arrow

मौसममा स्थानीय वायुको प्रभाव, बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
weather-final.jpg

काठमाडौं । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।

देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो । अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।  तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 

पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री रहेकामा मंगलबार २१ दशमलव ८ डिग्री सेल्सियस छ । 

हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिराको सम्भावना रहेको बताइएको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री  छ । 

त्यस्तै मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ । 



नयाँ