेको छ । गत सोमबार अहिलेसम्मकै सबैभन्दा बढी ४८७ रहेको थियो । 

शनिबार राति कीर्गिस्तानको बिष्केक २९७ एक्यूआईसहित पहिलो स्थानमा रहँदा बंगलबादेशको ढाका काठमाडौंको भन्दा एक बढी रहेर दोस्रो स्थानमा छ । 

गत बुधबारदेखि मौसममा सुधार आउँदा विस्तारै वायु प्रदूषण पनि घटेर जाने उल्लेख गरिए पनि त्यस्तो हुन सकेन । सरकारले प्रदूषण कम गर्ने कुनै कदम नै नचालेपछि काठमाडौं उपत्यकाबाट प्रदूषण सजिलै नहट्ने देखिएको छ । 

एक्यूआई कति हुनुपर्छ ?
एक्यूआई ५० सम्म हुनुलाई उत्तम मानिन्छ । तर त्यो ५० देखिमाथि १ सय पुग्नुलाई सामान्य मान्ने गरिन्छ । एक्युआई २ सय नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन ।

खुला क्षेत्रमा फोहोरमैला बाल्ने, उद्योग कलकारखाना र सवारी साधनले फाल्ने धुँवा र प्रदूषण न्यूनीकरण गर्न तत्काल कदम नचालिनुले पनि यसको स्थिति बिकराल बनाएको छ । 

केही दिनका लागि कलकारखाना बन्द गरी सवारी गुडाउनसमेत कमी गर्दा यसलाई केही हदसम्म सन्तुलनमा ल्याउन सकिने बताइन्छ । 

काठमाडौं उपत्यकामा आठ गुणा प्रदूषण बढेको बताइन्छ । कोरोना भाइरसको लकडाउनले गर्दा काठमाडौं सफा हुँदै आएको भए पनि पछिल्लो समय प्रदूषण ह्वात्तै बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ