arrow

देउवालाई दुवै नेकपाको प्रधानमन्त्री प्रस्ताव

ओलीको प्रस्ताव चुनावपछि, प्रचण्ड-माधवको संसद पुर्नस्थापनापछि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ १ बिहिबार
pm-kursi.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक विवादका कारण प्रतिनिधि सभा विघटन भएपछि विभाजित नेकपाको दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल तथा माधव नेपाल नेतृत्वको अर्को समूहले देउवालाई संसद विघटनको घटनापछिको राजनीतिक अवस्थामा आआफ्नो समूहलाई सघाउन आग्रह गर्दै प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् । 

प्रधानमन्त्री ओलीले नेकपा भित्र देखिएको विवादका कारण आगामी निर्वाचनमा कांग्रेस नै पहिलो पार्टी बन्ने र त्यसो नहुँदाको अवस्थामा समेत देउवालाई नै प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् । 

देउवा निकट एक नेताका अनुसार प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरे केन्द्र सरकारमा तत्कालै कांग्रेसलाई समेट्ने र प्रदेश सरकारमा समेत सहकार्य गर्ने प्रस्ताव गरेका हुन् । त्यसका लागि ओलीले आफू निकट नेताहरुलाई देउवासँग छलफलमा पठाउँदै आएका छन् । 

‘देउवाजीलाई निर्वाचनमा गएपछि पहिलो पार्टी तपाईहरु नै हो भन्ने आश्वासन प्रधानमन्त्रीको छ त्यसो नहुँदा पनि प्रधानमन्त्रीमा सघाउने भन्ने छ, अर्कोतर्फ तत्कालै सर्वोच्चले संसद विघटन सदर गरे केन्द्रदेखि प्रदेशसम्म नै सहकार्यको प्रस्ताव छ,’ देउवा निकट एक नेताले भने । 

यस्तै प्रचण्ड-माधव समुहले पनि संसद पुनर्स्थापनाको मुद्दामा आफ्नो समुहलाई सघाउन र पुनर्स्थापना भएपछिको अवस्थामा केन्द्रदेखि प्रदेशसम्मको सरकारमा साझेदारीको प्रस्ताव गरेका छन् । उनीहरु बुधबार राती देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । 

सो समूह संसद पुनर्स्थापनाको आन्दोलनमा एउटै मोर्चा बनाएर संयुक्त रुपमा अघि बढ्दा दवाव बढ्ने भन्दै देउवालाई फकाउन गएका हुन् । उनीहरुले पुनर्स्थापनाको विषयमा कांग्रेसको खुल्ला रुपमा आफूहरुलाई साथ रहँदा एजेण्डा बलियो हुने र त्यसपछिको अवस्थामा देउवालाई प्रधानमन्त्रीमा सघाउने आश्वासन दिएका हुन् । 

भेटमा सहभागी नेता रमेश लेखकले प्रचण्ड-माधव दुवै नेताले संसद पुनर्स्थापनाको मुद्दामा सघाउन तथा त्यसका लागि संयुक्त आन्दोलनको प्रस्ताव गरेको बताए । 

‘उहाँहरुले पुनर्स्थापनाको मुद्दामा सघाउनुस् र त्यसका लागि संयुक्त आन्दोलनमा जाऔं भन्ने प्रस्ताव गर्नुभयो, सभापतिले संसद पुनर्स्थापनाको विषयमा अब अदालतले निणर्य गर्छ भन्ने जवाफ दिनुभयो,’ भेटमा सहभागी रहेका नेता लेखकले हाम्राकुरासँग भने,‘आन्दोलनका विषयमा चाही पार्टीले नै निणर्य गरेकाले अहिले नै संयुक्त रुपमा गर्न नसकिने र बैठकले थप निणर्य गर्ने जवाफ दिनु भएको हो ।’ 

प्रधानमन्त्री ओलीले भने संसद विघटन गर्नु अघि समेत नेकपा भित्रको आन्तरिक विवादका कारण आफूलाई अप्ठ्यारो पर्दै आएको भन्दै वालुवाटार बोलाएरै देउवाको सहयोग मागेका थिए । सो घटनापछि कांग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय समिति बैठकमा नै ओलीसँगको भेट र कुराकानीबारे देउवाको धारणा नै मागेका थिए । 

त्यस्तै संवैधानिक परिषद्बाट भएको नियुक्तीमा समेत देउवाले दिएका केही नाम परेको भन्दै पौडेल पक्षले सभापति देउवालाई प्रधानमन्त्री ओलीसँगको सम्वन्धको विषयमा शंका गर्दै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ