arrow

नेकपा मिलाउन नसके 'सोसलिष्ट सेन्टर' बनाउने गृहकार्य गर्दै चीन

चीनलाई तराई मधेशमा भित्र्याउने माध्यम बन्दै जसपा

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
upendra-baburam.JPG

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि दुवै पक्षलाई मिलाउन उत्तरी छिमेकी मुलुक चीनको कसरत निरन्तर जारी रहेको छ । उत्तरी छिमेकी मुलुकले नेकपाका दुवै पक्षलाई सकेसम्म मिलाउने नसके एउटा पक्षलाई आफ्नो काँधमा राखेर हिड्ने रणनीति अख्तियार गरेको छ । विभाजन नै हुन नदिनेगरी पहल गरिरहेको चिनियाँ टोलीले यदि विभाजन भए नजिकका मित्र दलसँग सहकार्यको वातावरण बनाउनेतर्फ पनि गृहकार्य गर्न थालेको छ ।

विभाजन लगत्तै नेपाल आएको कुओ यचौको टोलीले चार दिने भ्रमणको क्रममा जनता समाजवादी पार्टी लगायत नेपाली कांग्रेसका नेताहरुलाई समेत भेटघाट गरेर फर्केको थियो । धेरैजसो नेकपाका नेताहरुलाई भेटघाट गरेको यचौको टोली फर्कै लगत्तै काठमाडौ आएको अर्को चिनियाँ टोलीले नेकपा मिलाउने कसरत थालेको थियो । यचौको टोलीले सकेसम्म मिलाउने र नसके निर्वाचनमा सहकार्यको प्रस्ताव अघि सारेको थियो ।

यचौको टोली फर्के लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टी मिल्न पनि सक्ने संकेत गरेका थिए। उपप्रधानमन्त्री ईश्वर पोखरेलले पन सोही संकेत सिन्धुपाल्चोकको कार्यक्रममा गरेका थिए । तर नेकपा नेता कार्यकर्ताका अनुसार तत्काल पार्टी मिल्ने संभावना नभएपछि चिनियाँ टोली भने दुवै पक्षसँग नजिक भएका अन्य दलहरुसँगको सहकार्य गराउन लागि परेको छ । जनता समाजवादी पार्टी नेकपा दाहाल नेपाल निकटसँग नजिक भएका कारण सो समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्थ ठाकुरले औपचारिक अनौपचारिक कुराकानी समेत गरेका छन् ।

निर्वाचनसम्ममा नेकपा दाहाल नेपाल समूह र जसपाको सहकार्य गराउने उनीहरुको तयारी छ । साथै संसद पुर्नस्थापना भए नेकपा दाहाल नेपाल समूह र जसपाको संयुक्त सरकार बनाउने कसरत पनि चिनियाँ पक्षले गरेको छ । सत्तारुढ दल नेकपा विभाजित भएपछि जनता समाजवादी पार्टीका राष्ट्रिय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दाहाल नेपाल समूहका अध्यक्ष माधव नेपाललाई कोटेश्वर पुगेर भेटघाट समेत गरेका थिए । विहिबार साँझ सात साढे ६ बजे कोटेश्वर पुगेका भट्टराई र अध्यक्ष नेपालबीच करिब दुई घण्टा कुराकानी भएको थियो । उनीहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्ध मिलेर अघि बढ्ने विषयमा कुराकानी भएको नेपाल निकट स्रोतले जनाएको छ ।

पार्टी विभाजन भएपछि डा. भट्टराई पहिलो पटक अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी खोलेका भट्टराई प्रचण्डका आलोचक हुन् । अध्यक्ष नेपालसँग ओलीले चालेको कदविरुद्ध संयुक्त मोर्चा बनाएर जाने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । ओलीको कदमलाई बेलैमा नरोके अझ संकटपूर्ण अवस्था आउने बताउदै भट्टराईले संयुक्त मोर्चाका लागि नेकपाले कार्ययोजना बनाउनु पर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

त्यसअघि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुलाई गोप्य रुपमा भेट गरेकी थिइन । केपी ओलीले जनता समाजवादी पार्टीका तत्कालिन अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी गराएपनि पछि उनलाई थाहै नदिइ मन्त्रालय सरुवा गर्ने र हटाउनेसम्मको काम भएपछि ओलीसँग चिढिएका उपेन्द्र यादवहरुले दाहाल नेपालसँगको सहकार्यलाई बढी जोड दिइरहेकाले चिनियाँ पक्ष उनीहरुलाई मिलाउने योजनामा लागिरहेको छ । साथै उनीहरुको योजना अनुसार निर्वाचन क्षेत्रमा जुन समूह बलियो छ उसैसँग सहकार्य गर्न लगाउने तयारी पनि चिनियाँ पक्षको रहेको स्रोतको दावी छ । यतिबेला यो विषयमा चिनियाँ राजदूत यान्छीले सक्रियता समेत बढाएकी छिन् । नेकपा मिल्न नसकेको अवस्थामा नेकपा दाहाल नेपाल पक्ष, जसपा सहितको सोसलिष्ट सेन्टर बनाउने अभियानमा पनि चिनियाँ कम्युनिष्ट पार्टीले गृहकार्य अघी बढाएको छ । 

पछिल्लो समय बारा–पर्सा औद्योगिक करिडोर चिनियाँ गतिविधिको केन्द्र बनेको र त्यहाँको स्थानीय जनप्रतिनिधि तथा क्षेत्रीय पार्टीको रुपमा उदाएको जसपासँग चीनले राम्रो सम्बन्ध समेत स्थापित गरेको छ । त्यससँगै बीरगन्ज क्षेत्रमा चिनियाँ लगानीकर्ता र कामदारको आउजाउ पनि बाक्लिएको छ । बीरगन्जमा जुङ थाङ टेनरी र हान हुई टेनरी गरी दुईवटा छाला उद्योग छन् । परवानीपुरमा हिमालयन फुड इन्टरनेसनल नामको मासु उद्योग छ, जसले भैंसीको मासु प्रशोधन गरेर भियतनाम हुँदै चीन निर्यात गर्छ । पर्साको उदयपुर घुर्मीमा रहेको हिरो मिट नामक मासु उद्योग पनि चिनियाँ लगानीकै हो । यी क्षेत्रमा चिनियाँ अधिकारी र जसपाका नेताहरुको राम्रै जमघट हुने गरेको स्रोतको दावी छ । सिराहाको लाहानमा रहेको दरवार होटल चिनियाँहरुलाई लीजमा दिलाउन र सर्लाहीमा सर्प पालनमा संलग्न गराउन पनि यादवको भूमिका रहेको बताइएको छ । ललितपुर कुपन्डोलमा कार्यालय रहेको चिनियाँ आइएनजिओ ‘इन्क्लुडेड हङकङ लिमिटेड’ले नेपालमा ‘इन्क्लुसिभ सिटिज फर माइग्रेन्ट्स’ कार्यक्रम चलाइरहेको छ । जसको माध्यमबाट पनि नेपालको आन्तरिक राजनीतिमा उनीहरुले पहुँच विस्तार गरिरहेको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ