arrow

ओलीको पतन सुनिश्चित छ : प्रचण्ड

‘जवज केपी ओलीले नै छाडेका हुन्’

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
prachanda-madhav-all.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएर संसद विघटन गरेको भन्दै यसले ओलीलाई पतनको बाटोमा पुर्‍याएको बताएका छन् । उनले ओलीको पतन शुरु भएको र आफूहरुको विजय सुनिश्चित भएको दावी गरे ।
 
पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले संविधानको गलत व्याख्या गर्दै संविधानमा हुँदै नभएको कुरा लिएर जनताको संस्था विघटन गरेको भन्दै यसले ओली छिट्टै पतन हुने दावी गरे । संविधानको मर्म र भावनामाथि प्रहार गरेर कहिं पनि नभएको अधिकार प्रयोग गरेर जबरजस्ती संसद विघटन गरिएको भन्दै उनले यसमा सर्वोच्च अदालतले सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

सर्वोच्च अदालतले संविधानमा रहेरै फैसला गर्छ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको उले बताए । सर्वोच्च अदालत जनताको अदालत नै भएको भन्दै अध्यक्ष प्रचण्डले अदालतले जनताको भावना र संविधान बाहिर गएर काम गर्दैन भन्ने विश्वासमा रहेको बताए ।  केपी ओलीले विभिन्न भाषा प्रयोग गरेर धम्क्याउँदै आएको र आफूमाथि निर्मम प्रहार गर्न थालेको भन्दै अध्यक्ष प्रचण्डले दुःखेसो पाखे ।

‘जवज केपी ओलीले नै छाडेका हुन्’
पार्टी विभाजनसंगै वरिष्ठ नेता माधवकसमार नेपाल र झलनाथ खनाल प्रचण्ड पक्षमा उभिएपछि दुवै नेकपाभित्र नेता नेपालले जनताको बहुदलीय जनवाद (जवज) को सिद्धान्त छोडेको आरोप लाग्दै आएको छ । यही अवस्थामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपालले जवज सिद्धान्त नछोडेको स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले भने, ‘जवज सिद्धान्त केपी ओलीले छोडेको हो । माधवकुमार नेपालले होइन ।’

केपी ओलीले पार्टीको निर्णय नमान्ने, आफैले हस्ताक्षर गरेका निर्णयहरु नमान्ने, आफूखुशी काम गर्दा पार्टी र देशमा समस्या आएको उनले बताए ।
प्रधानमन्त्री ओलीले विभिन्न भेलाहरुमा व्यंग्य गरेकोप्रति लक्षित गर्दै उनले भेला हास्यव्यंग्य गर्ने ठाउँ नभएको बताए । पार्टीलाई नयाँ संकल्पहित आन्दोलनलाई थप उचाइ दिनका लागि भेला आयोजना गरिएको अध्यक्षको प्रचण्डको भनाइ थियो । भेलामा देश र जनताका लागि अत्यन्त गम्भीर भएर विचार विमर्श गर्न लागिएको स्पष्ट पारे ।

पदका लागि पार्टी फु्टाउन खोजिएको भन्ने व्याख्या सत्य नभएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘सत्य र गलतको लडाइँ, विधि र पद्धतिको लडाइँ, जनताको आकांक्षा पूरा गर्ने नगर्ने बीचको लडाइँ र क्रान्ति र प्रतिक्रान्ति बीचको लडाइले पार्टी यो अवस्थामा आएको हो ।’ उनले नेकपा नफुटेको भन्दै देशभर एकताको सन्देश लिएर जान कार्यकर्तालाई निर्देशन दिए ।

अर्को प्रसंगमा केपी ओलीले जनयुद्ध कुहिएको फर्सी भन्दै हिंडेर पटक पटक अपमान गर्ने प्रयास गरेको उनले आरोप लगाए । पार्टी विभाजन पूर्वएमाले र पूर्व माओवादीको नभइ सिंगो नेकपाको भएको स्पष्ट पारे । अहिले माधव नेपालालाई प्रचण्डसंग गएको भनेर आलोचना गर्ने काम भएको भन्दै उनले आफू माधवजी र माधवी आफ्नो पक्षमा भएको बताए ।

पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिष्टको भावना र नेतामा हुनुपर्ने गुण नभएको आरोप लगाए । प्रधानमन्त्री ओलीले मुलुकमा संकट निम्त्याएको भन्दै यस्तो व्यक्ति कम्युनिष्ट हुन नसक्ने बताए । उनले प्रश्न गरे, ‘जनताको चाहना नबुझ्ने, पार्टी नेता र कार्यकर्ताको भावना नबुझ्ने, देशको अवस्था नबुझ्ने । यस्तो व्यक्ति कम्युनिष्ट हुन सक्छ ?’ ओलीले नेता कार्यकर्ता र जनतामा धेरै भ्रमजाल छरिरहेको भन्दै अध्यक्ष नेपालले उनको त्यो भ्रममा नपर्न आग्रह गरे ।

भेलामा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले  नेकपा आफूहरुले आधिकारिक भएको भन्दै पार्टीको नाम, लोगो र झण्डा आफूहरुले नै पाउने दावी गरे । उनले पार्टी विभाजन भएको भन्ने कुरा मनमा नराखी पार्टी एकताका पक्षमा उभिन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ