arrow

नागरिक आन्दोलनका अगुवा भन्छन्ः  संसद विघटन प्रतिगामी र असंवैधानिक 

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
Nagarik-andolan.jpg

काठमाडौं। नागरिक आन्दोलनका अगुवाहरुले प्रतिनिधिसभा विघटन प्रतिगामी र असंवैधानिक कदम भन्दै चर्को आलोचना गरेका छन्। प्रतिगमन विरुद्ध बृहत् नागरिक आन्दोलनले प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले संसद विघटन प्रतिगामी कदम भएको औल्याए।

कार्यक्रममा नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले भिडियो सम्बोधनमार्फत प्रतिनिधिसभा पुनःस्थापना मात्र बृहत् नागरिक आन्दोलनको लक्ष्य नहुने भन्दै ०६३ पछि राजनीतिमा देखिएका विकृति, विसंगतिविरुद्ध र संस्थागत सुधारका लागि राजनीतिक दललाई घच्घच्याउने काम जारी राख्नु नागरिक आन्दोलन भएको बताए।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरप्रसाद श्रेष्ठले नेपालको संविधानअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने अधिकार नै नभएको भन्दै यो कदम असंवैधानिक भएको औंल्याए । उनले भने, संसद् विघटनमाथि संवैधानिक व्याख्या होला तर राजनीतिक अधिकार र नागरिक अधिकारको विषयमा बोल्ने अधिकार रहन्छ । संविधानलाई उल्लंघन गर्ने अधिकार कसैलाई रहँदैन ।’

पत्रकार तथा नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताए । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि संशय ब्यक्त गर्दै संविधानमाथि प्रतिगमन हुँदा पनि प्रधानमन्त्रीको औंला समातेर कांग्रेस हिंडिरहेको आरोप लगाए ।

उनले न्यायालयले लत्तो छाडे अबको निर्वाचनबाट आउने प्रधानमन्त्री श्रीपेचसहितको हुने टिप्पणी गर्दै संसद विघटन सदर भए भविष्यमा कुनै पनि प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव नआउने ठोकुवा गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिलीप थापामगर, नागरिक अगुवा सिएन थारुलगायतले आफ्नो धारणा राखे । सो अवसरमा आन्दोलनका अगुवा युग पाठकले प्रतिगमन विरुद्धको आन्दोलन जारी रहेन बताए । प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको निरन्तर श्रृङ्खलाअन्तर्गत कार्यक्रम गरिएको मंगलबारको कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

सो अवसरमा प्रतिगमनविरुद्धमा कविता, नाटक, चित्र प्रदर्शनीलगायत प्रस्तुत पनि गरिएको थियो । सडक नाटकमार्फत देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ