arrow

केपीले १५ सयको केन्द्रीय समिति बनाएपछि दाहाल–नेपाल समूह नयाँ रणनीतिमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ १ बिहिबार
nepal-dahal.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक हजार पाँचसय जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेसँगै प्रचण्ड नेपालले पनि नयाँ रणनीति बनाएका छन् । संविधानको रक्षाका लागि संसदको पुर्नस्थापनाको माग राखेर आन्दोलनमा उत्रेको दाहाल नेपाल समूहले यसअघि कुनै पनि जिम्मेवारीमा नरहेको र केन्द्रीय सदस्य हुन योग्य रहेका नेताहरुको छनौट गरेर केन्द्रीय सदस्यकै हैसियत तोकी आन्दोलनको कमाण्डर बनाउन लागेको हो । ‘धेरै वर्ष पुराना नेताहरु र केन्द्रीय सदस्यको जिम्मेवारी रहेका र तथा केन्द्रीय सदस्य हुन योग्य रहेका धेरै जसो नेताहरु यतिबेला कामविहिन भएकाले उनीहरुलाई आन्दोलनको कमाण्डर बनाएर पठाउने तयारी भएको छ साथै उनीहरुको हैसियत केन्द्रीय सदस्य बराबर हुनेछ’, दाहाल नेपाल समूहका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार एक दुई दिनमै बस्ने स्थायी कमिटीको बैठकबाट त्यसको निर्णय हुनेछ ।

ओली समूहले देशव्यापी रुपमा भेला प्रशिक्षण र पार्टी पुर्नगठनमा लागिरहेको बेला दाहाल नेपाल समूहले तत्काल केन्द्रीय सदस्यहरुलाई थप नगरी आन्दोलनको कमाण्डर बनाउन लागेको हो । राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साविक एमालेले नेतृत्व गरेको र साविक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेपछि अहिले केन्द्रीय सदस्य नथप्ने नीति लिएको छ । 

गत पुस १९ गते बसेको स्थायी कमिटीको बैठकबाट सो समूहका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न बनेको कार्यदलले त्यस किसिमले तत्कालै केन्द्रीय कमिटीमा सदस्य नथप्ने मापदण्ड तयार गरेपछि केन्द्रीय सदस्य बराबरको कमाण्डर तोक्न प्रस्ताव गर्न लागिएको स्रोतको दावी छ । ‘हामीले एउटा विधि र मापदण्ड तय गरेका छौं,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैअनुसार सबैलाई जिम्मेवारी दिइने छन् ।’

अहिले ओली समूहमा लागेका नेताहरुको स्थानमा नेतृत्व खाली भएको छ । प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरूमा नेतृत्व खाली भएपछि सो समूहले एकता प्रक्रियालाई पूरा गर्ने प्रक्रिया अघि बढाएको हो । ओली समूहले दाहाल–नेपाल समूहलाई हटाउने प्रक्रिया अघि बढाइसकेको छ । साथै दाहाल–नेपाल समूह छाडेर ओली समूहमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष तथा सचिवहरूको पदपूर्ति गरिने भएको छ । उनीहरूले सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्वएमालेहरूको स्थानमा पूर्वएमालेलाई नै दिनेगरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । दाहाल–नेपाल समूहले विभिन्न तहमा पदाधिकारी चयन गर्न १२ सदस्यीय कार्यदल गठन गरेको थियो । आन्दोलनको कमाण्डर तोक्दापनि पूर्व एमालेको स्थानमा पूर्व एमालेलाई र पूर्व माओवादीको स्थानमा पूर्व माओवादीलाई नै जिम्मेवारी दिने नीति अख्तियार गरिएको छ ।

एकता प्रकृया टुग्याउने कार्यदलमा अध्यक्ष नेपालसहित स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे, मातृका यादव सदस्य छन् । ‘कार्यदलले विधि र मापदण्ड तय गरिसकेको छ अहिलेको अवस्थामा पार्टी एकीकरण गर्दा जे अवस्था अपनाइएको थियो त्यही कायम राख्ने, एकीकरणको बेला साविकका दुई पार्टीका नेताहरूले नेतृत्व लिइरहेको स्थानमा त्यही नै कायम हुनेछ तर केन्द्रीय सदस्य भने तत्काल थप हुनेछैन,’ कार्यदलका एक सदस्यले भने । उनका अनुसार सो प्रस्तावलाई स्थायी कमिटीमा पेस गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ