arrow

'पार्टीभित्र झगडा गर्ने बानी परेका बरिष्ठ नेतालाई तनाव भएको छ'

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
bhanubhakta-dhakal.PNG

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको बताएका छन् ।

संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताए ।

मन्त्री ढकालले भने, “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।”

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेका थिए ।

नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।

मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताए । “चुनावी प्रक्रियामा किन डराउने, पार्टीभित्र झगडा गर्ने बानी परेका बरिष्ठ नेतालाई तनाव भएको छ, त्यसैले चुनावको सामना गर्न डराएका छन्,” उनले भने ।

उनले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटकासाथ लागिएको भएपनि स्थायित्व र स्थिरताको राजनीति नआएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको दाबी गरे । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भङ्ग गरेर बाध्यात्मक ढङ्गले निर्वाचनको विकल्पमा जानुपरेको उनको तर्क थियो ।

प्रधानमन्त्रीको निर्वाचनमा जाने कदमलाई तानाशायी र प्रतिगमनको सङ्ख्या दिएर प्रचार गर्नेतर्फ इङ्गित गर्दै उनले “जनतामा नजाने कुरो गरेर जसरी पनि नेतृत्वमा रहिरहन खोजियो भनेपो तानाशायी हुन्छ रु तर सार्वभौमसत्ता सम्पन्न जनताको जनमत लिन जान खोज्दा कसरी प्रतिगमन भयो ?” भनी प्रतिप्रश्न गरे ।

नेकपाका अर्का कार्यकारी अध्यक्षको ध्यान नै जसरी पनि नेतृत्वमा जाने देखिएकाले पार्टी एकतालाईसमेत बचाउन कठिनाई भएको उनको भनाइ छ । उनले सरकारको खुट्टा तानेर पाइला सार्न नदिने अनि दुई तिहाइको सरकारले कामै गर्न सकेन भनेर गलत प्रचार गरी हिँड्ने नेताहरुको प्रवृत्तिले पनि अहिलेको अवस्था आएको दोहोर्‍याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ