arrow

दिव्यमणीको ओलीप्रति चोटिलो प्रहार –‘घर जानुस्’

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
divyamani1.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित संसदका सांसद दिव्यमणी राजभण्डारीले असंवैधानिक संसद विघटन विरुद्धको विरोधसभामा सरकारले आफूहरुलाई संविधानबाट कसरी टाढा पारियो भनी चोटिलो प्रहार गरेका छन् । शनिबार राजधानीको कपनमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई ‘अनपपुलर’ भएकाले घर फर्कन आग्रहसमेत गरेका छन् । 

उनले सात दशकअघिको प्रसङ्ग सम्झँदै भने, ‘नेपाली कांग्रेसले २००४ सालदेखि संविधानसभाको कुरा गरेको थियो । त्यसबखतका राजाहरुले संविधानसभा बुझ्न नसक्दा सम्झौता गरी ८ वर्षपछि १५ सालमा निर्वाचनको कुरा आयो । त्यसपछि प्रजातन्त्रमाथि हत्या भयो, लोकतन्त्रमाथि हत्या भयो । २०६२–६३ को आन्दोलनबाट संविधानसभाको परिकल्पना भयो र हजारौं जनताले प्राण त्यागे । हजारौं लाखौं जनताले दुःख पाए । र हामीले एउटा नयाँ संविधान पायौं । तर त्यो संविधान अनुरुप प्रथम निर्वाचन हुँदा नेपाल कम्युनिष्ट पार्टीलाई जनताले बहुमत दिए । त्यो सरकारले जनताको हित, जनताको भलो र लोकतन्त्रको स्थापनालाई अगाडि बढाउने काम गर्न सकेन ।’

ओलीको व्यक्तिगत स्वाथएले यो अवस्था आएको दावी गर्र्दै नेता राजभण्डारीले भने, ‘आज व्यक्तिगत स्वार्थ र आफै मात्रै हुँ भन्ने धारणा राख्दा संसद नै विघटन गरिदियो । हामी के भन्दै छौं भने पार्टीको हितको लागि हैन । कुनै व्यक्तिको हितको लागि हैन । संविधान लोकतन्त्रको हितको निम्ति र जनताको हितको निम्ति पुनस्र्थापना हुनुपर्छ भन्ने हो ।’

ओली असंवैधानिक भएर संसद विघटन गरेको प्रमाणित भइसकेकोतर्फ आफ्ना भनाई केन्द्रीत गर्र्दै नेता राजभण्डारीले भने, ‘आज यो संविधानको रक्षाको निम्ति र अहिले गरेका क्रियाकलापहरु संविधानमा छैन भन्ने कुरा प्रथम राष्ट्रपति डा. रामबरण यादवले पनि बताइसक्नु भएको छ । त्यस्तै गरी यो संविधान अन्तर्गत प्रधानमन्त्री हुनुभएका आदरणीय शेरबहादुर देउवाजी, माधवकुमार नेपालजी, पुष्पकमल दाहालजी, झलनाथ खनालजी तथा डा. बाबुराम भट्टराईजी पनि यो असंवैधानिक भयो भन्नु भएको छ । त्यस्तै न्यायमूर्तिहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि यो असंवैधानिक भयो भन्नुभएको छ । पूर्व सभामुखहरु दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, ओनसरी घर्तीमगर, कृष्णबहादुर महरा र पूर्व सांसदहरुले पनि यो बारेमा आफ्नो धारणा उठाइरहनु भएको छ । भनेदेखि अहिले प्रतिनिधिसभाका करिब १८६ सांसदहरुले पनि यो असंवैधानिक भनेर भनिरहेका छन् । नागरिक समाजका अगुवाहरु, कानुनविद्हरु, संविधानविद्हरु सबैले यो असंवैधानिक भनिरहेका छन् । भनेको मतलब नेपाली कांग्रेस प्रजातन्त्रप्रेमी र संविधानलाई ल्याउनका निम्ति लागेका सबै व्यक्तिहरु, राजनीतिमा लागेका सबै व्यक्तिहरु, विभिन्न पेशामा रहनु भएका सबै व्यक्तिहरुले पनि असंवैधानिक भनिरहेका छन् । त्यसैलाई जोड दिएर आज नेपाली कांग्रेस हामी भनिरहेका छौं । आज कुनै पनि हालतमा यस्ता कदमहरु कुनै पनि तानाशाहीले नगरोस् भनी हामी नेपालीहरुले कामना गरिरहेका छौं ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत उदाहरण दिँदै नेता राजभण्डारीले भने, ‘आज हेर्नुस् अमेरिकामा त्यहाँका मेजोरिटी लिडर म्याककोनेलले एउटै पार्टीमा भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको कुरा सुन्नुभएन । किनभने संविधान र प्रजातन्त्रमा हमला हुन्छ भने सबै प्रजातन्त्रप्रेमी जुनसुकै दलका भए पनि उनीहरुको कर्तव्य हुन्छ । मलाई लाग्छ आज त्यही चिज नेपालमा पनि भइरहेको छ । जुन चिज सबैले कदर गर्नुपर्छ भन्ने हो ।’

अगाडि स्पष्ट पार्दै उनले थपे, ‘डोनाल्ड ट्रम्पको एक्टिभिटीदेखि पूर्व राष्ट्रपतिहरु चाहे ओबामा होस् चाहे क्लिन्टन होस् वा बुस होस् सबैले आफ्ना आफ्ना कुराहरु राखिरहेका छन् र डोनाल्ड ट्रम्प पछि हट्नु पर्ने देखिएको छ । नेपालमा पनि हामी सबैले आफ्ना कुराहरु राखेका छौं । हामी सबैले संसद पुनस्र्थापना हुनुपर्छ भनिरहेका छौं । मलाई के लाग्छ भने संसद पुनस्र्थापना हुन्छ । त्यसकारणले हामी सबैले आफ्ना आवाजहरु बुलन्द गरेर राख्नुपर्दछ ।’

पुरानो उदाहरण सम्झदै नेता राजभण्डारीले भने, ‘म यौटा पुराना कुरालाई याद गर्न चाहन्छु । राजा वीरेन्द्रको समयमा हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराई ज्यूको सरकारलाई पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने देखिइसकेपछि अल्पमतमा परेपछि उहाँले राजालाई भेट्नु भएको थियो । त्यस्तैगरी राजा ज्ञानेन्द्रको समयमा पनि गिरिजाप्रसाद कोइरालाले पनि धेरै तरिकाबाट असहयोग पाइसकेपछि उहाँले पनि राजीनामा गर्नुभएको थियो । भनेको राजनीतिमा र प्रजातन्त्रमा जब आफू अनपपुलर भइन्छ भने सबै नेताहरुको कर्म र धर्म भनेको त्यस पद्धतिलाई मानेर आफू राजीनामा गरेर नयाँ निकास दिनुपर्ने हो ।’

ओली फरक प्रवृत्तिको तानाशाह भएकोतर्फ संकेत गर्दै उनले भने, ‘त्यो जित हालका खड्कप्रसाद ओलीजीलाई भएन । किनभने उहाँ प्रजातन्त्र र लोकतन्त्रमा हैन उहाँ तानाशाहीमा विश्वास गर्नुहुन्छ । तसर्थ हामी सब एक भइकन अहिलेको परिस्थितिअनुसार प्रतिनिधिसभाको संसदलाई पुनस्र्थापना गर्न आवाज बुलन्द उठाउँ र त्यसपछि हामी अगाडि बढौं ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले त जनताको मतको कदर गरे भने केपी ओली पनि घर जान वाध्य हुनुपर्छ भन्नेतर्फ संकेत गर्दै उनले सम्वोधनमा भने, ‘जब गणतन्त्रको घोषण भो राजा ज्ञानेन्द्र खुशी राजीसँग आफ्नो दरबार जानुभयो । तसर्थ म प्रधानमन्त्रीज्यूलाई पनि अनुरोध गर्छु जब जनताले जब सांसदहरुले तपाई अल्पमतमा हुनुहुन्छ भन्नुभएको छ त्यो कुरालाई ध्यानमा राखी हिजो उहाँ बस्ने जिल्लामा नै हाम्रा नेता गगनकुमार थापाले अब घर पठाउँछु भन्नुभएकोले घर जानुस् भन्ने विशेष अनुरोध गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ